काठमाडौं । अविरल वर्षा भइरहेका बेला बिहीबार देशका १९ जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको पूर्वानुमान गरिएको छ। बाढी पूर्वानुमान महाशाखाले ती जिल्लाका साना तथा ठूला नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने जनाएको हो।
महाशाखाका अनुसार बिहीबार रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, गोरखा, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, रोल्पा, सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख, सुर्खेत तथा आसपासका जिल्लाबाट बहने स–साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेको छ।
वर्षाको मात्रा बढेसँगै ती क्षेत्रका नदी तथा खोलामा पानीको सतह छोटो समयमै बढ्न सक्ने भएकाले महाशाखाले आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ। विशेषगरी लगातार वर्षा भइरहेका पहाडी तथा उच्च भेगबाट बग्ने साना नदी, खोला र खहरेमा एक्कासि बाढी आउन सक्ने भएकाले सतर्क रहन आवश्यक रहेको छ।
महाशाखाले केही ठूला नदीमा समेत पानीको बहाव उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरेको छ। लगातारको वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्दै जाने भएकाले नदी किनार तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकले विशेष सावधानी अपनाउनुपर्ने देखिएको छ।
साना नदी तथा खोलामा आउने बाढीको पूर्वानुमान गर्न कठिन हुने भएकाले स्थानीय क्षेत्रमा एक्कासि पानीको सतह बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न सुझाव दिइएको छ।
विशेषगरी पहाडी जिल्लामा सडक तथा पुल आसपास, खोला तर्ने स्थान, नदी किनार र तल्लो भूभागमा बाढी तथा कटानको जोखिम बढ्न सक्ने भएकाले स्थानीय प्रशासन तथा सम्बन्धित निकायले आवश्यक सतर्कता अपनाउनुपर्ने अवस्था रहेको छ।
मनसुनी प्रणाली सक्रिय रहेका कारण देशका विभिन्न क्षेत्रमा वर्षा जारी रहेकाले आगामी दिनमा समेत नदी तथा खोलाको बहावमा उतारचढाव आउन सक्ने महाशाखाले जनाएको छ। वर्षाका कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै सर्वसाधारणलाई मौसम तथा बाढीसम्बन्धी पछिल्ला सूचना नियमित रूपमा हेर्न र आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।
बाढीको जोखिम रहेका क्षेत्रमा स्थानीयवासीले रातको समयमा नदी तथा खोलाको अवस्था बुझ्न नजाने, बालबालिका तथा ज्येष्ठ नागरिकलाई जोखिमयुक्त स्थानमा जान नदिने र आकस्मिक रूपमा पानीको सतह बढेमा सुरक्षित स्थानतर्फ सर्नुपर्ने देखिएको छ।

