काठमाडौं । उदयपुरको कटारी नगरपालिका–६ बाँकेटारस्थित शान्तिवन वन क्षेत्रबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । प्रहरीले जङ्गलमा लुकाइछिपाइ राखिएको अवस्थामा एक हजार १२२ दशमलव ६७ किलोग्राम गाँजा बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईंका अनुसार प्रहरीले ५२ बोरा गाँजा बरामद गरेको हो । गाँजा अवैध रूपमा ओसारपसार तथा बिक्री वितरणका लागि लुकाइराखिएको हुन सक्ने आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
प्रहरीले गाँजासहित ताप्ली गाउँपालिका–१ डाँडागाउँका रामबहादुर मगर, नेकबहादुर मगर र पृथ्वीराज मगरलाई पक्राउ गरेको छ । पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय कटारीमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
गाँजा ओसारपसारमा प्रयोग भएको आशंकामा प्रहरीले बा १६ च ५२६९ नम्बरको बोलेरो गाडीसमेत नियन्त्रणमा लिएको छ ।
प्रहरीले बरामद गाँजाको स्रोत, यसको ओसारपसारमा संलग्न व्यक्ति तथा यसको सम्भावित गन्तव्यबारे अनुसन्धान गरिरहेको जनाएको छ । घटनामा थप व्यक्तिहरूको संलग्नता भए–नभएको विषयमा समेत अनुसन्धान भइरहेको छ ।
अवैध लागुऔषधको कारोबार तथा ओसारपसार नियन्त्रणका लागि प्रहरीले निगरानी र कारबाहीलाई तीव्र बनाउँदै आएको जनाएको छ । उदयपुरका विभिन्न क्षेत्रमा हुने सम्भावित अवैध गतिविधिमाथि निगरानी बढाउँदै शङ्कास्पद गतिविधिमा संलग्न व्यक्तिमाथि अनुसन्धान र कानुनी कारबाही अघि बढाइने प्रहरीले जनाएको छ ।