Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बाढीले एक निमेषमै ल्याएको प्रलयः क्षणभरमै बस्ती बगरमा परिणत, सरकार गुहार्दै आफन्त !


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र १६ २०८३
  • 1.5K
    SHARES

काठमाडौं । भदौ १०, नेपाली इतिहासमा यो मिति अब केवल पात्रोको एउटा दिन रहेन, यो हजारौँ नागरिकको आँसु, पीडा र असह्य क्षतिको प्रतीक बनेको छ । केही क्षणअघिसम्म सामान्य रूपमा बगिरहेको भोटेकोशीले अचानक यस्तो रौद्र रूप धारण गर्‍यो, जसले उत्तरका पहाडदेखि तल्लो तटीय क्षेत्रसम्म विनाशको कहालीलाग्दो दृश्य सिर्जना गर्‍यो । चीनको तिब्बत क्षेत्रबाट ढुंगा, माटो र लेदो मिसिएको भीषण बाढी रसुवाको टिमुरे क्षेत्रमा ठोक्किँदा त्यहाँका बासिन्दाले केही बुझ्न वा जोगिन पाउने अवसरसमेत पाएनन् । केही मिनेटमै घरहरू बगे, बस्तीहरू मेटिए, सडकहरू च्यातिए र मानिसहरूको जीवनभरको कमाइ आँखैअगाडि हरायो । धेरैका सपना बगायो । धेरैको जीवनभरको मिहेनत बगायो । कसैका छोराछोरी त कतिका आमाबुवा बगायो । रसुवा, नुवाकोट र धादिङमा अहिले देखिएको दृश्य प्राकृतिक विपत्तिभन्दा पनि ठूलो मानवीय संकटको संकेत हो । कतिपय स्थानमा घर थिए भन्ने चिनारीसमेत बाँकी छन् । पहिला मानिसको चहलपहल हुने बस्ती अहिले ढुंगा, माटो र भग्नावशेषको थुप्रोमा परिणत भएका छन् । बाढीले केवल संरचना भत्काएको छैन, हजारौँ मानिसका भविष्य र सपनासमेत चकनाचुर बनाएको छ।

बाढीले रसुवा, धादिङ र नुवाकोट यी तीन जिल्लामा सबैभन्दा धेरै क्षति पुर्‍याएको छ । रसुवादेखि नुवाकोटको देवीघाटसम्मको बाढी पहिरो प्रभावित क्षेत्र अत्यन्तै भयावह र हृदय विदारक छ । नुवाकोटको ठुलो भूभाग र लगभग सम्पूर्ण रसुवा जिल्लामा सडक, सञ्चार र विद्युत् सेवा प्रणाली गम्भीर रूपमा क्षतविक्षत भएपछि त्यहाँका नागरिक सञ्चार सम्पर्कबाट विच्छेद भएका छन् । यद्यपि केही क्षेत्रमा सञ्चार संजाल विस्तार गरिएको छ । सडक नभएका कारण खाद्यान्नको अभाव र आधारभूत आवश्यकता पूर्ति हुन सकेको छैन । कतिपय ठाउँमा बस्ती छैन । घर, परिवार, सम्पत्ति र जीविकोपार्जन गुमाएका नागरिकहरू अहिले न गाँस, न बास, न भरोसाको अवस्थामा छन् ।

सबैभन्दा पीडादायी अवस्था आफ्ना परिवारका सदस्य गुमाएका र आफन्तको अवस्था थाहा नभएका नागरिकहरूको छ । धेरै परिवारले आफ्ना प्रियजन गुमाएका छन्, कतिपय अझै बेपत्ता छन् । यो समाचार तयार पर्दासम्म बाढीमा परि हालसम्म एक हजार बढीको शव फेला परेका छन् भने साढे चार हजारभन्दा बढी मानिस सम्पर्कविहीन छन् । मानवीय क्षतिकै यकिन विवरण संकलन भइनसकेको नाजुक अवस्थामा भौतिक क्षतिको हिसाबकिताब हुन बाँकी छ । बाढीमा फसेका हजारौँ नागरिकको उद्धार गरिएको छ भने अझै विभिन्न सुरुङ मार्गमा फसेकाहरूको उद्धार गर्न सकिएको छैन् । उद्धारमा चीन र भारतका विशेषज्ञ टोलीसहितका हजारौँको संख्यामा नेपाली सुरक्षाकर्मी खटिएका छन् । तर पनि अहिलेसम्म सुरुङभित्र रहेकाहरुको अवस्था अज्ञात छ । बाढी गएको ६ दिन बितिसक्दा समेत उद्धार हुन नसक्दा उनीहरूका परिवारमा निराशासँगै आक्रोश बढ्न थालेको छ । उनीहरू जीवितै रहेको आस पनि झिनो भइसकेको छ ।

आफन्तको बिलौना
भदौ १० को त्यो कहालीलाग्दो रातले रसुवावासीको जनजीवन मात्र खलबल्याएको छैन, राज्यको विपद् व्यवस्थापन क्षमता र नागरिकप्रतिको जिम्मेवारीमाथि समेत ठुलो प्रश्न चिन्ह खडा गरिदिएको छ । पीडितहरू अझै पनि नदीका बगर र अस्पतालका कोरिडोरहरूमा न्याय र सहयोगको प्रतीक्षामा छन् ।

अहिले टिचिङ हस्पिटल र ट्रमा सेन्टरमा आफ्ना आफन्तको नाम वा फोटो फेला पर्ने आसमा बसेका धेरै परिवारहरू निराश भएर फर्कनुपर्ने अवस्था छ । कतिपयले आफ्ना आफन्तको जीवितै पाउने आशा मारिसकेका छन् भने अन्तिम पटक अनुहार देख्न पाउने अधिकारबाट समेत वञ्चित हुनुपर्ने हो कि भन्ने डरमा छन् । यतिमात्रै होइन भोटेकोशी बाढी गएको यतिका दिन बितिसक्दा पनि पीडितहरूले राज्यको उपस्थिति महसुस गर्न नसकेको र उद्धार तथा राहतमा चरम ढिलाइ भएको गुनासो गरेका छन् ।

रसुवाको कालिका गाउँपालिका–३ का स्थानीय अर्जुनप्रसाद न्यौपानेका अनुसार बाढीले रसुवागढी बोर्डरदेखि बेत्रावतीसम्मको तल्लो र माथिल्लो तटीय क्षेत्रमा अपूरणीय क्षति पुर्‍याएको छ । रसुवागढी, टिमुरे, घट्टेखोला, स्याफ्रुबेसी, पहिरेबेसी र मैलुङ लगायतका क्षेत्रमा रहेका मानवीय बस्ती र भौतिक संरचनाहरू बाढीले नामेट पारेको छ । ‘हाम्रो जिल्ला नेपालको अन्तिम भूभागमा पर्ने भएकाले पनि हो कि, राज्यले सधैँ सौतेनी व्यवहार गरिरहेको छ । न्यौपाने भन्छन्, ‘उद्धारका लागि समयमै हेलिकप्टर पुग्न सकेन । मानिसहरू तितरबितर भएका छन्, को कहाँ छन् भन्ने अत्तोपत्तो छैन ।’

बाढीको विभिषिका यति भयानक थियो कि धेरैले आफ्ना परिवारका सदस्यलाई आँखाअगाडि नै नदीले बगाएको टुलुटुलु हेरेर बस्नुपर्‍यो । नुवाकोटको विदुर–१०, बेत्रावतीका शेषबहादुर लामिछानेले सोही दिन आफ्नी ४७ वर्षीय श्रीमतीलाई गुमाए । होटेल व्यवसाय सञ्चालन गर्दै आएका लामिछानेको घर त्रिशूली नदीको सतहभन्दा निकै माथि भएपनि सुनामी जस्तो आएको बाढीले उनको सर्वस्व लुटेको छ । ‘श्रीमतीले मलाई बुबा र दाइहरूलाई बचाउन पठाएकी थिइन्, मैले उनीहरूलाई त सुरक्षित ठाउँमा पुर्‍याएँ, तर मेरी श्रीमती भाग्न सकिनन् ।’ लामिछाने भावुक हुँदै भने, ‘मेरो दाइकी नातिनीलाई कान्लामा फ्यालेर उनले बच्चाको ज्यान त बचाइन् तर आफूलाई भने बाढीबाट जोगाउन सकिनन् ।’

