काठमाडौँ । तनहुँको देवघाट गाउँपालिकाबाट प्रमाणीकरण भई आएका १४ जना भूमिहीन दलित तथा सुकुमवासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
जिल्ला भूमि समस्या समाधान समिति तनहुँले लाभग्राहीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढाउँदै सोमबार उनीहरूको वास्तविक अवस्थाबारे स्थलगत निरीक्षण गरेको हो ।
समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको नेतृत्वमा गएको टोलीले देवघाट गाउँपालिका–१ मा रहेका १४ जना लाभग्राहीको घर तथा जग्गामा पुगेर उनीहरूको अवस्था र दाबीसम्बन्धी विवरणबारे जानकारी लिएको थियो ।
स्थलगत निरीक्षणका क्रममा लाभग्राहीको बसोबास, जग्गाको अवस्था तथा उनीहरूले गर्दै आएको उपयोगलगायत विषयमा जानकारी संकलन गरिएको समितिले जनाएको छ ।
निरीक्षण टोलीमा जिल्ला भूमि समस्या समाधान समितिका पदाधिकारीका साथै देवघाट गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूको सहभागिता रहेको थियो ।
भूमिहीन दलित तथा सुकुमवासीलाई जग्गा उपलब्ध गराउने कानुनी प्रक्रियाअनुसार गाउँपालिकाबाट सिफारिस भई आएका आवेदकको दाबी, विरोध तथा विवरण संशोधनका लागि समितिले यसअघि नै सातदिने सार्वजनिक सूचना जारी गरिसकेको थियो ।
सार्वजनिक सूचनाको प्रक्रिया पूरा भएपछि समितिले लाभग्राहीको अवस्थाबारे स्थलगत अध्ययन गरेको हो । स्थलगत अध्ययन सम्पन्न भएसँगै अब जग्गा उपलब्ध गराउने बाँकी प्रक्रिया अघि बढ्ने बताइएको छ ।
समितिका अध्यक्ष तिवारीले स्थलगत अध्ययनको काम सम्पन्न भएकाले लाभग्राहीले चाँडै जग्गा प्राप्त गर्ने जानकारी दिए ।
उनका अनुसार कानुनी प्रक्रिया पूरा गरी योग्य ठहरिएका लाभग्राहीलाई जग्गा उपलब्ध गराउने कामलाई प्राथमिकताका साथ अघि बढाइनेछ ।
देवघाट गाउँपालिकाबाट प्रमाणीकरण भई आएका १४ भूमिहीन दलित तथा सुकुमवासीले लामो समयदेखि जग्गा प्राप्तिको प्रतीक्षा गरिरहेका थिए । स्थलगत निरीक्षण सम्पन्न भएसँगै उनीहरूलाई जग्गा उपलब्ध गराउने प्रक्रिया निर्णायक चरणमा पुगेको हो ।