काठमाडौं । अष्ट्रेलियामा आज (शुक्रबार) देखि सुरु हुने टप एण्ड टी–२० श्रृंखला मा नेपाल ‘ए’ टोलीले आफ्नो पहिलो खेल नर्दन टेरिटोरी स्ट्राइकसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने भएको छ। यो खेल डार्विनमा नेपाली समयअनुसार दिउँसो २:१५ बजे सुरु हुनेछ।
नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिताका लागि १५ सदस्यीय टोली भदौ १ गते नै अष्ट्रेलिया पठाएको थियो। यस भ्रमणमा नेपाल ‘ए’ टोलीको कप्तानी अनिल कुमार साह ले गर्दैछन्।
नेपालले प्रतियोगितामा लगातार विभिन्न बलिया टोलीसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ। पहिलो खेलपछि शनिबार बङ्गलादेशको हाई पर्फर्मेन्स टोलीसँग खेल्नेछ। त्यसपछि भदौ ८ गते होबार्ट हरिकेन्स एकेडेमी, भदौ १० गते अस्ट्रेलियन क्यापिटल टेरिटोरी, भदौ ११ गते हैदरावाद किङ्समेन एकेडेमी र भदौ १३ गते भिक्टोरिया सीए–११ सँग प्रतिस्पर्धा गर्नेछ।
टी–२० श्रृंखलासँगै नेपाल ‘ए’ टोलीले अष्ट्रेलियामा रहँदा थप अनुभव हासिल गर्ने अवसर पनि पाउने भएको छ। क्यानका अनुसार टोलीले न्युजिल्याण्ड ‘ए’, तास्मानिया र साउथ अस्ट्रेलिया विरुद्ध एकदिवसीय अभ्यास खेल पनि खेल्ने कार्यक्रम रहेको छ। यी खेलले खेलाडीहरूलाई उच्चस्तरीय अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको अनुभव दिलाउने विश्वास गरिएको छ।
नेपाल ‘ए’ टोलीमा कप्तान अनिल कुमार साहसहित मयन यादव, तृतराज दास, कुशल भुर्तेल, पवन सर्राफ, रिजन ढकाल, कुशल मल्ल, लोकेश बम, रशिद खान, शाहब आलम, आकाश चन्द, नारायण जोशी, दिनेश अधिकारी, विपिन खत्री र दीपक डुम्रे रहेका छन्।
अष्ट्रेलियाको प्रतिस्पर्धात्मक वातावरणमा हुने यो भ्रमणलाई नेपाली क्रिकेटका उदीयमान खेलाडीहरूको क्षमता परीक्षण र भविष्यका राष्ट्रिय टोलीका लागि तयारी गर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ।