एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्गलाई लिएर इरानसँग भइरहेको वार्तामा ओमानले अवरोध सिर्जना गरे अमेरिकाले ओमानमाथि व्यापक सैन्य आक्रमण गर्न सक्ने चेतावनी दिनुभएको छ।
फक्स न्यूजका पत्रकारसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले हर्मुज जलमार्गसम्बन्धी अमेरिकी प्रयासमा ओमानले बाधा पुर्याए त्यसको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिनुभएको हो। उहाँले ओमान र इरानबीच जलमार्गको नियन्त्रण तथा सञ्चालनसम्बन्धी वार्ता भइरहे पनि अमेरिकाले ओमानसँग छुट्टै संवाद अघि बढाइरहेको बताउनुभएको छ।
हर्मुज जलमार्गलाई लिएर अमेरिका र इरानबीच बढ्दो तनावका बीच ट्रम्पको पछिल्लो अभिव्यक्ति सार्वजनिक भएको हो। इरानको विदेश मन्त्रालयले सोमबार अमेरिका र इरानबीच संयुक्त घोषणापत्र तयार गर्ने विषयमा काम भइरहेको जनाएको थियो। त्यसपछि ट्रम्पले इरानलाई आत्मसमर्पण गर्न आग्रह गर्दै आफ्नो अडान दोहोर्याउनुभएको बीबीसीले जनाएको छ।
हर्मुजमाथि नियन्त्रणलाई लिएर विवाद
हर्मुज जलमार्ग विश्वकै महत्वपूर्ण सामुद्रिक व्यापारिक मार्गमध्ये एक हो। खाडी क्षेत्रबाट विश्व बजारतर्फ जाने ठूलो परिमाणको कच्चा तेल तथा पेट्रोलियम पदार्थ यही मार्ग हुँदै ओसारपसार हुने गर्छ। त्यसैले यस क्षेत्रमा उत्पन्न हुने कुनै पनि सैन्य वा राजनीतिक तनावले विश्वव्यापी ऊर्जा बजार तथा आपूर्ति प्रणालीमा प्रत्यक्ष असर पार्न सक्छ।
इरानले हर्मुज जलमार्गमाथिको आफ्नो प्रभावलाई अमेरिकाको नेतृत्वमा भइरहेको सैन्य दबाबको प्रतिरोधका रूपमा प्रयोग गरिरहेको छ। अमेरिकाले भने इरानमाथि सैन्य तथा कूटनीतिक दबाब बढाउँदै आएको छ।
राष्ट्रपति ट्रम्पले गत शुक्रबार हर्मुज जलमार्गलाई अमेरिकी क्षेत्र घोषणा गर्ने दाबी गर्नुभएको थियो। त्यसको जवाफमा इरानले हर्मुज जलमार्ग ‘इरानकै रहने’ दाबी गरेको थियो।
यसअघि हर्मुज जलमार्गलाई अन्तर्राष्ट्रिय जलमार्गका रूपमा प्रयोग गरिँदै आएको थियो। विश्वको ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण मानिने यो मार्गबाट तेल तथा ग्याससँगै विभिन्न प्रकारका अन्य वस्तुहरूको अन्तर्राष्ट्रिय ढुवानी हुने गरेको छ।
भौगोलिक रूपमा इरान र ओमानबीच
हर्मुज जलमार्गको भौगोलिक अवस्थिति पनि यसको रणनीतिक महत्वको प्रमुख कारण हो। जलमार्गको उत्तरी भागमा इरानको तट रहेको छ भने दक्षिणतर्फ ओमानको भूभाग रहेको छ।
इरान र ओमानबीच हर्मुज जलमार्गको नियन्त्रण तथा सञ्चालनका विषयमा वार्ता भइरहेको अवस्थामा अमेरिकाले पनि ओमानसँग छुट्टै वार्ता अघि बढाइरहेको ट्रम्पले बताउनुभएको छ।
अमेरिका र इरानबीचको तनाव थप चर्किँदै जाँदा हर्मुज जलमार्गलाई लिएर उत्पन्न विवादले क्षेत्रीय सुरक्षाका साथै विश्वव्यापी ऊर्जा बजारमा समेत असर पार्न सक्ने चिन्ता बढेको छ।
विशेषगरी हर्मुज जलमार्ग लामो समयसम्म अवरुद्ध भए विश्व बजारमा तेलको आपूर्ति घट्न सक्ने र त्यसले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढाउने जोखिम रहन्छ। त्यसैले जलमार्गको सुरक्षालाई लिएर अमेरिका, इरान, ओमानलगायत खाडी क्षेत्रका देशहरूको गतिविधिलाई अन्तर्राष्ट्रिय समुदायले नजिकबाट नियालिरहेको छ।
ट्रम्पको पछिल्लो चेतावनीसँगै अमेरिका, इरान र ओमानबीचको कूटनीतिक संवाद थप संवेदनशील बनेको छ। वार्तामार्फत विवाद समाधान गर्ने प्रयास सफल हुन्छ वा सैन्य तनाव अझ बढ्छ भन्ने विषय आगामी दिनमा महत्वपूर्ण रहनेछ।