काठमाडौं । दुर्लभ खग्रास सूर्यग्रहण बुधबार लाग्ने भएको छ। तर यो सूर्यग्रहण नेपालसहित दक्षिण एसिया र एसियाका अधिकांश क्षेत्रबाट भने देखिने छैन।
ग्रहणको पूर्ण स्वरूप अर्थात् खग्रास अवस्था ग्रिनल्यान्ड, आइसल्यान्ड, उत्तरी रुस, स्पेन तथा पोर्चुगलका केही भू–भागबाट देखिने भएको छ। चन्द्रमाको पूर्ण छाया उत्तरी गोलार्धका उच्च अक्षांश हुँदै जाने भएकाले नेपाल त्यसको मार्गमा नपरेको हो।
यस ग्रहणका क्रममा चन्द्रमाले सूर्यलाई पूर्ण रूपमा ढाक्ने भएकाले पूर्ण ग्रहणको मार्गमा पर्ने स्थानमा केही समयका लागि दिउँसै अँध्यारोजस्तो अवस्था सिर्जना हुनेछ। तर अधिकांश स्थानमा खग्रास अवस्था दुई मिनेटभन्दा कम समय मात्र रहने जनाइएको छ।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार सन् १९९९ पछि मुख्य भूमि युरोपबाट देखिने यो पहिलो खग्रास सूर्यग्रहण हो। त्यसैले यसलाई खगोल विज्ञानमा विशेष महत्वका साथ हेरिएको छ।
उपलब्ध विवरणअनुसार पूर्ण ग्रहणको मार्गमा करिब डेढ करोड मानिस पर्ने अनुमान गरिएको छ। त्यस्तै, उत्तरी गोलार्धका विभिन्न स्थानबाट करिब ९८ करोड मानिसले सूर्यग्रहणको आंशिक अवस्था अवलोकन गर्न सक्नेछन्।
खग्रास सूर्यग्रहण त्यतिबेला हुन्छ, जब चन्द्रमा सूर्य र पृथ्वीको बीचमा आएर सूर्यको प्रकाशलाई पृथ्वीको निश्चित भू–भागमा पूर्ण रूपमा छेक्छ। यस्तो अवस्थामा चन्द्रमाको छाया पृथ्वीको सतहमा साँघुरो मार्गमा पर्छ, जसलाई पूर्ण ग्रहणको मार्ग भनिन्छ।
नेपाल उक्त पूर्ण छायाको मार्गभन्दा बाहिर रहेकाले बुधबारको यो दुर्लभ सूर्यग्रहण नेपालबाट प्रत्यक्ष रूपमा देखिने छैन। दक्षिण एसियाका अन्य धेरै क्षेत्रबाट पनि ग्रहण अवलोकन गर्न नसकिने जनाइएको छ।
खगोलविद्हरूले सूर्यग्रहण अवलोकन गर्दा विशेष सावधानी अपनाउन आग्रह गर्दै आएका छन्। सूर्यलाई नाङ्गो आँखाले प्रत्यक्ष हेर्दा आँखामा स्थायी क्षति पुग्न सक्ने भएकाले प्रमाणित सौर्य फिल्टर वा सुरक्षित ग्रहण चस्माको प्रयोग गर्नुपर्ने हुन्छ।