एजेन्सी । रुस र युक्रेनबीच जारी युद्धका क्रममा शनिबार भएका पछिल्ला हवाई आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ।
युक्रेनी अधिकारीहरूका अनुसार रुसी ड्रोन तथा क्षेप्यास्त्र आक्रमणमा युक्रेनका विभिन्न क्षेत्रमा ७ जनाको मृत्यु भएको छ। यस्तै, रुसको दक्षिणी क्रास्नोदार क्षेत्रमा युक्रेनी ड्रोन आक्रमणमा ३ जनाको मृत्यु भएको बताइएको छ।
यससँगै शनिबार भएका विभिन्न हवाई आक्रमणमा दुवै देशतर्फ गरी कम्तीमा १० जनाको ज्यान गएको हो। आक्रमणका कारण कैयौँ मानिस घाइते भएका छन् भने भौतिक संरचनामा समेत क्षति पुगेको जनाइएको छ।
यसअघि शुक्रबार मध्य युक्रेनस्थित एक शपिङ सेन्टरमा भएको रुसी आक्रमणमा १६ जनाको मृत्यु भएको थियो। उक्त घटनामा १४८ जनाभन्दा बढी मानिस घाइते भएको बताइएको छ। आक्रमणपछि उद्धार तथा राहतको काम अघि बढाइएको थियो।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले राजधानी किभमा समेत रुसी सेनाले आक्रमण गरेको बताएका छन्। उनका अनुसार किभमा रेल पूर्वाधार र लोकोमोटिभ डिपोलाई लक्षित गरी ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरिएको थियो।
रुस–युक्रेन युद्धका क्रममा पछिल्लो समय दुवै पक्षले ड्रोन तथा क्षेप्यास्त्र आक्रमण तीव्र बनाउँदै आएका छन्। आवासीय क्षेत्र, ऊर्जा तथा यातायात पूर्वाधारसहित विभिन्न महत्वपूर्ण संरचना आक्रमणको निशानामा पर्ने गरेका छन्।
पछिल्ला आक्रमणले युद्धका कारण सर्वसाधारणमाथि थप जोखिम बढाएको छ। दुवै पक्षबीच युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास भइरहे पनि आक्रमणहरू भने निरन्तर भइरहेका छन्।