Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सिरुबारी पहिरोः बेनी-जोमसोम सडकको मुख्य चुनौती


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, साउन २९ २०८३
  • 836
    SHARES

काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिका-२ सिरुबारीको पहिरो भारत र चीनलाई जोड्ने कालीगण्डकी कोरिडोरको बेनी-जोमसोम-कोरला सडकको मुख्य चुनौती बनेको छ । उत्तरी म्याग्दीका रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम चीन र भारतलाई जोड्ने सडक पनि हो ।

कालीगण्डकी नदीको तिरबाट भगवतीको माझखर्कसम्मको जमिन धाँजा फाटेर पहिरो जाने जोखिम बढेपछि बीचमा पर्ने सडकमा यातायात सञ्चालन गर्न जोखिम बन्दै गएको स्थानीय बताउछन् । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले सिरुबारी पहिरोले बर्खायाममा बेनी-जोमसोम सडकमा यातायात सञ्चालनमा समस्या हुँदै आएको बताए ।

“सामान्य वर्षा हुने बित्तिकै पहिरो खसेर सडक अवरुद्ध हुनुका साथै साँघुरो र हिलाम्मे हुँदा जोखिम मोलेर सवारीसाधन वारपार गराउनुपर्ने अवस्था छ”, उनले भने, “सवारीसाधन गुडिरहेको र यात्रु हिडिरहेको अवस्थामा माथिबाट ढुङ्गा खस्ने, चोटपटक लाग्ने, क्षति पुग्ने गरेकाले सावधानी अपनाएर यातायात सञ्चालन गर्नुपर्दा दुर्घटनाको जोखिम पनि उत्तिकै हुन्छ ।”

अध्यक्ष पुनले सिरुबारी पहिरो नियन्त्रण र यातायात व्यवस्थापनका लागि दुई वटा विकल्प अघि सारिएको बताए । सिरुबारीबाट अन्नपूर्ण गाउँपालिकातर्फ दुई वटा बेलिब्रिज जडान गरेर अस्थायी रूपमा यातायात सञ्चालन गर्न सकिने बताउँदै उनले दीर्घकालीन समाधानका लागि पहिरो नियन्त्रणको आयोजना सञ्चालन गर्नुपर्ने बताए ।
“सडकको तल कालीगण्डकी नदी छ भने करिब ८०० मिटरमाथि २०० मिटर चौडाइका पहिरो छन् । पाखो पहिरोमा परिणत भएको छ । माझखर्कको बस्तीमा पनि जोखिम बढाएको छ । कोरला नाका हुँदै आवतजावत गर्ने मालबाहक कन्टेनरले पनि यही सडक प्रयोग गर्छन्”, अध्यक्ष पुनले भने ।

मुस्ताङ जानेआउने यात्रुबाहक बस र अन्य सवारीसाधनको सिरुबारी पहिरो क्षेत्रमा जाम हुँदा आवागमनमा थप सास्ती हुने गरेको उनको भनाइ छ । गाडी फस्ने र साँघुरो भएकाले जाम हुने समस्या छ । साँघुरो भएकाले पहिरो क्षेत्रमा दुईतर्फी यातायातका साधन सञ्चालन गर्न सकिँदैन । उनका अनुसार वर्खायाम सुरु भएयता यस वर्ष बेनी-जोमसोम सडकअन्तर्गत सबैभन्दा बढी सिरुबारीमा अवरुद्ध भएको छ ।

बेनी-जोमसोम-कोरला सडक आयोजना कार्यालयका प्रमुख तेजस्वी शर्माले पहिरो नजिकै डोजर र लोडर तयारी अवस्थामा राखेको जानकारी दिए । पछिल्ला तीन वर्षका वर्खायामभरि पहिरो पन्छाउँदै यातायात सञ्चालन गर्दै आइएको जनाउँदै उनले दुई हप्ताअघि सिरुबारीमा खसेको पहिरोले सडक विभागको एउटा डोजरमा क्षति पुगेको बताए ।

आयोजना कार्यालयले गत हिउँदा सिरुबारी पहिरोको अस्थायी रोकथामका लागि ‘बेन्चिङ’ (भीररसडक निर्माण गर्दा पहिरो नजाओस् र डिल नभासियोस् भनेर माटोलाई सिँढी आकारमा काट्ने) विधि अपनाएको थियो । यसपालि ‘बेन्चिङ’ गरेकोभन्दा फरक ठाउँ खोल्सा क्षेत्रमा पहिरो गएको छ । असार अन्तिम साता मुस्ताङबाट फर्कने क्रममा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सिरुबारी पहिरो अवलोकन गर्दै चालु आर्थिक वर्षभित्र रोकथामको काम सुरु गर्न बजेटको व्यवस्थापन गरिने प्रतिबद्धता जनाएका थिए ।

यही साउन २ गते गृह जिल्ला आएका विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले पनि अन्तरदेशीय व्यापारिक मार्गमा पर्ने सिरुबारी पहिरोको दीर्घकालीन समाधानका लागि सरकारले काम अघि बढाइसकेको बताए ।

आयोजना प्रमुख शर्माले भूगर्वविद्हरूको टोलीबाट पहिरोको अनुसन्धान गरी रोकथामको आयोजना सञ्चालन गरिने बताए । गलेश्वर, चमेरे, महभिर, भीरकाटे, बैसरी, गुइठेभिर, लामभिक्ता, लाटाखोला क्षेत्रमा पहिरो रोकथाम तथा रुप्से क्षेत्रको पहिरो प्रभावित क्षेत्रमा सडक ढलान गर्ने गत आर्थिक वर्षमा सम्झौता भएका आयोजनाको निर्माण बर्खायाममा पनि निरन्तरता दिइएको बेनी-जोमसोम-कोरला सडक आयोजनाका सूचना अधिकारी जेमकुमार बैठाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४