Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जेनजी सहिद परिवार भन्छन्: ‘बलिदानी खेर नजाओस्’


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र २२ २०८३
  • 1.1K
    SHARES

काठमाडौँ। मुलुकमा सुशासन कायम र भ्रष्टाचारविरुद्ध नवपुस्ताको आह्वानमा गत वर्षको भदौ २३ गते भएकोे जेनजी आन्दोलन भोलि एक वर्ष पूरा हुँदैछ ।

देशको आवश्यकता र आम जनताको मागलाई कार्यान्वयन गर्न दबाब सिर्जना गर्ने क्रममा आफ्ना सन्ततिको बलिदानीको असह्य पीडा जेनजी सहिद परिवारले भोगिरहेका छन् ।

त्यस आन्दोलनका क्रममा देशका होनहार युवासहित ७६ जनाको निधन भएको थियो । त्यसमध्ये ४५ जनालाई सरकारले सहिद घोषणा गरी राज्यका तर्फबाट उनिहरुका परिवारलाई आर्थिक सहयोग र रोजगारी उपलब्ध गराइएको छ ।

त्यस आन्दोलनका क्रममा काठमाडौँको नयाँ बानेश्वरमा भएको झडपमा सिन्धुली स्थायी घर भई चाँगुुनारायण नगरपालिका–१ बस्दै आएका योगेन्द्र न्यौपाने (रोशन)सहितका युवाको गोली लागेर ज्यान गयो भने कैयौँ घाइते भए ।

एक वर्षपछि भएको भेटमा योगेन्द्रकी सानीआमा तारा रोक्काले त्यो आन्दोलनको स्मरण गर्दै भनिन् “अघिल्लो वर्ष भदौ २३ छोरालाई आन्दोलनमा गोली लागेको खबर सुनेपछि दौडेर अस्पताल पुग्दा ऊ बितिसकेको रहेछ ।”

स्थानीय प्राथमिक विद्यालयका शिक्षक युवराज न्यौपाने र आमा लक्ष्मी न्यौपानेका जेठा छोरा योगेन्द्र अधिकृतको परीक्षाका लागि लोकसेवाको तयारीमा थिए । सुशासन प्रवद्र्धन गर्दैै भ्रष्ट्राचारविरुद्ध नव युवाको आन्दोलमा सहभागी हुन बानेश्वर पुगेका उनलाई टाउकामा गोली लागेपछि घटनास्थलमा नै निधन भएको थियो ।

छोराको सम्झनामा योगेन्द्रका बुबाले गोलन्जर–१ च्याकुटारबँेसीस्थित सुनकोशीको उकास जग्गामा ‘स्मृति पार्क’ निर्माण गरेका थिए । उक्त पार्कको भोलि उद्घाटन गरिने कार्यक्रम रहेको छ ।

सानीआमा रोक्काले सरकारले सहिद परिवारलाई गरेको वाचा नभुल्न पनि अनुरोध गरेकी छन् ।

त्यस्तै, भदौ २४ गतेको आन्दोलनमा सहिद भएका वैतडीका निरज पन्तकी धर्मपत्नी कमला एक वर्षदेखि पतिवियोगको पीडामा छन् भने छोराछोरी पिता गुमाउन परेको असह्य वेदनामा छन् ।

कमलाले भनिन् “परिवारको अभिभावक गुमाएपछि एक वर्षको यस अवधिमा भगवान्को प्राथना गर्ने, धैर्यधारणा गर्ने तथा पारिवारिक कर्तव्य पूरा गर्ने काममा लागिरहेको छु । वर्तमान सरकारले पीडाका बीचमा उपलब्ध गराएको सहुलियत र सुविधाप्रति धन्यवाद भन्न चाहन्छु ।”

सरकारले निरजको निधनपछि परिवारलाई रु १५ लाख आर्थिक सहयोग र केही महिलाअघि देखि मासिक २८ हजार भत्ता उपलब्ध गराएको छ ।

त्यस्तै, भदौ २४ गते सहिद भएका २२ वर्षीय अविशेक चौलागाईंका बुबा दिनेश चौलागाईंले सहिद परिवारसँग भएको सम्झौता पूर्ण कार्यान्वयनको माग गरेका छन् ।

सम्झौतामा सहिद परिवारलाई शिक्षा, स्वास्थ्य र रोजगारी उपलब्ध गराउने लगायतका विषय उल्लेख थिए । उनले छोरालाई गोली लागेको खबर सुनेपछि हतारहतार निजामती अस्पतात पुगेर खोज्दा ‘बेडमा शव’ मात्र फेला परेको घटना सुनाए । त्यही दिन उनले नेपाल प्रहरीको जागिर छाडेका थिए ।

दोलखाको सैलुङ गाउँपालिका–४ स्थायीवासी दिनेश चौलागाई र रीता चौलागाईंका एक्ला छोरा अविशेक आफ्ना परिवारसँग भक्तपुरकै चाँगुनारायण नगरपालिका–१ मा बस्दै आएका थिए ।

यसबीचमा सहिद परिवारको हितका लागि सहुलित, रोजगारी र भत्ता उपलब्ध गराउन सरकारले गरेको निर्णयलाई भने उनिहरुले सकारात्मक कदमका रुपमा लिएको प्रतिक्रिया दिएका छन् ।

जेनजी आन्दोलनका क्रममा देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार, सर्वाेच्च अदालत, नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन तथा सरकारी संरचनासहित महत्वपूर्ण सम्पदा तथा व्यापारिक भवन समेत जलेर क्षति भएको थियो ।

सोही आन्दोलनका जगमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठित सरकारले छोटो समयसीमा भित्र गत फागुन २१ मा आम निर्वाचन गराई वर्तमान प्रधानमन्त्री वालेन्द्र शाहलाई नयाँ सरकार गठनका लागि नेतृत्व हस्तान्तरण गरेकी थिइन् ।

उक्त निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभामा करिब दुई तिहाइ सिट जित्न सफल भएपछि पार्टीका वरिष्ठ नेता शाहलाई प्रधानमन्त्रीमा चयन गरेको हो ।

नेपालमा सुशासन प्रवद्र्धन र भ्रष्टाचार विरुद्धको आन्दोलनका क्रममा ज्यान गुमाएका भक्तपुरका योगेन्द्र र अविषेक तथा बैतडीका निरजजस्ता जेनजी आन्दोलनका सहिदको सपना पूरा होस् भन्ने सहिद परिवारको चाहना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४