काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढी तथा विभिन्न जिल्लामा गएको पहिरोमा परी १ हजार ३४१ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो अध्यावधिक विवरणअनुसार विपद्मा परी ज्यान गुमाउनेको संख्या १ हजार ३४१ पुगेको हो ।
प्राधिकरणले बिहान ११ बजेसम्म उपलब्ध तथ्याङ्कका आधारमा बाढी तथा पहिरो प्रभावित जिल्लाको पछिल्लो अवस्था सार्वजनिक गरेको हो । विवरणअनुसार विपद्बाट सबैभन्दा धेरै मानवीय क्षति चितवनमा भएको छ । चितवनमा मात्रै ३६२ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ ।
त्यसैगरी नवलपरासी पूर्वमा २२२, नवलपरासी पश्चिममा २२०, नुवाकोटमा १९५, रसुवामा १६३, गोरखामा ७४, धादिङमा ६७ र तनहुँमा ३८ जनाको शव फेला परेको छ ।
फेला परेका शवमध्ये हालसम्म ९८ जनाको मात्रै सनाखत भएको छ । सनाखत भएका शव सम्बन्धित परिवार तथा आफन्तलाई बुझाउने प्रक्रिया अघि बढाइएको प्राधिकरणले जनाएको छ ।
झण्डै पाँच हजार अझै सम्पर्कविहीन
विपद्मा परी अझै ४ हजार ९९६ जना सम्पर्कविहीन रहेको प्राधिकरणको विवरणमा उल्लेख छ । सम्पर्कविहीनमध्ये नुवाकोटका २ हजार ३४०, रसुवाका १ हजार ९६७, विदेशी नागरिक ५८९ तथा सुरक्षाकर्मी र कर्मचारी १०० जना रहेका छन् ।
तर बेपत्ताको सूचीमा पहिचान हुन नसकेका शव तथा उद्धार गरिएका व्यक्तिहरूसमेत समावेश हुन सक्ने भएकाले वास्तविक संख्या यकिन गर्न तथ्याङ्क रुजु गर्ने काम भइरहेको प्राधिकरणले जनाएको छ ।
सम्बन्धित जिल्ला प्रशासन, स्थानीय तह, सुरक्षा निकाय तथा अन्य निकायबाट प्राप्त विवरणलाई समेटेर बेपत्ता व्यक्तिको सूची अद्यावधिक गर्ने कार्य भइरहेको छ ।
१३ हजारभन्दा बढीको सकुशल उद्धार
बाढी तथा पहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ । प्राधिकरणका अनुसार हालसम्म १३ हजार १०४ जनाको सकुशल उद्धार गरिएको छ ।
उद्धार गरिएकामध्ये नेपाली सेनाले ४ हजार १६२, नेपाल प्रहरीले ४ हजार ६८ तथा सशस्त्र प्रहरी बलले ४ हजार ८७४ जनाको उद्धार गरेका छन् ।
यसैगरी, हवाई माध्यमबाट ३०४ जना विदेशी नागरिकको समेत उद्धार गरिएको प्राधिकरणले जनाएको छ । सडक तथा पुलमा क्षति पुगेका कारण स्थलमार्गबाट पुग्न कठिन भएका क्षेत्रमा हेलिकप्टरमार्फत उद्धारलाई प्राथमिकता दिइएको छ ।
६ हजारभन्दा बढी घाइतेको उपचार
बाढी तथा पहिरोमा परी घाइते भएका ६ हजार ७५ जनाको उपचार गरिएको छ ।
उपचार गरिएकामध्ये नेपाली सेनामार्फत ३ हजार २९७ जना, सशस्त्र प्रहरी बलमार्फत २ हजार ४६२ जना तथा विभिन्न अस्पतालमा ३१६ जनाको उपचार गरिएको प्राधिकरणले जनाएको छ ।
घाइतेको उद्धारसँगै प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा तथा आवश्यक औषधि उपलब्ध गराउने कामलाई समेत निरन्तरता दिइएको छ ।
३९ वटा होल्डिङ सेन्टरमा विस्थापित
बाढी तथा पहिरोबाट विस्थापित नागरिकलाई सुरक्षित रूपमा राख्न रसुवा, नुवाकोट, धादिङ र काठमाडौंमा ३९ वटा होल्डिङ सेन्टर स्थापना गरिएको छ ।
ती होल्डिङ सेन्टरमा हाल ३ हजार ६५२ जना आश्रित रहेको प्राधिकरणले जनाएको छ । घर तथा बस्ती जोखिममा परेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी आवश्यक गाँस, बास तथा अन्य आधारभूत सेवाको व्यवस्था मिलाइएको छ ।
२१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन
