यसअघि प्रतिनिधि सभाको बैठक मंगलबार दिउँसो १ बजे बस्ने गरी कार्यतालिका निर्धारण गरिएको थियो। तर विशेष कारणवश निर्धारित मिति र समयमा बैठक बस्न नसक्ने भएपछि बैठकको मिति परिवर्तन गरिएको संघीय संसद् सचिवालयले जनाएको छ।
संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले बैठक बुधबार दिउँसो १ बजे बस्ने गरी नयाँ समय निर्धारण गर्नुभएको हो।
संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जारी गर्नुभएको सूचनामार्फत सम्पूर्ण सांसदहरूलाई बैठक स्थगित भएको र नयाँ बैठकको मिति तथा समयबारे जानकारी गराइएको छ।
मंगलबार बस्ने भनिएको बैठक अचानक स्थगित भएपछि प्रतिनिधि सभाको कार्यसूचीमा रहेका विषयहरू अब बुधबारको बैठकमा प्रस्तुत हुनेछन्। बैठक स्थगित हुनुको विस्तृत कारण भने सचिवालयको सूचनामा ‘विशेष कारण’ मात्र उल्लेख गरिएको छ।
प्रतिनिधि सभाको नयाँ बैठक बुधबार दिउँसो १ बजे संघीय संसद् भवनमा बस्नेछ।
