काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाललाई वातावरणमैत्री, प्रविधिमैत्री र दिगो विकासको दिशामा अघि बढाउन हरित ऊर्जामा आधारित सवारी साधनको प्रवद्र्धन आजको अनिवार्य आवश्यकता भएको बताउनुभएको छ।
काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको ‘नाडा अटो शो २०२६’ को उद्घाटन गर्दै उपराष्ट्रपति यादवले विद्युतीय सवारी साधनको प्रयोगलाई राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभएको हो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले नेपालजस्तो विकासशील राष्ट्रका लागि अन्तर्राष्ट्रिय स्तरको सवारी प्रदर्शनीको महत्व बहुआयामिक हुने बताउनुभयो। उहाँका अनुसार यस्ता प्रदर्शनीले उपभोक्तालाई बजारमा उपलब्ध नयाँ प्रविधि, इन्धन दक्षता, सुरक्षा सुविधा तथा वातावरणीय प्रभावबारे प्रत्यक्ष जानकारी लिन अवसर प्रदान गर्छन्। यसबाट उपभोक्ताले आफूलाई आवश्यक सवारी साधन छनोट गर्दा सही निर्णय लिनसमेत सहयोग पुग्ने उहाँको विश्वास छ।
उपराष्ट्रपति यादवले अटोमोबाइल क्षेत्र नेपालको राजस्व संकलनका प्रमुख स्रोतहरूमध्ये एक भएको उल्लेख गर्नुभयो। यस क्षेत्रले सरकारलाई राजस्व उपलब्ध गराउनुका साथै प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा हजारौँ युवालाई रोजगारी र प्राविधिक सीप प्रदान गरिरहेको उहाँले बताउनुभयो।
अटोमोबाइल क्षेत्रको विकासले युवालाई रोजगारी तथा सीप विकासको अवसर प्रदान गर्नुका साथै देशमा प्राविधिक जनशक्ति उत्पादन र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा समेत योगदान पुर्याउने उहाँको भनाइ छ।
उहाँले विद्युतीय सवारी साधनको व्यापक प्रयोगले पेट्रोलियम पदार्थमाथिको नेपालको परनिर्भरता घटाउन सक्ने बताउनुभयो। नेपालले ठूलो मात्रामा इन्धन आयात गर्नुपर्ने अवस्थाका कारण व्यापार घाटामा समेत दबाब पर्ने भएकाले विद्युतीय सवारीको प्रवद्र्धनले इन्धन आयात घटाउन र व्यापार घाटा न्यूनीकरणमा प्रत्यक्ष सहयोग पुग्ने उहाँको धारणा छ।
त्यस्तै, विद्युतीय सवारी साधनको प्रयोग बढाउन सके कार्बन उत्सर्जन घटाउन तथा सहरी क्षेत्रमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो। जलवायु परिवर्तनका कारण उत्पन्न भइरहेका चुनौती सामना गर्न पनि विद्युतीय सवारी प्रविधि महत्वपूर्ण हुने उहाँको भनाइ छ।
उपराष्ट्रपति यादवले वातावरण संरक्षण र दिगो विकासका लागि विद्युतीय सवारी साधनलाई केवल पेट्रोलियम सवारीको विकल्पका रूपमा मात्र नहेरी राष्ट्रिय प्राथमिकता का रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो।
विद्युतीय सवारीको प्रयोग बढाउन सरकारले आवश्यक नीति, पूर्वाधार र प्रोत्साहनका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने आवश्यकता पनि उहाँले औँल्याउनुभयो। विशेषगरी विद्युतीय सवारी चार्जिङ पूर्वाधारको विस्तार, प्रविधिको पहुँच तथा उपभोक्तामैत्री नीतिले ईभीको प्रयोगलाई थप प्रोत्साहन गर्न सक्ने देखिन्छ।
नाडा अटो शोले नेपालमा भित्रिएका तथा भित्रिन लागेका नयाँ प्रविधि र सवारी साधनबारे जानकारी लिन उपभोक्तालाई महत्वपूर्ण अवसर प्रदान गर्ने उपराष्ट्रपति यादवले बताउनुभयो।
उहाँले नाडाको स्वर्ण जयन्तीका अवसरमा शुभकामना व्यक्त गर्दै नाडा अटो शो २०२६ ले नेपालको अटोमोबाइल क्षेत्रलाई आधुनिक प्रविधि तथा हरित ऊर्जातर्फ उन्मुख गराउन महत्वपूर्ण उत्प्रेरकको भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
नेपालको आर्थिक समृद्धिका लागि सरकार, निजी क्षेत्र र नागरिक समाजबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले सबै पक्षको एकीकृत प्रयासबाट मात्र दिगो आर्थिक विकास र समृद्धिको लक्ष्य हासिल गर्न सकिने बताउनुभयो।
नाडा अटो शोमा विभिन्न ब्रान्डका सवारी साधन, विद्युतीय सवारी, अटोमोबाइल प्रविधि तथा सवारीसम्बन्धी नयाँ उत्पादनहरू प्रदर्शनमा राखिएका छन्। पछिल्लो समय नेपालमा विद्युतीय सवारी साधनप्रति बढ्दै गएको आकर्षणका कारण यस वर्षको अटो शोमा पनि ईभी प्रविधि प्रमुख आकर्षणका रूपमा रहने अपेक्षा गरिएको छ।
उपभोक्ताको बदलिँदो रुचि, वातावरणीय चुनौती र प्रविधिको तीव्र विकासबीच नाडा अटो शो २०२६ ले नेपालको अटोमोबाइल बजारलाई थप आधुनिक, प्रविधिमैत्री र वातावरणमैत्री बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।