Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

स्थानीय तहको सहभागितामा मुस्ताङमा जलवायु सम्मेलन हुँदै


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, साउन २९ २०८३
  • 817
    SHARES

काठमाडौं । आगामी भदौमा आयोजना हुने जलवायु सम्मेलनका लागि मुस्ताङको घरपझोङ गाउँपालिकाले देशभरका ७५३ वटै स्थानीय तहलाई पत्राचार गरेको छ । सम्मेलन भदौ ३० र ३१ गते मुस्ताङको सदरमुकाम जोमसोममा आयोजना हुने गाउँपालिकाले जनाएको छ ।

जलवायु परिवर्तनका कारण उत्पन्न समस्या, चुनौती तथा जलवायु अनुकूलनका विषयमा साझा धारणा बनाउन सम्मेलन आयोजना गर्न लागिएको हो । राष्ट्रिय तथा अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने उद्देश्यले गाउँपालिकाले पहिलोपटक ऐतिहासिक रूपमा जलवायु परिवर्तनसम्बन्धी सम्मेलन आयोजना गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिए ।

सङ्घीय मामिला मन्त्रालयको समन्वयमा सबै स्थानीय तहलाई सम्मेलनमा सहभागी हुन पत्राचार गरिएको उनले बताए । सम्मेलनमा हिमाल, पहाड र तराईमा जलवायु परिवर्तनले पारेको असरबारे छलफल गरिनेछ ।

साथै जलवायु परिवर्तनको असर न्यूनीकरण र सामना गर्न सामूहिक प्रतिबद्धता जनाउँदै घरपझोङ घोषणापत्र २०८३ जारी गरिनेछ । सम्मेलनका लागि छ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४५९ गाउँपालिकालाई एकैसाथ लिखित पत्राचार गरिएको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले जानकारी दिए ।

सम्मेलनमा जलवायु परिवर्तनका कारण स्थानीय तहमा देखिएका समस्या, विपद् तथा प्रभाव पहिचान गर्दै त्यसको न्यूनीकरणका उपाय र रणनीतिबारे छलफल हुनेछ । कालीगण्डकी नदी किनार, मुक्तिनाथ क्षेत्र र नीलगिरि हिमालको काखमा बसेर बृहत् छलफल गरी हिमाली जिल्लाका तर्फबाट जलवायु घोषणापत्र जारी गर्ने तयारी गरिएको छ ।

सम्मेलनबाट जारी हुने साझा घोषणापत्रमार्फत राष्ट्रिय तथा अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँदै जलवायु परिवर्तनका असरविरुद्ध स्थानीय तहको साझा आवाज बुलन्द गर्ने उद्देश्य रहेको गाउँपालिकाले जनाएको छ । सम्मेलनमा जलवायु परिवर्तनका असरसम्बन्धी फोटो प्रदर्शनीसमेत आयोजना गरिनेछ ।

त्यसका लागि सबै स्थानीय तहलाई भदौ १५ गतेभित्र जलवायु परिवर्तनका असर झल्कने तस्बिर पठाउन अनुरोध गरिएको छ । स्थानीय तहका धारणा तथा घोषणापत्रमा समेट्नुपर्ने विषयसमेत उल्लेख गरी सोही मितिभित्र मस्यौदा पठाउन आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले बताए ।

गाउँपालिकासँग भगिनी सम्बन्ध जोडिएका स्थानीय तह तथा मुस्ताङका अन्य स्थानीय तहको सहयोगमा सम्मेलनको तयारी भइरहेको छ । पछिल्लो समय जलवायु परिवर्तनका कारण हिमपहिरो, हिमताल फुट्ने, बाढीपहिरो र नदी कटानजस्ता प्राकृतिक विपद् बढिरहेका छन् ।

कृषि, पशुपालन, धर्मरसंस्कृति तथा जैविक विविधतामा समेत जलवायु परिवर्तनको ठूलो असर परेको छ । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा असमान हिमपात हुने, खानेपानीका मुहान सुक्दै जाने, चरन क्षेत्र घट्दै जाने तथा मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्ने समस्या देखिएको छ । यसले पशुपालन व्यवसायसमेत प्रभावित हुन थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४