विपद् व्यवस्थापन, खोज तथा उद्धार र राहत वितरणका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्राधिकरणका अनुसार हालसम्म २१ हजार ४६५ सुरक्षाकर्मी विपद् व्यवस्थापनमा परिचालन भएका छन् । यसमध्ये नेपाली सेनाका ९ हजार २८७, नेपाल प्रहरीका ७ हजार ९७५ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना रहेका छन् ।
सुरक्षाकर्मीले प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै घाइतेको उद्धार, शव व्यवस्थापन, राहत सामग्री वितरण तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य गरिरहेका छन् ।
८३ ट्रक र ३८ बोलेरोबाट राहत ढुवानी
प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याउन काठमाडौंलाई मुख्य केन्द्र बनाएर ढुवानी व्यवस्था मिलाइएको छ ।
प्राधिकरणका अनुसार काठमाडौंबाट ८३ वटा ट्रक र ३८ वटा बोलेरोमार्फत खाद्य तथा गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ ।
सडक सञ्जाल अवरुद्ध भएका तथा स्थलमार्गबाट राहत पुर्याउन कठिन भएका क्षेत्रमा नेपाली सेना र सशस्त्र प्रहरी बलका हेलिकप्टर प्रयोग गरिएको छ । ती हेलिकप्टरबाट हालसम्म १८२ पटक उडान गरी राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याइएको प्राधिकरणले जनाएको छ ।
प्रभावित जिल्लालाई करोडौँ रुपैयाँ राहत
नेपाल सरकारले बाढी तथा पहिरो प्रभावित जिल्ला तथा स्थानीय तहका लागि नगद राहत रकमसमेत विनियोजन गरेको छ ।
प्राधिकरणका अनुसार रसुवा र नुवाकोटलाई एक–एक करोड रुपैयाँ तथा धादिङलाई ५० लाख रुपैयाँ उपलब्ध गराइएको छ ।
त्यसैगरी प्रभावित १५ वटा स्थानीय तहका लागि कुल १३ करोड ५० लाख रुपैयाँ राहत रकम उपलब्ध गराइएको छ । स्थानीय तहले उक्त रकम प्रभावित नागरिकको तत्कालीन आवश्यकता तथा राहत व्यवस्थापनमा प्रयोग गर्नेछन् ।
इन्धनको मौज्दात व्यवस्था
विपद्पछि प्रभावित क्षेत्रमा इन्धनको अभाव हुन नदिन सरकारले आवश्यक मौज्दातसमेत राखेको छ ।
प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा ४७ हजार लिटर डिजेल, १८ हजार लिटर पेट्रोल तथा १८ हजार लिटर हवाई इन्धन मौज्दात राखिएको छ ।
उद्धार तथा राहत कार्यमा प्रयोग हुने सवारीसाधन र हेलिकप्टर सञ्चालनमा इन्धन अभाव हुन नदिन यस्तो व्यवस्था गरिएको हो ।
तथ्याङ्क रुजु र खोजी कार्य जारी
बाढी तथा पहिरोपछि ठूलो संख्यामा मानिस सम्पर्कविहीन भएकाले बेपत्ताको विवरण यकिन गर्न चुनौती देखिएको छ । एउटै व्यक्तिको नाम विभिन्न निकायबाट फरक–फरक रूपमा आउन सक्ने तथा पहिचान नखुलेका शव र उद्धार गरिएका व्यक्तिको विवरण बेपत्ताको सूचीमा पर्न सक्ने भएकाले प्राधिकरणले तथ्याङ्क रुजुको काम गरिरहेको जनाएको छ ।
सम्पर्कविहीन तथा उपचाररत व्यक्तिको विवरणसमेत नियमित रूपमा अद्यावधिक गर्ने व्यवस्था मिलाइएको छ । नागरिकले प्राधिकरणको आधिकारिक वेबसाइट तथा फेसबुक पेजमार्फत सम्पर्कविहीन र उपचाररत व्यक्तिसम्बन्धी विवरण हेर्न सक्ने व्यवस्था गरिएको छ ।
विनाशकारी बाढी तथा पहिरोबाट भएको ठूलो मानवीय क्षतिसँगै भौतिक संरचनामा समेत व्यापक क्षति पुगेको छ । विपद्पछिको खोज तथा उद्धारलाई तीव्रता दिँदै सरकारले राहत, उपचार, विस्थापितको व्यवस्थापन तथा अत्यावश्यक पूर्वाधार पुनःस्थापनालाई प्राथमिकतामा राखेको छ ।
बेपत्ता नागरिकको खोजी, शवको पहिचान तथा आफन्तलाई हस्तान्तरण, घाइतेको उपचार र विस्थापितको सुरक्षित व्यवस्थापनसँगै प्रभावित क्षेत्रमा खाद्यान्न, औषधि तथा अन्य अत्यावश्यक सामग्री पुर्याउने कामलाई निरन्तरता दिइएको छ ।
प्राधिकरणले विपद्बाट प्रभावित नागरिकलाई आवश्यक सहयोग तथा राहत उपलब्ध गराउन सम्बन्धित निकायबीच समन्वय भइरहेको जनाएको छ ।