Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र २१ २०८३
  • 969
    SHARES

रसुवा । नेपाल–चीन सीमा क्षेत्रबाट भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा ठूलो जनधनको क्षति भएको छ । ल्हेन्दे खोलामा आएको बाढीले जिल्लाका विभिन्न क्षेत्रमा व्यापक क्षति पुर्‍याएपछि उद्धार, राहत तथा पुनःस्थापनाको काम तीव्र पारिएको छ ।

बाढीपहिरोका कारण जिल्लाका विभिन्न स्थानमा अलपत्र परेका तथा जोखिममा रहेका एक हजार ३१३ जनाको जीवितै उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये एक हजार २२७ नेपाली र ८६ विदेशी पर्यटक रहेका छन् । सुरक्षाकर्मी, सरकारी कर्मचारी तथा स्थानीयवासीको सक्रियतामा उनीहरूको उद्धार गरिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार विपद्का कारण जिल्लामा ठूलो सङ्ख्यामा मानिस सम्पर्कविहीन भएका छन् । हालसम्मको विवरणअनुसार तीन हजार ७१ जना अझै सम्पर्कविहीन रहेका छन् ।

हजारौँ नागरिक सम्पर्कविहीन

बाढी र पहिरोका कारण श्रीनाथ गण, ब्राबल ब्यारेकअन्तर्गत कार्यरत २७ नेपाली सेना, २८ नेपाल प्रहरी र १३ सशस्त्र प्रहरी सम्पर्कविहीन रहेको प्रशासनले जनाएको छ ।

त्यसैगरी ७९ जना सरकारी कर्मचारी तथा २६ जना बैंक तथा वित्तीय संस्थाका कर्मचारी समेत सम्पर्क बाहिर रहेका छन् ।

रसुवाका एक हजार ३७० जना, अन्य जिल्लाका एक हजार २६२ जना तथा २६६ जना विदेशी पर्यटक समेत सम्पर्कविहीन रहेको सहायक प्रजिअ अधिकारीले जानकारी दिएका छन् ।

सम्पर्कविहीनहरूको अवस्था यकिन गर्न सुरक्षा निकाय, स्थानीय प्रशासन तथा स्थानीयवासीको सहकार्यमा खोज तथा उद्धार अभियान सञ्चालन भइरहेको छ ।

हेलिकप्टरबाट तीर्थयात्रीको उद्धार

बाढीका कारण सडक तथा यातायात सम्पर्क विच्छेद भएपछि गोसाइँकुण्ड क्षेत्रमा रोकिएका तथा विभिन्न स्थानमा अलपत्र परेका १४५ जना तीर्थयात्री तथा स्थानीयवासीलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

उनीहरूलाई नुवाकोट तथा काठमाडौँतर्फ सुरक्षित स्थानान्तरण गरिएको प्रशासनले जनाएको छ ।

दुर्गम भूगोल, सडक संरचनामा भएको क्षति तथा पहिरोका कारण स्थलमार्गबाट पुग्न कठिन भएका क्षेत्रमा उद्धार तथा राहत सामग्री पुर्‍याउन हेलिकप्टरको प्रयोग भइरहेको छ ।

छ जनाको सनाखत

विपद्का क्रममा विभिन्न स्थानमा फेला परेका शवमध्ये छ जनाको सनाखत गरी आफन्तलाई बुझाइएको छ ।

सनाखत भएका मृतकमा उत्तरगया–५ का जनक आचार्य, गङ्गादेवी श्रेष्ठ, पुदुली तामाङ, आशवीर तामाङ र आशिष बानियाँ तथा गोसाइँकुण्ड–६ की छिरिङ ग्याल्मो तामाङ रहेका छन् ।

यसैगरी जिल्लाका विभिन्न स्थानमा फेला परेका १६३ शवमध्ये पाँच जनाको सनाखत भइसकेको छ । बाँकी शवको सनाखत प्रक्रिया अघि बढाइएको छ । पहिचान खुल्न नसकेका शवको पहिचानका लागि आवश्यक मुचुल्का उठाउने तथा डिएनए परीक्षणको प्रक्रिया समेत अघि बढाइएको प्रशासनले जनाएको छ ।

१ हजार ५०० घरमा क्षति

बाढीपहिरोले जिल्लाको भौतिक संरचनामा समेत ठूलो क्षति पुर्‍याएको छ ।

प्रारम्भिक विवरणअनुसार एक हजार ५०० निजी घर पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । बाढी तथा पहिरोका कारण नागरिकको घर, व्यवसाय तथा दैनिक जीवन प्रभावित भएको छ ।

त्यसैगरी २८ सरकारी तथा सार्वजनिक निकायका भवन, आठ सामुदायिक विद्यालय, तीन निजी विद्यालय तथा १४ बैंक तथा वित्तीय संस्थाका भवनमा क्षति पुगेको छ ।

