काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोले बैंकबाट फोन गरेको भन्दै सर्वसाधारणलाई झुक्याएर केवाइसी (KYC) अपडेटका नाममा बैंक खाताबाट रकम चोरी गर्ने कार्यमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको छ।
साइबर ब्यूरोका अनुसार पक्राउ पर्नेमा बारा देउताल गाउँपालिका–४ का २२ वर्षीय अभय तिवारी, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) रामग्राम नगरपालिका–१६ का २२ वर्षीय जयकुमार केवट, रामग्राम नगरपालिका–१७ का २२ वर्षीय विद्यासागर केवट र पर्सा वीरगञ्ज महानगरपालिका–३ का २७ वर्षीय कुवेर थापा रहेका छन्।
साइबर ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीपकुमार गिरीका अनुसार पक्राउ परेकाहरूले आफू बैंकबाट बोलेको भन्दै विशेषगरी बहालवाला तथा सेवानिवृत्त कर्मचारीलाई लक्षित गरी फोन तथा ह्वाट्सएप कल गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।
उनीहरूले पीडितलाई विश्वासमा पार्न बैंकको कर्मचारी भएको दाबी गर्ने गरेका थिए। त्यसपछि बैंक खातासँग सम्बन्धित केवाइसी विवरण अद्यावधिक गर्नुपर्ने भन्दै विभिन्न बहाना बनाउने र प्रक्रिया पूरा गर्न मोबाइलमा केही काम गर्नुपर्ने भन्दै निर्देशन दिने गरेको प्रहरीको भनाइ छ।
ठगी गर्ने समूहले पीडितलाई मोबाइलको स्क्रिन सेयर गर्न लगाउने गरेको पाइएको छ। स्क्रिन सेयर गराएपछि मोबाइलमा आउने संवेदनशील सूचना हेर्ने, बैंकिङ कारोबारसँग सम्बन्धित विवरण प्राप्त गर्ने तथा आवश्यकताअनुसार ओटिपी (OTP) कोड माग्ने वा प्राप्त गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
ओटिपी तथा अन्य संवेदनशील विवरण प्राप्त गरेपछि उनीहरूले पीडितको बैंक खातामा अनधिकृत पहुँच पुर्याउने र खातामा रहेको रकम अन्य बैंक खातामा रकमान्तर गरी ठगी गर्ने गरेको साइबर ब्यूरोले जनाएको छ।
यस प्रकारको ठगीमा अपराधीहरूले बैंक तथा वित्तीय संस्थाको नाम र पहिचानको दुरुपयोग गर्दै पीडितलाई तत्काल निर्णय लिन बाध्य बनाउने गरेको देखिएको छ। विशेषगरी केवाइसी अपडेट नभए बैंक खाता बन्द हुने, कारोबार रोक्का हुने वा अन्य समस्या आउने भन्दै डर देखाएर संवेदनशील विवरण प्राप्त गर्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ।
साइबर ब्यूरोका अनुसार पक्राउ परेका चारै जनाविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत अनधिकृत पहुँच तथा विद्युतीय माध्यमसम्बन्धी ठगी कसुरमा अनुसन्धान भइरहेको छ।
पक्राउ परेका उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट आज पाँच दिनको म्याद थप अनुमति लिइएको छ। अदालतबाट म्याद थप भएपछि साइबर ब्यूरोले घटनासँग सम्बन्धित थप तथ्य तथा अन्य सम्भावित संलग्न व्यक्तिबारे अनुसन्धान अघि बढाइरहेको जनाएको छ।
प्रहरीले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको नाममा हुने फोन तथा अनलाइन ठगीका घटना बढ्दै गएकाले सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। बैंकका कर्मचारी भएको भन्दै फोन गर्ने व्यक्तिले केवाइसी अपडेट, खाता नवीकरण वा अन्य कुनै प्रक्रियाका नाममा ओटिपी, पासवर्ड, एटीएम/कार्डको पिन, मोबाइल बैंकिङको पासवर्ड वा अन्य संवेदनशील विवरण मागेमा त्यस्ता विवरण उपलब्ध नगराउन प्रहरीले अनुरोध गरेको छ।
त्यस्तै, अपरिचित व्यक्तिको आग्रहमा मोबाइलको स्क्रिन सेयर नगर्न, शंकास्पद लिंक नखोल्न तथा अनलाइन बैंकिङसम्बन्धी जानकारी कसैलाई पनि नदिन प्रहरीले सुझाव दिएको छ। बैंक वा वित्तीय संस्थाबाट आएको भनिएको फोन शंकास्पद लागेमा सम्बन्धित बैंकको आधिकारिक नम्बरमा आफैं सम्पर्क गरी जानकारी पुष्टि गर्न पनि प्रहरीले आग्रह गरेको छ।
साइबर अपराधीहरूले प्रविधिको प्रयोग गर्दै बैंक तथा वित्तीय संस्थाको नाममा विश्वास सिर्जना गरेर सर्वसाधारणलाई ठगी गर्ने नयाँ–नयाँ तरिका अपनाइरहेको अवस्थामा व्यक्तिगत तथा बैंकिङ विवरणको सुरक्षा आफैंले ध्यान दिनुपर्ने प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार कुनै व्यक्तिले फोन वा अनलाइन माध्यमबाट बैंकिङ विवरण मागेमा तत्काल विश्वास नगरी सम्बन्धित संस्थासँग आधिकारिक माध्यमबाट सम्पर्क गर्नुपर्छ। विशेषगरी ओटिपी कसैलाई पनि नदिनु र मोबाइलको स्क्रिन अपरिचित व्यक्तिसँग सेयर नगर्नु नै यस्तो प्रकारको ठगीबाट जोगिने महत्वपूर्ण उपाय हुन्।