Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री बालेन र रवि लामिछानेबीच ४५ मिनेट भेटवार्ता


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, साउन २५ २०८३
  • 1.1K
    SHARES

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच आइतबार साँझ बालुवाटारमा करिब ४५ मिनेट भेटवार्ता भएको छ । सरकार र रास्वपाबीच पछिल्लो समय बढ्दै गएको संशय र तिक्तताबीच भएको भेटलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।

लामिछाने प्रधानमन्त्री शाहलाई भेट्न आइतबार साँझ बालुवाटार पुगेका थिए । भेटवार्ताका क्रममा सरकार सञ्चालन, राजनीतिक नियुक्ति, सरकारमा रहेका मन्त्रीहरूको भूमिका तथा प्रधानमन्त्री शाह र लामिछानेका प्रस्तावित विदेश भ्रमण लगायतका विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

पछिल्लो समय प्रधानमन्त्री शाहले आफू विभिन्न चुनौतीसँग एक्लै लड्नुपरेको आशयका अभिव्यक्ति सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएका थिए । त्यसप्रति रास्वपा सभापति लामिछाने असन्तुष्ट रहेको चर्चा चलिरहेका बेला दुई नेताबीच भेटवार्ता भएको हो । भेटमा पछिल्ला राजनीतिक घटनाक्रम र सरकार सञ्चालनका विषयमा समेत छलफल भएको स्रोतको दाबी छ ।

राजनीतिक नियुक्ति र मन्त्रीहरूको भूमिकामा छलफल

भेटवार्तामा सरकारले गर्न लागेका केही राजनीतिक नियुक्ति तथा सम्भावित निर्णयहरूका विषयमा पनि कुराकानी भएको बताइएको छ । विशेषगरी राजदूत छनोट, उच्च तहका नियुक्ति तथा सरकारमा रहेका मन्त्रीहरूको भूमिकाका विषयमा दुई नेताबीच छलफल भएको उच्च स्रोतले जनाएको छ ।

सरकार सञ्चालनमा प्रधानमन्त्री र सत्तारुढ दलबीच समन्वय तथा पछिल्लो समय देखिएका असमझदारीका विषयमा समेत दुई नेताबीच कुराकानी भएको बताइएको छ । यद्यपि, भेटमा भएका सबै विषयबारे दुवै पक्षले औपचारिक रूपमा विस्तृत जानकारी सार्वजनिक गरेका छैनन् ।

बालेनको भारत र रविको चीन भ्रमणबारे पनि कुराकानी

प्रधानमन्त्री शाहको प्रस्तावित भारत भ्रमण तथा रास्वपा सभापति लामिछानेको चीन भ्रमणका विषयमा समेत भेटमा छलफल भएको स्रोतले जनाएको छ ।

दुवै नेताका सम्भावित विदेश भ्रमणलाई नेपालका छिमेकी मुलुकसँगको सम्बन्ध तथा राजनीतिक गतिविधिसँग जोडेर हेरिएका बेला भएको भेटवार्तामा भ्रमणका तयारी र त्यससँग सम्बन्धित विषयले पनि स्थान पाएको बताइएको छ ।

‘सम्बन्धमा ठूलो दरार छैन’– बालुवाटार

प्रधानमन्त्री शाह र लामिछानेबीच सम्बन्धमा ठूलो दरार उत्पन्न भएको चर्चा भइरहेका बेला बालुवाटारले भने त्यसलाई अस्वीकार गरेको छ ।

बालुवाटार स्रोतका अनुसार दुई नेताबीचको भेटलाई नियमित राजनीतिक छलफलका रूपमा लिनुपर्ने दाबी गरिएको छ ।

‘दुई नेताबीच एकदमै दरार उत्पन्न भएजस्तो गरेर बुझिएको छ, त्यस्तो केही होइन । यसलाई नियमित छलफल मान्न सकिन्छ,’ बालुवाटार स्रोतले भनेको छ ।

यसले प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेबीच पछिल्लो समय देखिएको भनिएको असमझदारीलाई लिएर बाहिर आएका विभिन्न चर्चालाई बालुवाटारले सामान्य बनाउन खोजेको देखिन्छ ।

स्वर्णिम वाग्ले पनि बालुवाटार पुगेको दाबी

लामिछानेसँगै रास्वपाका उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पनि बालुवाटार पुगेको पार्टी स्रोतले दाबी गरेको छ । यद्यपि, सुरक्षा स्रोतले भने वाग्ले उक्त भेटमा सहभागी भएको पुष्टि नगरेको बताइएको छ ।

त्यस्तै, प्रधानमन्त्री शाहका मुख्य सल्लाहकार कुमार बेन पनि भेटमा सहभागी भएको चर्चा भए पनि बेनले आफू उक्त भेटमा सहभागी नभएको दाबी गरेका छन् ।

यसका कारण आइतबार साँझको भेटमा वास्तवमा को–को सहभागी थिए भन्ने विषयमा समेत फरक–फरक विवरण सार्वजनिक भएका छन् ।

प्रधानमन्त्री बनेपछि दोस्रोपटक बालुवाटार पुगे रवि

बालेन शाह प्रधानमन्त्री बनेपछि रवि लामिछाने दोस्रोपटक बालुवाटार पुगेका हुन् । प्रधानमन्त्री शाहले बालुवाटारमा अनौपचारिक जमघट तथा पारिवारिक भेटघाटबाहेक राजनीतिक भेटवार्ता कमै गर्ने गरेको बताइन्छ ।

यसअघि भएको भेटमा भने लामिछाने र शाहसँग कुमार बेनलगायत उच्च तहका केही नेता सहभागी रहेको उच्च सुरक्षा स्रोतले पुष्टि गरेको थियो ।

पछिल्लो भेट भने सरकार र रास्वपाबीच विभिन्न विषयमा मतभेद तथा असमझदारी रहेको चर्चा भइरहेका बेला भएकाले यसलाई थप अर्थपूर्ण रूपमा हेरिएको छ । यद्यपि, बालुवाटारले दुई नेताबीचको सम्बन्धमा ठूलो समस्या नरहेको र भेटलाई नियमित राजनीतिक छलफलका रूपमा लिनुपर्ने स्पष्ट पारेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४