काठमाडौं । पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्ब रुपैयाँभन्दा बढीको कृषिजन्य वस्तु नेपाल आयात भएको छ।
प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा भारत, चीन, अष्ट्रेलिया र बंगलादेशबाट खाद्यान्न, दलहन, ताजा तरकारी तथा फलफूल गरी २४ अर्ब २६ करोड ७४ लाख रुपैयाँ बराबरको कृषिउपज नेपाल भित्रिएको हो।
आयातित कृषिजन्य वस्तुमध्ये खाद्यान्न र दलहनको हिस्सा ठूलो रहेको कार्यालयले जनाएको छ। भारतबाट मात्रै २४ करोड २३ लाख रुपैयाँको चामल र १८ करोड ८३ लाख रुपैयाँको कोदो आयात भएको छ।
त्यस्तै, अष्ट्रेलिया र भारतबाट १८ करोड २७ लाख ९९ हजार रुपैयाँ बराबरको १ हजार ९ सय ९६ मेट्रिकटन चना आयात भएको छ। अष्ट्रेलियाबाट १० करोड ८८ लाख ५४ हजार रुपैयाँ बराबरको ७ सय ९६ मेट्रिकटन मासको दाल पनि नेपाल भित्रिएको छ।
ताजा तरकारीतर्फ भारतबाट गोलभेडा, काँक्रा, खुर्सानी, भेडे खुर्सानी र फर्सीलगायतका वस्तु उल्लेख्य मात्रामा आयात भएका छन्। एक वर्षमा १४ करोड ३९ लाख ६६ हजार रुपैयाँको गोलभेडा, ७ करोड ९० लाख ६४ हजार रुपैयाँको काँक्रा र ३ करोड २४ लाख ३५ हजार रुपैयाँको खुर्सानी आयात भएको तथ्यांक छ।
फलफूलतर्फ भारत र चीनबाट स्याउ, भुइँकटहर, तरबुजा र नासपाती मुख्य रूपमा आयात भएका छन्। भारत र चीनबाट २९ करोड ५९ लाख ७२ हजार रुपैयाँको स्याउ तथा भारतबाट १४ करोड २४ लाख ८१ हजार रुपैयाँको तरबुजा आयात भएको कार्यालयले जनाएको छ।
काँकरभिट्टा नाकाबाट ठूलो परिमाणमा कृषिजन्य वस्तु आयात हुनुले नेपालमा कृषि उत्पादन र आयात प्रतिस्थापनको आवश्यकता अझै रहेको देखाएको छ।