Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तानसेनमा आज २०७औँ भगवती जात्रा, यस वर्ष औपचारिक रूपमा मात्र विजयोत्सव मनाइँदै


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र २० २०८३
  • 874
    SHARES

पाल्पा । नेपालले अङ्ग्रेज सेनालाई युद्धमा पराजित गरेको ऐतिहासिक विजयको स्मरणमा पाल्पाको तानसेनमा आज २०७औँ भगवती जात्रा निकालिँदै छ । प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट तानसेनमा भव्य रूपमा निकालिने ऐतिहासिक भगवतीको रथयात्रा यस वर्ष भने देशमा आएको विपद्का कारण संयमित र औपचारिक रूपमा मात्र सञ्चालन गर्न लागिएको हो ।

रणउजेश्वरी भगवती गुठी सञ्चालक समितिका अध्यक्ष अशोक महर्जनका अनुसार आज दिउँसो १२ः३० बजेको शुभसाइतमा ब्राह्मणबाट स्वस्तीवाचन गरी तानसेन नगरपालिका–३ स्थित भगवती टोलमा रहेको भगवती मन्दिरबाट रथयात्रा सुरु हुनेछ ।

हरेक वर्ष हजारौँ भक्तजन, स्थानीय बासिन्दा तथा बाहिरबाट आउने श्रद्धालुको सहभागितामा बाजागाजा र उल्लासका साथ निकालिने जात्रा यसपटक भने विगतको तुलनामा शान्त र औपचारिक हुने अध्यक्ष महर्जनले जानकारी दिए ।

देश भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शोकमा रहेका बेला अनावश्यक तामझाम नगर्ने निर्णय गरिएको उनले बताए । उनका अनुसार यस वर्ष विगतमा जस्तो पञ्चेबाजा र ढिमे बाजाको प्रयोग गरिने छैन । नेपाली सेनाको बाजा भने जात्रामा प्रयोग गरिनेछ ।

अध्यक्ष महर्जनले भने, “भोटेकोशीमा आएको विनाशकारी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पु¥याएपछि देश शोकमा छ । यही अवस्थालाई ध्यानमा राख्दै हामीले विजयोत्सवलाई औपचारिकतामा मात्र सीमित गर्ने निर्णय गरेका हौँ ।”

नेपाली सेनाको सलामीपछि रथयात्रा

भगवतीको रथ मन्दिरबाट निकाल्नुअघि धार्मिक विधिअनुसार पूजा तथा स्वस्तीवाचन गरिनेछ । नेपाली सेनाले सलामी दिएपछि भगवतीको रथलाई मन्दिरको तीन पटक परिक्रमा गराइनेछ । त्यसपछि रथयात्रा निर्धारित मार्ग हुँदै अगाडि बढ्नेछ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित प्रदेश तथा जिल्लाका उच्च पदस्थ अधिकारीहरूको उपस्थितिमा जात्रा सञ्चालन हुने जनाइएको छ ।

भगवती जात्रालाई स्थानीय रूपमा रथयात्रा तथा सिन्दूर जात्राका नामले समेत चिनिन्छ । जात्रामा भगवतीको रथलाई विशेष रूपमा सजाएर तानसेन बजार परिक्रमा गराउने परम्परा रहिआएको छ ।

मन्दिरबाट शुभसाइतमा निकालिएको रथलाई शीतलपाटीको मूलढोकाबाहिर पुर्‍याएपछि सरकारको प्रतिनिधिका रूपमा प्रमुख जिल्ला अधिकारीले पूजा गर्ने तथा परम्पराअनुसार बलि दिने विधि सम्पन्न गरिनेछ ।

अङ्ग्रेजमाथिको विजयको सम्झनामा सुरु भएको जात्रा

भगवती जात्रालाई केवल धार्मिक पर्वका रूपमा मात्र नभई नेपालको सैन्य इतिहास र अङ्ग्रेजविरुद्धको युद्धसँग जोडिएको ऐतिहासिक उत्सवका रूपमा समेत लिइन्छ ।

स्थानीय इतिहासका जानकार राजेन्द्रगोपाल सिंहका अनुसार पाल्पाली प्रशासक तथा तत्कालीन नेपाली सेनाका कमाण्डर कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपाल र अङ्ग्रेजबीच विसं १८७१ पुसदेखि विसं १८७२ जेठसम्म युद्ध भएको थियो ।

उक्त युद्धका क्रममा बुटवलको जितगढीलगायत क्षेत्रमा नेपाली सेनाले अङ्ग्रेज फौजलाई पराजित गरेको इतिहास छ । सोही विजयको स्मरणमा विसं १८७७ देखि तानसेनमा भगवती जात्रालाई निरन्तर रूपमा विजयोत्सवका रूपमा मनाउन थालिएको स्थानीय जानकारहरूको भनाइ छ ।

