Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओखलढुंगाका कृषकलाई अर्गानिक बुङ आलु भित्र्याउने चटारो मेहनतको उचित मूल्यकाे खाेजीमा कृषक


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन २७ २०८३
  • 646
    SHARES

ओखलढुंगा । ओखलढुंगाको माथिल्लो भू–भागका किसानलाई यतिबेला परम्परागत बुङ प्रविधिबाट उत्पादन गरिएको अर्ग्यानिक आलु भित्र्याउन चटारो परेको छ। वर्षभरि मेहनत गरेर उत्पादन गरिएको बुङ आलुको उत्पादन यस वर्ष अघिल्लो वर्षको तुलनामा घटे पनि किसानले उचित मूल्य पाउने आशा गरेका छन्।

मंसिरदेखि नै बुङ आलु खेतीको तयारीमा जुट्ने किसानले झाडी फाँड्ने, झारपातको चपरी खन्ने, त्यसलाई सुकाउने र आगो लगाएर जैविक मल तयार गर्ने गर्छन्। त्यसपछि फागुनमा आलु रोप्ने र साउन–भदौमा खन्ने गरिन्छ। यसरी लामो समयसम्म निरन्तर मेहनत गरेर उत्पादन गरिएको आलु अहिले किसानले भित्र्याउन थालेका हुन्।

ओखलढुंगाको लेकाली क्षेत्रमा परम्परागत रूपमा बुङ प्रविधिबाट आलु खेती हुँदै आएको छ। बाँझिएका पाखामा झाडी फाँडेर तथा झारपातको चपरी खनेर सुकाएपछि पोलेर तयार गरिएको मललाई माटोसँग मिसाई पाखामा थुम्का–थुम्का बनाएर आलु रोपिन्छ। यही प्रविधिबाट उत्पादन हुने आलुलाई स्थानीय रूपमा ‘बुङ आलु’ भन्ने गरिन्छ।

विशेषगरी ठाडे–जन्तरखानी क्षेत्रका किसानलाई साउन लागेसँगै बुङ आलु खन्ने र भित्र्याउने चटारो बढेको छ। बुङ आलु उत्पादनका लागि मंसिरदेखि साउनसम्म निरन्तर मेहनत गर्नुपर्ने किसान बताउँछन्। खेतीको अवधिमा असिनापानी, दुम्सी, मृग तथा चराचुरुङ्गीले समेत बालीमा क्षति पुर्‍याउने गरेका छन्।

यस्ता प्राकृतिक तथा वन्यजन्तुजन्य क्षतिका कारण यस वर्ष अघिल्लो वर्षको तुलनामा आलुको उत्पादन घटेको किसानको भनाइ छ। उत्पादन घटे पनि बजारमा राम्रो मूल्य पाउने आशामा किसानहरू छन्।

हाल किसानले बुङ आलुको सुरुवाती मूल्य पाथीको करिब २५० रुपैयाँ र प्रतिकिलो १०० रुपैयाँसम्म पाउन थालेका छन्। ओखलढुंगामा उत्पादित बुङ आलु काठमाडौं उपत्यकासहित तराईका विभिन्न जिल्लामा समेत बिक्री तथा निर्यात हुने गरेको छ।

तर, वर्षभरि गरिएको मेहनत, कामदारको ज्याला र बढ्दो बजार मूल्यको तुलनामा आलुले पाउने मूल्य पर्याप्त नभएको स्थानीय किसान राजु मगरको गुनासो छ। गाउँमा कृषि मजदुरको अभावसँगै ज्यालादारी महँगो हुँदा उत्पादन लागतसमेत वर्षेनी बढ्दै गएको किसानहरू बताउँछन्।

बुङ आलुले अर्ग्यानिक उत्पादनका रूपमा औपचारिक पहिचानसमेत प्राप्त गरिसकेको छ। गत पुसमा सिद्धिचरण नगरपालिका र सहास नेपालको संयुक्त प्रयासमा अर्ग्यानिक सर्टिफिकेसन नेपालले बुङ आलुलाई ‘प्राङ्गारिक उत्पादन’ को प्रमाणपत्र दिएको थियो।

जन्तरखानीस्थित सेतीदेवी अगुवा आलु खेती कृषक समूहमा आबद्ध सात वटा समूहका २२१ जना किसानले ५९ दशमलव ९ हेक्टर क्षेत्रफलमा उत्पादन गरेको ६१ दशमलव ८ टन बुङ आलुको निरीक्षणपछि उक्त प्रमाणिकरण गरिएको थियो। अर्ग्यानिक प्रमाणपत्र पाएसँगै बुङ आलुले राष्ट्रिय बजारमा थप पहिचान बनाउने अवसर प्राप्त गरेको छ।

स्थानीय किसानहरूका अनुसार बुङ आलु उत्पादनमा परम्परागत ज्ञान, स्थानीय स्रोतसाधन र लामो समयको श्रम प्रयोग हुने भएकाले यसको उत्पादन लागत पनि सामान्य आलुको तुलनामा फरक छ। वैकल्पिक रोजगारी तथा पेशाको अभावमा स्थानीय किसानले विभिन्न कठिनाइका बाबजुद पुस्तौंदेखि चलिआएको यो खेतीलाई निरन्तरता दिँदै आएका छन्।

अर्ग्यानिक प्रमाणिकरण प्राप्त भएपछि बुङ आलुको बजार विस्तार हुने र किसानले राम्रो मूल्य पाउने अपेक्षा गरिएको छ। तर उत्पादनपछि उचित भण्डारणको व्यवस्था नहुँदा किसानलाई तत्कालै आलु बिक्री गर्नुपर्ने बाध्यता रहेको छ।

त्यसैले स्थानीय सरकार, कृषि क्षेत्रसँग सम्बन्धित निकाय तथा निजी क्षेत्रले बुङ आलुको बजारीकरण, भण्डारण, प्रशोधन र ब्रान्डिङमा विशेष ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ। उत्पादनलाई बजारसँग जोड्न सकेमा ओखलढुंगाका लेकाली किसानको वर्षभरिको मेहनतले उचित मूल्य पाउने र परम्परागत बुङ आलु खेतीलाई व्यावसायिक रूपमा अघि बढाउन सकिने अपेक्षा गरिएको छ।

स्थानीय किसानका लागि बुङ आलु केवल कृषि उत्पादन मात्र नभई पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको परम्परागत खेती प्रणाली र जीविकोपार्जनको आधारसमेत हो। यसको संरक्षणसँगै बजार सुनिश्चित गर्न सकेमा लेकाली क्षेत्रको कृषि र स्थानीय अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पुग्न सक्ने देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४