धादिङ । देशको ‘लाइफलाइन’का रूपमा मानिने पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक सञ्चालनमा ल्याउन अझै करिब १० दिन लाग्ने अनुमान गरिएको छ । त्रिशूली नदीमा आएको बाढीले तटीय क्षेत्रमा तीव्र कटान गरेपछि सडकको तलतर्फको भाग भासिएर गत भदौ १४ गतेदेखि कृष्णभीरमा सडक अवरुद्ध भएको हो ।
अवरुद्ध सडक खुलाउन पाँच दिन अघिदेखि निरन्तर रूपमा काम भइरहेको भए पनि भौगोलिक अवस्था जटिल रहेकाले तत्कालै पूर्ण रूपमा सडक सञ्चालनमा ल्याउन कठिनाइ भइरहेको छ । सडकको भासिएको भागबाटै तत्काल आवागमन सञ्चालन गर्न सकिने अवस्था नरहेपछि अहिले त्यसको कुनातर्फबाट सडक चौडा बनाउने तथा वैकल्पिक ट्याक तयार गर्ने काम भइरहेको छ ।
सडक मर्मत तथा विस्तारका लागि सानाठूला गरी दैनिक सातदेखि नौ वटासम्म डोजर प्रयोग भइरहेका छन् । निर्माण उपकरण परिचालन गरेर निरन्तर रूपमा काम अघि बढाइएको आयोजनाले जनाएको छ । यही गतिमा काम निरन्तर हुन सकेमा अबको करिब १० दिनभित्र कृष्णभीरको सडक मर्मत गरी सवारी आवागमन सञ्चालन गर्न सकिने नागढुंगा–मुग्लिन सडक आयोजनाका कन्सल्ट्यान्ट फिल्ड इन्जिनियर अशोक देवकोटाले बताउनुभयो ।
उहाँका अनुसार कृष्णभीरमा सडकको करिब तीन सय मिटर लम्बाइको क्षेत्रमा काम गर्नुपर्ने अवस्था छ । सडकको माथिल्लो भागबाट करिब ४० मिटर उचाइसम्मको भू–भाग डाउन गरी सडकलाई नयाँ संरचनामा ल्याउनुपर्ने भएकाले काम सहज छैन । पहिरो तथा कटानको जोखिम रहेको कमजोर भू–भागमा ठूलो परिमाणमा माटो तथा ढुंगा हटाउनुपर्ने भएकाले सडक सञ्चालनको काम अपेक्षाकृत ढिलो भइरहेको आयोजनाको भनाइ छ ।
सडक खुलाउने प्रयास तीव्र पारिए पनि निर्माण भइरहेको भू–भाग कमजोर रहेकाले तत्कालै सबै प्रकारका सवारी साधनलाई पूर्ण सुरक्षित रूपमा सञ्चालन गर्न चुनौती रहेको प्राविधिकहरूले बताएका छन् । सडकको संरचनालाई स्थिर र सुरक्षित बनाएर मात्र नियमित आवागमन सञ्चालन गर्ने तयारी गरिएको छ । हतारमा सवारी सञ्चालन गर्दा पुनः सडक भासिने वा थप क्षति हुनसक्ने जोखिम रहेकाले सडकको सुरक्षा अवस्थालाई प्राथमिकतामा राखिएको छ ।
कृष्णभीरमा सडक अवरुद्ध भएपछि पृथ्वी राजमार्ग हुँदै पश्चिमबाट काठमाडौं आउने तथा काठमाडौं हुँदै पश्चिमतर्फ जाने ठूला यात्रुवाहक बस र मालवाहक सवारीको नियमित आवागमन प्रभावित भएको छ । लामो दूरीका यात्रु, चालक तथा व्यवसायीहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने अवस्था सिर्जना भएको छ । सडक अवरोधका कारण यात्रुहरूले थप समय र खर्च व्यहोर्नुपरेको छ भने ढुवानी व्यवसायसमेत प्रभावित भएको छ ।
पृथ्वी राजमार्ग काठमाडौं उपत्यकालाई देशका पश्चिमी तथा मध्यपहाडी क्षेत्रसँग जोड्ने प्रमुख सडकमार्ग भएकाले कृष्णभीरको अवरोधले यसको प्रत्यक्ष प्रभाव यातायात क्षेत्रमा मात्र नभई दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थामा समेत परेको छ । खाद्यान्न, निर्माण सामग्री, इन्धनलगायतका वस्तुको ढुवानीमा समेत समस्या उत्पन्न हुँदा व्यवसायी तथा उपभोक्ताले थप कठिनाइ भोग्नुपरेको छ ।
कृष्णभीरको सडक खुलाउन काम भइरहे पनि यो क्षेत्रमा मात्रै जोखिम सीमित छैन । पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–३ स्थित शीतलबजार, गजुरी गाउँपालिका–२ को परेवाभीर, छहरा, विहानी पम्प क्षेत्र तथा गजुरी गाउँपालिका–५ को बाङ्गेलगायतका स्थानमा समेत सडक उच्च जोखिममा रहेको बताइएको छ ।
त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको नदी कटानले राजमार्गका विभिन्न स्थानमा सडकको तल्लो भाग कमजोर बनाएको छ । नदीको बहाव र कटानको जोखिम कायमै रहेकाले आगामी दिनमा थप क्षति हुनसक्ने सम्भावनालाई समेत ध्यानमा राखेर सडक आयोजनाले जोखिमयुक्त क्षेत्रमा निगरानी बढाएको छ ।
पृथ्वी राजमार्गमा दैनिक ठूलो संख्यामा यात्रुवाहक तथा मालवाहक सवारी सञ्चालन हुने भएकाले सडकको कुनै पनि खण्डमा हुने अवरोधले देशभरको यातायात तथा आपूर्ति व्यवस्थामा प्रभाव पार्ने गर्दछ । त्यसैले कृष्णभीरसहित जोखिमयुक्त क्षेत्रमा तत्कालीन मर्मतसँगै दीर्घकालीन रूपमा सडकलाई सुरक्षित बनाउने संरचनागत काम आवश्यक देखिएको छ ।
आयोजनाले सडक सञ्चालनमा ल्याउने कामलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ । तर, प्राकृतिक जोखिम, कमजोर भू–भाग र नदी कटानका कारण सडक मर्मतको समय कामको प्रगतिअनुसार फरक पर्न सक्ने भएकाले तोकिएको समयमै सडक पूर्ण रूपमा सञ्चालन हुन्छ भन्ने सुनिश्चितता भने तत्काल गर्न कठिन रहेको प्राविधिकहरूको भनाइ छ ।
यसबीच यात्रु तथा सवारी चालकलाई जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन, सडकको अवस्था नबुझी जबर्जस्ती आवागमन नगर्न तथा सम्बन्धित निकायले जारी गरेका सूचना र निर्देशन पालना गर्न आग्रह गरिएको छ । कृष्णभीरको सडक सञ्चालनमा नआएसम्म पृथ्वी राजमार्ग हुँदै आवतजावत गर्ने यात्रु तथा मालवाहक सवारीका लागि वैकल्पिक मार्ग र यातायात व्यवस्थापनमा समेत विशेष ध्यान दिनुपर्ने देखिएको छ ।