काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेललाई २४सै घण्टा सुरक्षित, व्यवस्थित, पारिवारिक तथा मर्यादित ढङ्गले सञ्चालन गर्ने तयारी अघि बढाइएको छ। यसका लागि ठमेल पर्यटन विकास परिषद् र जिल्ला प्रशासन कार्यालय काठमाडौँबीच आवश्यक समन्वय र सहकार्य गर्ने सहमति भएको छ।
ठमेल पर्यटन विकास परिषद्को नवनिर्वाचित टोलीले बुधबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसँग भेट गरी ठमेलको वर्तमान अवस्था, सुरक्षा व्यवस्थापन तथा पर्यटकीय गतिविधिलाई थप व्यवस्थित बनाउने विषयमा छलफल गरेको हो।
भेटका क्रममा ठमेललाई २४सै घण्टा पर्यटकीय गन्तव्यका रूपमा सञ्चालन गर्दा आवश्यक पर्ने सुरक्षा, ट्राफिक व्यवस्थापन, सडक बालबालिकाको व्यवस्थापन, हकर्स तथा व्यवसायिक गतिविधिको नियमनलगायत विषयमा विस्तृत छलफल भएको परिषद्का महासचिव पशुपति कँडेलले जानकारी दिनुभयो।
उहाँका अनुसार ठमेललाई रातको समयमा पनि पर्यटक तथा सर्वसाधारणका लागि सुरक्षित र सहज हुने गरी सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय र ठमेल पर्यटन विकास परिषद्बीच सहकार्य गर्ने सहमति भएको छ।
ठमेललाई २४सै घण्टा सञ्चालन गर्ने अवधारणा यसअघि नै अघि बढाइएको थियो। ठमेल पर्यटन विकास परिषद्का तत्कालीन अध्यक्ष भविश्वर शर्माको पहलमा तत्कालीन गृहमन्त्री रवि लामिछानेले २०८१ सालमा ठमेललाई २४सै घण्टा सञ्चालन गर्ने घोषणा गर्नुभएको थियो।
तर २४सै घण्टा सञ्चालनको अवधारणालाई प्रभावकारी बनाउन सुरक्षा, ट्राफिक, सरसफाइ, व्यवसाय व्यवस्थापन तथा सामाजिक सुरक्षासँग सम्बन्धित विषयमा थप समन्वय आवश्यक देखिँदै आएको थियो। पछिल्लो भेटले ती विषयलाई संस्थागत रूपमा अघि बढाउने आधार तयार गरेको परिषद्को भनाइ छ।
सुरक्षा र ट्राफिक व्यवस्थापनमा विशेष जोड
ठमेलमा २४सै घण्टा पर्यटकीय गतिविधि सञ्चालन गर्दा शान्ति–सुरक्षा प्रमुख विषयका रूपमा रहने भएकाले सुरक्षा निकायको प्रभावकारी परिचालनमा जोड दिइएको छ।
भेटमा प्रमुख जिल्ला अधिकारी पौडेलले ठमेललाई थप व्यवस्थित र सुरक्षित बनाउन आवश्यकताअनुसार सुरक्षा निकाय परिचालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले ठमेल पर्यटन विकास परिषद्सँग प्रभावकारी समन्वय गरी पर्यटक तथा व्यवसायीलाई सुरक्षित वातावरण उपलब्ध गराउने गरी काम गर्ने बताउनुभएको हो।
ठमेलमा रातको समयमा समेत पर्यटक तथा व्यवसायीको आवतजावत हुने भएकाले सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन आवश्यक रहेको परिषद्को भनाइ छ। विशेषगरी पर्यटकको सुरक्षा, व्यवसायिक क्षेत्रको शान्ति–सुरक्षा तथा सम्भावित अवाञ्छित गतिविधि नियन्त्रणका लागि सुरक्षा निकाय र स्थानीय सरोकारवालाबीच समन्वय आवश्यक रहेको बताइएको छ।
