झापा । जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट झापामा पछिल्लो चार महिनामा पाँच जनाको मृत्यु भएको छ । जिल्लामा हालसम्म नौ जनामा जापानिज इन्सेफ्लाइटिस सङ्क्रमण पुष्टि भएकामा पाँच जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
मृत्यु हुनेमा तीन पुरुष र दुई महिला रहेका छन् । पछिल्लो चार महिनाको अवधिमा जेई सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या बढेपछि जिल्लामा यस रोगप्रति स्वास्थ्यकर्मी तथा स्थानीय तहले थप सतर्कता अपनाउन आग्रह गरेका छन् ।
स्वास्थ्य कार्यालयका अनुसार झापाका विभिन्न स्थानीय तहमा जेई सङ्क्रमण देखिएको छ । सङ्क्रमितमध्ये मेचीनगरका तीन जना, बिर्तामोडका दुई जना तथा हल्दिबारी, बाह्रदशी, कचनकवल र अर्जुनधाराका एक–एक जना रहेका छन् ।
स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठका अनुसार सङ्क्रमितमध्ये अधिकांश ५० वर्षभन्दा माथिका रहेका छन् । उमेर बढी भएका व्यक्तिमा सङ्क्रमण देखिएकाले जोखिम समूहका व्यक्तिले लामखुट्टेको टोकाइबाट जोगिन विशेष सावधानी अपनाउनुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ ।
जापानिज इन्सेफ्लाइटिस क्युलेक्स जातको सङ्क्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भाइरसजन्य रोग हो । सङ्क्रमण भएपछि भाइरसले मुख्य रूपमा मस्तिष्कमा असर गर्ने भएकाले यो रोग गम्भीर र ज्यान जोखिममा पार्न सक्ने स्वास्थ्यकर्मीहरू बताउँछन् ।
जेई भाइरसको मुख्य स्रोतका रूपमा सुँगुर र हाँसलाई मानिन्छ । यी जनावरमा भाइरसको संक्रमण भएपछि संक्रमित लामखुट्टेले मानिसलाई टोक्दा मानिसमा समेत संक्रमण हुनसक्छ । विशेषगरी सुँगुर पालन हुने क्षेत्र, धानखेत तथा पानी जमिरहने स्थान आसपास बसोबास गर्ने मानिसहरू संक्रमणको उच्च जोखिममा रहने गर्छन् ।
स्वास्थ्य कार्यालय झापाका खोप अधिकृत राजकुमार पोखरेलले जेईबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिन सबैलाई आग्रह गरेका छन् । लामखुट्टेको टोकाइबाट बच्न झुलको प्रयोग गर्ने, शरीर ढाक्ने कपडा लगाउने तथा घरवरिपरि पानी जम्न नदिने जस्ता सावधानी अपनाउनुपर्ने उनको सुझाव छ ।
पोखरेलले सरकारले सञ्चालन गर्ने नियमित खोप कार्यक्रममा सहभागी भएर जेईविरुद्धको खोप लगाउन समेत आग्रह गरेका छन् । खोपले जापानिज इन्सेफ्लाइटिसबाट बच्न महत्वपूर्ण भूमिका खेल्ने भएकाले लक्षित समूहका बालबालिका तथा जोखिममा रहेका व्यक्तिले स्वास्थ्य संस्थामा सम्पर्क गरी आवश्यक खोप तथा स्वास्थ्य परामर्श लिनुपर्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।
झापामा पछिल्लो समय जेई सङ्क्रमण पुष्टि भएका र मृत्यु भएका घटनाले लामखुट्टेबाट सर्ने रोग नियन्त्रण तथा रोकथाममा थप ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ । स्वास्थ्यकर्मीहरूले ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी हुने, बेहोस हुने वा मानसिक अवस्था परिवर्तन हुनेजस्ता गम्भीर लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा पुग्न आग्रह गरेका छन् ।