काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकका नाममा जथाभावी आर्थिक सहयोग तथा राहत सामग्री सङ्कलन नगर्न जिल्ला प्रशासन कार्यालय झापाले आग्रह गरेको छ।
जिल्लामा विभिन्न व्यक्ति तथा संघसंस्थाले बाढीपीडितका नाममा आर्थिक सहयोग तथा राहत सामग्री सङ्कलन गर्न थालेपछि जिल्ला प्रशासन कार्यालय झापाले आइतबार सूचना जारी गर्दै त्यस्ता गतिविधि नगर्न आग्रह गरेको हो।
प्रशासनले बाढीपीडितका लागि सहयोग गर्न इच्छुक व्यक्ति तथा संघसंस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको आधिकारिक खाता नम्बर यकिन गरेर मात्र रकम जम्मा गर्न अनुरोध गरेको छ।
विपद्को समयमा पीडितलाई सहयोग गर्ने उद्देश्यले विभिन्न व्यक्ति, संस्था तथा समूहले राहत सङ्कलन गर्ने गरे पनि त्यस्ता गतिविधि व्यवस्थित र पारदर्शी हुनुपर्ने प्रशासनको भनाइ छ। आधिकारिक निकायको अनुमति तथा जानकारीबिना रकम वा राहत सामग्री सङ्कलन गर्दा सहयोगको दुरुपयोग हुन सक्ने भएकाले प्रशासनले सचेत गराएको हो।
जिल्ला प्रशासन कार्यालयले राहत तथा सहयोगका नाममा हुन सक्ने अनधिकृत सङ्कलन, आर्थिक अपारदर्शिता तथा दुरुपयोग रोक्न यस्तो सूचना जारी गरिएको जनाएको छ।
प्रशासनले बाढीपीडितका लागि सहयोग गर्न चाहने नागरिक तथा संघसंस्थालाई आधिकारिक माध्यममार्फत सहयोग गर्न आग्रह गरेको छ। साथै, राहत सङ्कलनका नाममा हुने गैरकानुनी वा शंकास्पद गतिविधिबारे जानकारी भएमा सम्बन्धित निकायलाई सूचना दिनसमेत अनुरोध गरिएको छ।
भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएपछि देशका विभिन्न स्थानबाट पीडितका लागि सहयोग जुटाउने क्रम बढेको छ। यस्तो अवस्थामा वास्तविक पीडितसम्म राहत पुर्याउन सहयोगको उचित व्यवस्थापन र पारदर्शिता आवश्यक रहेको प्रशासनले जनाएको छ।