त्यस्तै, ठमेल क्षेत्रमा देखिने ट्राफिक व्यवस्थापनको समस्या समाधानका लागि पनि सम्बन्धित निकायसँग सहकार्य गरिने भएको छ। साँघुरा सडक, अत्यधिक सवारी चाप, पैदलयात्रुको भीड तथा रातको समयमा बढ्ने गतिविधिलाई व्यवस्थित गर्न आवश्यक योजना बनाउने विषयमा समेत छलफल भएको छ।
सडक बालबालिका र हकर्स व्यवस्थापन गरिने
ठमेललाई सुरक्षित र पारिवारिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सडक बालबालिकाको उचित व्यवस्थापन तथा हकर्सको व्यवस्थापनलाई पनि प्राथमिकतामा राखिएको छ।
परिषद्का महासचिव कँडेलले ठमेल क्षेत्रमा सडक बालबालिकाको अवस्था तथा विभिन्न स्थानमा देखिने अव्यवस्थित हकर्सका कारण सिर्जना हुने समस्याबारे पनि छलफल भएको जानकारी दिनुभयो।
सामाजिक समस्याका रूपमा रहेका यस्ता विषयलाई सम्बन्धित सरकारी निकाय तथा सरोकारवाला संस्थासँग समन्वय गरेर समाधान गर्ने परिषद्को योजना छ। ठमेलमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई सहज र सुरक्षित वातावरण उपलब्ध गराउन सार्वजनिक स्थानको व्यवस्थापन महत्वपूर्ण रहेको परिषद्को भनाइ छ।
पर्यटनमैत्री वातावरण निर्माणमा जोड
ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष राजुमान डङ्गोलले ठमेलको दीर्घकालीन शान्ति, सुरक्षा तथा पर्यटनमैत्री वातावरण निर्माणका लागि परिषद्ले विभिन्न सरकारी तथा गैरसरकारी निकायसँग समन्वय गरेर काम गरिरहेको बताउनुभएको छ।
उहाँका अनुसार ठमेल केवल मनोरञ्जनको क्षेत्र मात्र नभई नेपालको पर्यटनको महत्वपूर्ण प्रवेशद्वार भएकाले यसको व्यवस्थापन र विकास दीर्घकालीन योजनाका आधारमा गर्न आवश्यक छ।
पर्यटकलाई २४सै घण्टा सेवा उपलब्ध गराउने वातावरण निर्माण गर्दा व्यवसायी, स्थानीय बासिन्दा, सुरक्षा निकाय, प्रशासन तथा अन्य सरोकारवालाबीच सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो।
ठमेलमा होटल, रेस्टुरेन्ट, बार, क्लब, पसल तथा विभिन्न पर्यटकीय व्यवसाय सञ्चालन हुँदै आएका छन्। नेपाल आउने विदेशी पर्यटकका लागि ठमेल प्रमुख आकर्षणका रूपमा रहँदै आएको छ। रातको समयमा समेत पर्यटकीय गतिविधि सञ्चालन हुने भएकाले क्षेत्रलाई सुरक्षित र व्यवस्थित बनाउनु आवश्यक रहेको पर्यटन व्यवसायीहरूको भनाइ छ।
परिषद्ले ठमेलको विकास र सुरक्षाका लागि सबै सरोकारवाला पक्षबीचको सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ। जिल्ला प्रशासन कार्यालयसँगको सहकार्यपछि ठमेललाई २४सै घण्टा सञ्चालन गर्ने अवधारणालाई थप व्यवस्थित र प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।
ठमेललाई २४सै घण्टा सञ्चालन गर्दा पर्यटकले जुनसुकै समयमा पनि सुरक्षित रूपमा सेवा लिन सक्ने वातावरण बनाउने, व्यवसायिक गतिविधिलाई मर्यादित बनाउने तथा स्थानीय बासिन्दाको सुरक्षा र सुविधालाई समेत ध्यान दिने गरी व्यवस्थापन गरिने बताइएको छ।
परिषद् र प्रशासनबीचको पछिल्लो सहकार्यले ठमेललाई सुरक्षित, व्यवस्थित र पर्यटनमैत्री क्षेत्रका रूपमा थप विकास गर्ने प्रयासलाई गति दिने विश्वास गरिएको छ।