काठमाडौं । श्रावण महिनाको चौथो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ । भगवान् शिवको पूजा–आराधना तथा दर्शनका लागि बिहानैदेखि भक्तजनहरू विभिन्न शिवालयमा पुगेका छन् ।
विशेषगरी काठमाडौंको पशुपतिनाथ मन्दिरमा दर्शन गर्ने भक्तजनको उल्लेख्य भीड देखिएको छ । श्रावणको सोमबारलाई भगवान् शिवको विशेष आराधना गर्ने दिनका रूपमा लिइने भएकाले अन्य दिनको तुलनामा सोमबार शिवालयहरूमा भक्तजनको चाप बढ्ने गरेको छ ।
पशुपति क्षेत्र विकास कोषका अनुसार दर्शनार्थीको सहजताका लागि सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरका चारैवटा ढोका खोलिएका छन् । मन्दिरमा भक्तजनलाई व्यवस्थित रूपमा प्रवेश गराउन चारवटा छुट्टाछुट्टै लामको व्यवस्था गरिएको छ ।
त्यस्तै, बोल बम यात्रामा सहभागी भक्तजनका लागि पनि विशेष व्यवस्था गरिएको कोषले जनाएको छ । बोल बम यात्री तथा अन्य दर्शनार्थीलाई सहज रूपमा मन्दिर प्रवेश र पूजा–आराधना गर्ने वातावरण मिलाउन आवश्यक व्यवस्थापन गरिएको छ ।
पशुपतिनाथबाहेक राजधानीका गोकर्णेश्वर महादेव मन्दिर, नागेश्वर, डोलेश्वर महादेव मन्दिर तथा वसन्तपुर दरबार क्षेत्रस्थित ‘सानो पशुपतिनाथ’का रूपमा परिचित मक्खन महादेव मन्दिरमा पनि बिहानैदेखि दर्शनार्थीको लाम लागेको छ ।
श्रावणको सोमबार व्रत बस्ने, शिवलिङ्गमा जल तथा दूध चढाउने र पूजा–आराधना गर्ने धार्मिक परम्परा रहेकाले देशभरका प्रमुख शिवालयहरूमा भक्तजनको चहलपहल बढेको हो ।
यसैबीच, ठूलो संख्यामा भक्तजन शिवालयमा पुग्ने भएकाले मन्दिर क्षेत्र आसपास सुरक्षा, यातायात व्यवस्थापन तथा दर्शनार्थीको आवतजावतलाई सहज बनाउन सम्बन्धित निकायले आवश्यक व्यवस्थापन गरेका छन् ।