लामिछाने अहिले काठमाडौंका अस्पताल र मर्चरीहरूमा श्रीमतीको शव पहिचानका लागि भौँतारिरहेका छन् । तर फेला परेका शवहरू क्षतविक्षत अवस्थामा रहेकाले पहिचान गर्न असम्भव प्रायः छ । डिएनए परीक्षणका लागि ठुलो खर्च लाग्ने र लामो समय कुर्नुपर्ने झन्झटिलो प्रक्रियाले पीडितलाई थप मानसिक तनाव दिएको छ । बाढीको पूर्व सूचनालाई लिएर पीडित र सरकारबीच विरोधाभासपूर्ण दाबी देखिएको छ । सरकारले समयमै सूचना जारी गरेको दाबी गरे पनि घटनास्थलमा रहेकाहरूले भने कुनै चेतावनी नपाएको बताएका छन् ।

सल्यानबाट रसुवा हाइड्रोपावरमा काम गर्न आएका १६ जना कामदारको एउटै समूह बाढीमा परेर बेपत्ता भएको छ । तीमध्येका आफन्त आशा मगरले सरकारको चरम लापरबाहीका कारण यति ठुलो मानवीय क्षति भएको आरोप लगाए । ‘हाम्रो दुईवटा भाइ, काका र छिमेकी गरी १६ जना सबैलाई बाढीले लग्यो । सरकारले सूचना दिएको भए उनीहरू किन भागेनन् ? किन कोठाभित्रै थुनिएर मर्नुपर्‍यो ?’ मगरले आक्रोश पोख्दै भने, ‘८ बजे चीनमा बाँध फुटेको जानकारी हुँदाहुँदै १० बजे बाढी आउँदासम्म किन स्थानीयलाई सतर्क गराइएन ? यो सरासर राज्यको लापरबाही हो ।’

सरकार भन्छ– जनताको साथमा छौँ

बाढी गएको झन्डै १ हप्ता हुनै लाग्यो । तर बेपत्ताको अवस्था यकिन हुन नसक्दा सरकारको आलोचना बढेको छ । विपत्तिको समयमा नागरिकको अभिभावक बन्नुपर्ने सरकार राहत वितरणमा पनि चुकेको गुनासो बढेको छ । विपत्तिको समयमा नागरिकको साथमा हुनुपर्ने सरकार आकाश र सामाजिक सञ्जालमा मात्रै देखिएको गुनासो बढेको छ ।

यद्यपी सरकारले भने नागरिकको खोज उद्धार र राहत वितरणमा राज्यको सम्पूर्ण सामर्थ्य लगाएको दाबी गरेको छ । बाढी पछिको दैनिक कामबारे दैनिक जसो सामाजिक सञ्जाल फेसबुकमा जानकारी गराउँदै प्रधानमन्त्री बालेन शाहले पीडित परिवारलाई सरकार साथमा रहेको भन्दै ढाडस दिँदै आएका छन् । उनले पीडितको मलहम लगाउन सरकार हर सम्भव प्रयासमा लागि परेको बताएका छन् । उनले बेपत्ताको खोज, उद्धार र राहत वितरणमा राज्यको सम्पूर्ण सामर्थ्य परिचालित रहको दाबी गर्दै आएका छन् । यसरी उनको दैनिक जसो आइरहेको स्ट्याटसले पीडितलाई उनले आश्वस्त पार्न खोजिएको त देखिन्छ । तर पीडित परिवार सरकारसँग रुष्ट देखिन्छन् । विपत्तिको समयमा सरकार जनताको अभिभावक बन्न नसकेको गुनासो उनीहरूको छ ।

शव व्यवस्थापन मुख्य चुनौती

भोटेकोशी बाढीले निम्त्याएको जनधनको क्षति पछि शवको व्यवस्थापन गर्ने कार्य सरकारका लागि सबैभन्दा चुनौतीपूर्ण बनेको छ । यो समाचार तयार पार्दासम्म विभिन्न जिल्लामा गरी १ हजार बाढीको शव फेला परिसकेको छ । दिनहुँ सयौँको संख्यामा भेटिने यस्ता शवको पहिचान हुन नसक्दा व्यवस्थापन गर्न हम्मे परेको हो ।

