काठमाडौं । रोल्पाको सुनछहरी गाउँपालिका–२ स्थित मङरारु गाउँमा बिहीबार राति खसेको पहिरोमा परी बेपत्ता भएका एक वृद्धको खोजी कार्य जारी रहेको छ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार अविरल वर्षापछि खसेको पहिरोमा परी मङरारुका ६४ वर्षीय लामी घर्ती बेपत्ता भएका हुन्।
पहिरोमा बेपत्ता घर्तीको खोजीका लागि सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ। लगातारको वर्षा र पहिरोको जोखिमका बीच खोजी कार्य अघि बढाइएको हो।
यसैबीच, सोही वडाको फलबाङमा खसेको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ। पहिरोले पुरिएका उनीहरूको शव बिहीबार नै घटनास्थलबाट निकालिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
लगातारको वर्षाका कारण रोल्पाका विभिन्न स्थानमा पहिरोको जोखिम बढेको छ। प्रहरीले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन तथा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।