त्यस समय नेपालको घरेलु हातहतियार तथा सैनिक अवस्था तुलनात्मक रूपमा कमजोर थियो । अङ्ग्रेज सेनाको प्रभाव विस्तार हुँदै जाँदा बुटवल क्षेत्रलाई जोगाउनु नेपालका लागि महत्वपूर्ण चुनौती थियो ।

यही अवस्थामा युद्धमा जानुअघि कर्णेल उजिरसिंह थापाले तानसेनको मध्यभागमा रहेको भगवती देवीको चरण छोएर युद्धमा विजयी भएमा भगवतीको मन्दिर निर्माण गर्ने र सिन्दूर जात्रा सञ्चालन गर्ने भाकल गरेको स्थानीय इतिहासमा उल्लेख छ ।

जितगढीको युद्धपछि मन्दिर निर्माण

स्थानीय ज्येष्ठ नागरिक तथा इतिहासका जानकारहरूका अनुसार कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपाली सेनाले बुटवल तथा जितगढी क्षेत्रमा अङ्ग्रेज फौजसँग भएको युद्धमा विजय हासिल गरेपछि उनले आफ्नो भाकल पूरा गरेका थिए ।

युद्धमा विजय प्राप्त गरेपछि कर्णेल थापाले गजुरसहितको तीनतले भगवती मन्दिर निर्माण गराएको बताइन्छ । त्यसपछि विसं १८७७ देखि प्रत्येक वर्ष भाद्र कृष्ण पक्षको नवमीका दिन विजयोत्सवका रूपमा भगवती जात्रा मनाउने परम्परा सुरु भएको स्थानीय सिंहले बताए ।

पछि कृष्ण जन्माष्टमीको भोलिपल्ट भगवतीको रथ निकाल्ने परम्पराका रूपमा यो जात्रा विकसित हुँदै आएको छ । धार्मिक आस्था र नेपालको इतिहास दुवैसँग जोडिएको भएकाले तानसेनको भगवती जात्राले पाल्पामा विशेष सांस्कृतिक तथा ऐतिहासिक महत्त्व राख्दै आएको छ ।

‘रणउजिरेश्वरी’ नामले पनि परिचित

अङ्ग्रेजसँगको युद्धमा प्राप्त विजयसँग सम्बन्धित भएकाले भगवती मन्दिरलाई रणउजिरेश्वरी भगवतीका रूपमा समेत चिनिन्छ । ‘रण’ र कर्णेल उजिरसिंह थापाको नामसँग जोडिएको यो नामले मन्दिरको ऐतिहासिक पृष्ठभूमिलाई समेत प्रतिनिधित्व गर्ने स्थानीयको भनाइ छ ।

कर्णेल थापाले युद्धमा जानुअघि भगवतीसमक्ष गरेको भाकल पूरा गरेपछि मन्दिर निर्माण र सिन्दूर जात्रा सुरु गरिएको इतिहास स्थानीय पुस्ताले पुस्तान्तरण गर्दै आएका छन् ।

भगवती जात्रा तानसेनको धार्मिक तथा सांस्कृतिक पहिचानसँग अभिन्न रूपमा जोडिएको छ । जात्राको दिन तानसेन बजारमा विशेष चहलपहल हुने गरे पनि यस वर्ष भने देशमा भएको प्राकृतिक विपद्का कारण उत्सवलाई सादगीपूर्ण बनाउने निर्णय गरिएको छ ।

विपद्को अवस्थामा संयमित उत्सव

भक्तजन र स्थानीय समुदायका लागि भगवती जात्रा धार्मिक आस्था र ऐतिहासिक गौरवको पर्व भए पनि यस वर्षको परिस्थितिलाई ध्यानमा राख्दै जात्रा व्यवस्थापन गरिएको आयोजकले जनाएको छ ।

भोटेकोशीमा आएको बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै आयोजकले जात्रामा अनावश्यक भीडभाड तथा तामझाम नगर्ने जनाएको हो ।

ऐतिहासिक परम्परालाई निरन्तरता दिँदै जात्राको धार्मिक तथा सांस्कृतिक विधि भने पूरा गरिनेछ । यसरी विपद्का कारण मुलुक शोकमा रहेको अवस्थामा पनि परम्परालाई कायम राख्दै संयमित रूपमा २०७औँ भगवती जात्रा मनाउन लागिएको हो ।

तानसेनको भगवती जात्रा धार्मिक आस्था, नेपाली वीरताको इतिहास र स्थानीय सांस्कृतिक पहिचानको संगमका रूपमा स्थापित छ । अङ्ग्रेजविरुद्धको युद्धमा नेपाली सेनाले प्राप्त गरेको विजयको स्मरणमा सुरु भएको यो परम्परा दुई शताब्दीभन्दा लामो समयदेखि निरन्तर चल्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४