अस्पतालहरूको शव गृहको क्षमता भन्दा बढी शव संकलन भइरहेका छन् । तर शव पहिचान हुन नसक्दा एकातर्फ परिवारहरू आफन्तहरूको खोजीमा भौँतारिरहेका छन् भने सरकारलाई शव गाड्नुपर्ने अवस्थासम्म पुर्‍याएको छ । बेपत्ता भएकाहरूका परिवार आफन्त खोज्न नदी किनारदेखि अस्पतालहरू धाइरहेका छन् भने हप्ता दिनसम्म पनि शव बाहिर रहँदा सड्न थालेका छन् । जसले कतिपय ठाउँमा दुर्गन्ध फैलिन थालिसकेको छ भने कतिपय ठाउँमा शवहरू काग, कुकुरले खाइरहेका खबरहरू पनि आइरहेका छन् ।

अर्कोतर्फ शव सडेर अर्को महामारी फैलिन सक्ने जोखिम बढेपछि आफन्त पहिचान भए दिन मिल्ने गरी सरकाले शव धमाधम गाड्न थालेको छ । सरकारको यस निर्णयले आफन्तको लाससमेत नभेटिने पीडामा परिवारजन आक्रोशित हुन थालेका छन् । तर विज्ञहरू भने अहिलेको अवस्थामा यो नै सही विकल्प रहेको बताइरहेका छन् ।

सरकारी कोषमा राहतको ओइरो

रसुवा, नुवाकोट, धादिङ र गोरखामा भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढी–पहिरोपछि प्रभावितहरूको राहत र पुनर्स्थापनाका लागि भन्दै स्वदेश र विदेश दुवैतर्फबाट सहयोगको ओइरो लाग्न थालेको छ । प्रधानमन्त्रीको प्राकृतिक विपद् राहत कोषमा विभिन्न संघसंस्थादेखि राजनीतिक दल, नेता कार्यकर्ता, आम सर्वसाधारण, विदेशमा रहेको नेपालीबाट रकम तीव्र रूपमा जम्मा भइरहेको छ ।

यस्तै भारत, चीन, पाकिस्तान, श्रीलंकादेखि अमेरिका, क्यानडा र युरोपेली युनियनलगायतका देशहरूबाट पनि राहतको घोषणा भएको छ । कतिपय देशले राहत र उद्धार सामग्री पठाइसकेका छन् भने कतिपयले आर्थिक सहायताको घोषणा गरिसकेका छन् । भारत, चीन लगायतका मुलुकबाट त राहत सामग्रीसहित विशेषज्ञसहितको टोली पनि प्रभावित क्षेत्रमा खटिएका छन् । त्यस्तै, श्रीलंकाबाट १ मिलियन अमेरिकी डलर सहयोगको प्रतिबद्धता प्राप्त भएको छ । संयुक्त अरब इमिरेट्सबाट प्राप्त सहायता सामग्रीमा ब्याग, सोलार लाइटलगायतका छन् ।

त्यस्तै पाकिस्तान र बंगलादेशबाट पनि राहत सामग्री आउने तयारीमा रहेको छ । म्यानमार, सिंगापुर, अस्ट्रेलिया, जापान, बेलायत र कतारबाट सामान आउने क्रममा छ । युरोपियन युनियन, संयुक्त राज्य अमेरिका र क्यानडालगायतका मुलुकबाट पनि सरकारलाई सहयोगको प्रतिबद्धता प्राप्त भएको छ । अन्तर्राष्ट्रिय क्षेत्रबाट पनि नेपालप्रति देखाइएको यो एकजुटता उत्तिकै हृदयस्पर्शी छ ।

भोटेकोशी बाढीको कारण के ?

