काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मुलुकमा सुशासन कायम हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
मंगलबार परेको जेनजी सहिद दिवसका अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले जेनजी पुस्तालाई सम्बोधन गर्दै सुशासन कायम हुने बताउनुभएको हो ।
प्रधानमन्त्री शाहले फेसबुकमा लेख्नुभएको छ, ‘प्रिय Gen Z, सुशासन कायम हुने नै छ । सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली।’
प्रधानमन्त्री शाहले जेनजी आन्दोलनका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनका क्रममा उठाइएका सुशासन तथा परिवर्तनका मुद्दाप्रति आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
गत वर्ष भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएको जेनजी आन्दोलनका क्रममा ७६ जनाले ज्यान गुमाएका थिए । आन्दोलनमा युवाहरूले सुशासन, भ्रष्टाचार नियन्त्रण तथा राज्य सञ्चालनमा सुधारलगायतका विषय उठाएका थिए ।
जेनजी सहिद दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रम आयोजना भइरहेका बेला प्रधानमन्त्री शाहको यस्तो प्रतिबद्धता सार्वजनिक भएको हो । उहाँको सन्देशमा सहिदहरूको बलिदानलाई स्मरण गर्दै सुशासन स्थापनालाई सरकारको प्राथमिकतामा राखिएको संकेत गरिएको छ ।