काठमाडौं । जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रतिबन्धित रातो जङ्गली च्याउसहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीले सुर्खेतबाट नेपालगञ्जतर्फ जाँदै गरेको बसमा लुकाइछिपाई राखिएको अवस्थामा पाँच बोरा रातो जङ्गली च्याउ बरामद गरेको हो।
पक्राउ पर्नेमा जुम्लाको सिँजा गाउँपालिका–५ घर भई हाल सुर्खेतमा बस्दै आएकी चन्द्राकली बुढा रहेका छन्। उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार सुर्खेतको स्थानीय सुब्बाकुना चेकपोस्टमा नियमित जाँचका क्रममा नेपालगञ्जतर्फ जाँदै गरेको बस रोकी जाँच गर्ने क्रममा बसको डिक्कीमा लुकाइछिपाई राखिएको अवस्थामा पाँच बोरा रातो जङ्गली च्याउ फेला परेको थियो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराका अनुसार बरामद गरिएको रातो जङ्गली च्याउको कुल तौल ७४ केजी रहेको छ।
प्रहरीले च्याउ बरामद गरेसँगै बुढालाई नियन्त्रणमा लिएको हो। प्रतिबन्धित जङ्गली च्याउ कहाँबाट ल्याइएको हो, कहाँ लैजान लागिएको थियो तथा यसको कारोबारमा अन्य व्यक्तिको समेत संलग्नता छ वा छैन भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।
पक्राउ परेकी बुढामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। प्रहरीले प्रतिबन्धित वन्यजन्तु तथा वनस्पतिजन्य सामग्रीको अवैध ओसारपसार तथा कारोबार नियन्त्रणका लागि निगरानी बढाउँदै आएको जनाएको छ।