भोटेकोसी नदीमा आएको विनाशकारी बाढी सामान्य मौसम तथा वर्षाका कारण मात्र आएको होइन, यो जलवायु परिवर्तनले बढाउँदै लगेको चरम प्राकृतिक घटनाको ज्वलन्त उदाहरणको संज्ञा हो । यो विपत्ति पछि यसको कारणबारे विभिन्न कोणबाट विश्लेषण भइरहेको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका विश्लेषकहरूले यसबारे आ–आफ्नो धारणा सार्वजनिक पनि गरेका छन् । प्राप्त विभिन्न तथ्य जानकारी तथा भू–उपग्रह तस्बिरहरूको अध्ययनपछि विज्ञहरूले यस बाढीको मुख्य कारण आइस एभलाञ्च (हिउँ बरफको पहिरो) रहेको निष्कर्ष निकालेका छन् । यस अघि चीनको टेलिभिजन सिसिटिभीफोरले प्रसारण गरेको भिडियो रिपोर्टमा ल्हेन्दे खोलाको मुहानको दाहिने भागको पहाडमा पहिरो आएको र त्यसले जम्मा गरेको कङ्क्रिट र माटोले पानी थुनेर ताल बनेको देखिन्छ । बाढीबारे चीनले नेपाललाई समयमा जानकारी नदिएको सार्वजनिक भएसँगै आलोचना बढेपछि नेपालस्थित चिनिया दूतावासले सामाजिक सञ्जालमार्फत भदौ १० गते बिहान नेपालतर्फको भूभागमा भूकम्प वा भूकम्पजस्तै ठुलो हिमपहिरो गएको र सोही हिम पहिरोका कारण विशाल लेदोसहितको बाढी आएको दाबी गरेको थियो ।

चिनियाँ पक्षले तिब्बतमा ताल र नदी क्षेत्रमा जोखिम अझै कायमै रहेको जनाएको छ । आइतबार चीनको जलस्रोत मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रको जिरोङ (केरुङ) काउन्टीमा नदी थुनिएर बनेको ताल लगभग रित्तिइसकेको छ । तर उक्त तालमा मिसिने नेपाली नदीमा पानीको बहावले बनाएको एउटा गहिरो खाल्डो र तल्लो तटीय क्षेत्रका तीनवटा जलमग्न इलाकामा अझै ठुलो जोखिम रहेको छ ।

नदी किनारका बस्ती जोखिममा

१० भदौमा तिब्बतबाट भोटेकोशी हुँदै उर्लिएको बाढीले रसुवाका टिमुरे र स्याफ्रुबेँसी लगायत नुवाकोट, धादिङसहितका धेरै बस्ती एकैछिनमा सखाप बनायो । विनाशकारी बाढीले त्रिशूली, बेत्रावती र मैलुङदेखि धादिङको फुर्केखोलासम्मका बस्ती, खेती, पुल र सडक बगाउँदा धनजनको अकल्पनीय क्षति भयो । बाढीले सबैभन्दा धेरै क्षति नदी किनारका बस्तीमा गरेको छ । यो यस पटक मात्र होइन, हरेक ठुला बाढीमा नदी तथा खोला किनारका बस्तीले ठुलो जनधनको क्षति बेहोर्ने गरेका छन् ।

काठमाडौँका खोला किनारबाट सुकुम्वासी बस्ती हटाउँदा सरकारले पनि बाढीबाट हुने क्षतिबाट जोगाउन खोजिएको तर्क गरेको थियो । ठुला बाढी पहिरोका घटनापछि एउटा प्रश्न बारम्बार उठ्छ । खोला वा नदीको छेउमा बसोबास गर्नु कति सुरक्षित छ ? यसको स्पष्ट र सबै ठाउँमा लागू हुने जवाफ पाइँदैन । नेपालका धेरै बस्ती नदी किनारमा छन् । नदी किनारका यस्ता अधिकांश बस्ती वैज्ञानिक रूपमा योजनाबद्ध विकास गरिएका होइनन् । त्यसैले यस्ता बस्तीमा जुनसुकै बेला ठुलो विनाश निम्तिन सक्ने जोखिम रहेको भोटेकोशीको बाढीले पनि देखाएको छ ।

मानव सभ्यताको सुरुवात नदी किनारबाट नै भएको पाइन्छ । त्यसैले नदी आसपास मानव बस्ती हुनु अस्वाभाविक पनि होइन । तर कहाँ सहर बनाउने, कहाँ बस्ती बसाउने र कहाँ खेती गर्ने भन्ने व्यवस्थित योजना नेपालको छैन । बरु भएका मापदण्डसमेत भत्काएर नदी तथा खोला किनार मिच्ने प्रवृत्ति छ । त्यसले पनि जोखिम झन्–झन् बढाइरहेको छ । भोटेकोशी बाढीबाट अब पाठ सिक्ने की ?

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४