काठमाडौं । कपिलवस्तुको कृष्णनगरबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले चरेस र अफिमजस्तो देखिने पदार्थसहित पाँच महिलालाई पक्राउ गरेको छ। कृष्णनगर नगरपालिका–२ स्थित पुरानो बसपार्क क्षेत्रमा गस्तीमा खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरूलाई रोकी जाँच गर्दा ठूलो परिमाणमा लागुऔषध बरामद गरेको हो।
प्रहरीका अनुसार पक्राउ परेका महिलाहरूको साथबाट चरेसजस्तो देखिने कालो गिलो पदार्थ ५ किलो २२५ ग्राम र अफिमजस्तो देखिने गिलो पदार्थ १० किलो गरी कुल १५ किलो २२५ ग्राम पदार्थ बरामद भएको छ। उनीहरूको साथबाट पाँच थान मोबाइलसमेत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ पर्नेमा दाङका रजिता रोकाय र विमला पुन, कपिलवस्तुका पनिसरा सारु र नन्सरी घर्ती मगर तथा पर्साकी चुमा लामिछाने रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार पक्राउ परेकाहरूमाथि लागुऔषधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।
प्रहरीले बरामद पदार्थको परीक्षण गर्ने प्रक्रिया अघि बढाउनुका साथै घटनामा संलग्न अन्य व्यक्तिहरू र लागुऔषध ओसारपसारमा संलग्न सम्भावित सञ्जालबारे समेत अनुसन्धान गरिरहेको जनाएको छ। भारततर्फ लैजान लागिएको भनिएको उक्त पदार्थ कहाँबाट ल्याइएको थियो र यसको पछाडि अन्य व्यक्तिको संलग्नता छ कि छैन भन्ने विषयमा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।