सडक र पुलमा व्यापक क्षति

रसुवाको यातायातको मेरुदण्ड मानिने ४१ किलोमिटर राजमार्ग तथा सडकखण्ड ठप्प भएको छ । सडक तथा पुलमा भएको क्षतिका कारण जिल्लाका विभिन्न क्षेत्रसँगको यातायात सम्पर्क प्रभावित भएको छ ।

बाढीले छ वटा पक्की मोटरेबल पुल, आठ वटा ट्रस तथा बेलीब्रिज, एउटा आर्च पुल र १० वटा झोलुङ्गे पुल बगाएको वा क्षति पुर्‍याएको छ ।

पुल तथा सडक संरचनामा भएको क्षतिले उद्धार र राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याउनसमेत चुनौती थपिएको छ ।

जलविद्युत् आयोजनामा पनि ठूलो क्षति

बाढीपहिरोबाट जिल्लामा सञ्चालनमा रहेका आठ वटा जलविद्युत् आयोजनामा समेत ठूलो क्षति पुगेको छ ।

जलविद्युत् आयोजनाका संरचना तथा अन्य विद्युत् पूर्वाधारमा भएको क्षतिका कारण विद्युत् आपूर्तिमा समस्या देखिए पनि प्राधिकरण तथा सम्बन्धित निकायको प्रयासबाट विद्युत् सेवा क्रमशः पुनःस्थापना भइरहेको छ ।

हालसम्म जिल्लाको ८३ प्रतिशत जनसङ्ख्यामा विद्युत् सेवा पुनः सञ्चालन गरिएको प्रशासनले जनाएको छ ।

सात हजारभन्दा बढी नागरिक विस्थापित

बाढीपहिरोका कारण आफ्नो घर तथा थातथलोबाट विस्थापित भएका ७ हजार ३३ जना नागरिकलाई जिल्लाका विभिन्न १२ सुरक्षित आश्रयस्थलमा राखिएको छ ।

धुन्चेस्थित सिटी सेन्टर, कोमिन श्यामे वाङ्फेल मावि, गणेश आधारभूत विद्यालय लगायतका स्थानमा प्रभावित नागरिकलाई आश्रय दिइएको छ ।

आश्रयस्थलमा रहेका नागरिकका लागि गाँस, बास तथा आवश्यक आधारभूत सामग्रीको व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ ।

१३६ पटक राहत वितरण

विपद्पछि प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ । हालसम्म विभिन्न स्थानमा १३६ पटक राहत सामग्री वितरण गरिसकिएको प्रशासनले जनाएको छ ।

राहत सामग्रीमा खाद्यान्न, लत्ताकपडा, औषधि तथा अन्य अत्यावश्यक सामग्री समावेश छन् । सडक सञ्जालमा भएको क्षतिका कारण स्थलमार्गबाट पुग्न नसकिने क्षेत्रमा हवाई माध्यमबाट राहत पुर्‍याउने तथा उद्धार गर्ने कार्यलाई प्राथमिकता दिइएको छ ।

सञ्चार सेवा सञ्चालनमा

विपद्का कारण जिल्लाका विभिन्न क्षेत्रमा सम्पर्कमा समस्या देखिए पनि हाल नेपाल टेलिकमको सञ्चार सेवा सम्पूर्ण क्षेत्रमा सञ्चालनमा ल्याइएको प्रशासनले जनाएको छ ।

सञ्चार सेवा पुनः सञ्चालन भएपछि सुरक्षा निकाय, स्थानीय प्रशासन, जनप्रतिनिधि तथा स्थानीयवासीबीच समन्वय गर्न सहज भएको छ । यसले खोज, उद्धार, राहत वितरण तथा प्रभावित नागरिकको अवस्थाबारे जानकारी संकलन गर्न समेत सहयोग पुगेको छ ।

रसुवामा बाढीपहिरोबाट भएको क्षतिको प्रारम्भिक विवरणले विपद्को भयावह अवस्था देखाएको छ । ठूलो सङ्ख्यामा नागरिक सम्पर्कविहीन हुनु, मानवीय क्षति हुनु तथा निजी र सार्वजनिक संरचनामा व्यापक क्षति पुग्नुले जिल्लाको पुनःस्थापना तथा पुनर्निर्माण चुनौतीपूर्ण हुने देखिएको छ ।

प्रशासन, सुरक्षा निकाय तथा स्थानीय तहले खोज तथा उद्धारलाई प्राथमिकतामा राखेर काम गरिरहेका छन् । सम्पर्कविहीन नागरिकको अवस्था पत्ता लगाउने, फेला परेका शवको पहिचान गर्ने, विस्थापितलाई सुरक्षित आश्रय दिने तथा प्रभावित क्षेत्रमा राहत पुर्‍याउने कार्यलाई थप प्रभावकारी बनाउने प्रयास भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४