धनकुटा । धनकुटा बजारमा केही दिनयता खाना पकाउने ग्यासको अभाव बढेपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले ग्यास डिलर तथा बिक्री केन्द्रको छड्के अनुगमन सुरु गरेका छन्।
बजारमा ग्यास सहज रूपमा उपलब्ध हुन छाडेपछि उपभोक्ताबाट गुनासो आउन थालेसँगै प्रशासन र प्रहरीले संयुक्त रूपमा डिलर तथा बिक्री केन्द्रको अनुगमन थालेका हुन्। अनुगमनका क्रममा ग्यासको मौज्दात, कम्पनीबाट आएको परिमाण तथा उपभोक्तालाई भइरहेको वितरण अवस्थाबारे जानकारी लिइएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी लेखनाथ न्यौपानेको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीसहितको टोलीले धनकुटा बजारमा रहेका विभिन्न ग्यास डिलर तथा बिक्री केन्द्रको अनुगमन गरेको हो।
अनुगमनका क्रममा अधिकांश डिलरमा ग्यासको मौज्दात कम रहेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले जानकारी दिए। डिलर सञ्चालकहरूले कम्पनीबाटै मागअनुसार पर्याप्त मात्रामा ग्यास नआएकाले मौज्दात कम भएको बताएका थिए।
उनका अनुसार बजारमा ग्यास अभाव हुने हल्ला फैलिएपछि उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिन्डर घरमा सञ्चित गर्न थालेका कारण पनि बजारमा थप अभाव देखिएको पाइएको छ। कतिपय उपभोक्ताले नियमित आवश्यकताभन्दा बढी सिलिन्डर खरिद गर्न खोज्दा उपलब्ध ग्यासमा चाप बढेको प्रशासनको निष्कर्ष छ।
ग्यासको कृत्रिम अभाव र अनावश्यक सञ्चितीकरण हुन नदिन प्रशासनले डिलर सञ्चालकलाई एक परिवारलाई एकपटकमा एउटा मात्रै ग्यास सिलिन्डर उपलब्ध गराउन निर्देशन दिएको छ। प्रशासनले उपभोक्तालाई समानुपातिक रूपमा ग्यास वितरण गर्नसमेत डिलरहरूलाई आग्रह गरेको छ।
त्यसैगरी डिलरमा पुनः ग्यास आएपछि तत्काल प्रशासनलाई जानकारी गराउन र कम्पनीबाट प्राप्त ग्यासको परिमाण तथा बिक्री वितरणको विवरण उपलब्ध गराउन निर्देशन दिइएको सहायक प्रजिअ न्यौपानेले बताए।
प्रशासनका अनुसार ग्यासको आपूर्ति नियमित नहुँदा उपभोक्ताले आधिकारिक डिलरबाट सहज रूपमा सिलिन्डर पाउन सकेका छैनन्। त्यसको फाइदा उठाउँदै कतिपय किराना तथा खुद्रा पसलबाट महँगो मूल्यमा ग्यास बिक्री भइरहेको गुनासोसमेत प्रशासनमा आएको छ।
उपभोक्ताबाट यस्तो गुनासो आएपछि प्रशासनले आधिकारिक डिलर तथा बिक्री केन्द्रबाट मात्रै खाना पकाउने ग्यास बिक्री गर्न निर्देशन दिएको छ। अनधिकृत रूपमा ग्यास बिक्री गर्ने तथा तोकिएको मूल्यभन्दा बढी रकम लिने गरेको पाइएमा आवश्यक कारबाही गरिने प्रशासनले जनाएको छ।
ग्यासको आपूर्ति, मौज्दात, मूल्य तथा वितरण अवस्थाबारे प्रशासनले नियमित अनुगमन गर्ने जनाएको छ। बजारमा ग्यासको अभाव सिर्जना गर्ने गरी कसैले कृत्रिम सञ्चितीकरण वा कालोबजारी गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने प्रशासनको चेतावनी छ।
यता ग्यास डिलर सञ्चालकहरूले भने आफूहरूले जानाजान ग्यासको अभाव सिर्जना नगरेको बताएका छन्। उनीहरूका अनुसार कम्पनीबाटै मागको तुलनामा कम परिमाणमा ग्यास आउने गरेका कारण उपभोक्ताको माग धान्न समस्या भएको हो।
कोसी ग्यास डिलर गुठीटारका सञ्चालक लेखबहादुर राईका अनुसार कम्पनीले पठाएको परिमाणअनुसार ग्यास ल्याएर बिक्री गरिरहेको भए पनि पछिल्लो समय पर्याप्त मात्रामा ग्यास नआउँदा समस्या भएको हो। केही डिलरले पर्याप्त ग्यास ल्याउन नसक्दा बजारमा अभाव देखिएको उनको भनाइ छ।
त्यस्तै रिजाल ग्यासका बिक्रेता अधिकारी ट्रेडर्स, देब्रेबासका सञ्चालक होमप्रसाद अधिकारीले पनि कम्पनीबाटै मागअनुसार ग्यास नआएका कारण समस्या भएको बताए। उनका अनुसार पछिल्लो समय कम परिमाणमा ग्यास आउने र उपभोक्ताको माग भने बढिरहँदा उपलब्ध ग्यासले सबै उपभोक्ताको माग पूरा गर्न कठिन भइरहेको छ।
डिलर सञ्चालकहरूका अनुसार नियमित रूपमा पर्याप्त परिमाणमा ग्यास उपलब्ध भएमा बजारमा देखिएको अभाव सहज हुने सम्भावना छ। तर, आपूर्ति कम भइरहेमा उपभोक्ताको मागअनुसार ग्यास वितरण गर्न थप कठिन हुने उनीहरूको भनाइ छ।
प्रशासनले भने कम्पनीबाट ग्यासको आपूर्ति कम भएको भए त्यसको वास्तविक अवस्था पहिचान गरी आवश्यक समन्वय गर्ने जनाएको छ। साथै, डिलरमा आएको ग्यास पारदर्शी र समानुपातिक रूपमा उपभोक्तासम्म पुग्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ।
धनकुटामा ग्यासको अभाव बढेपछि उपभोक्तामा उत्पन्न भएको चिन्ता कम गर्न प्रशासनले अनावश्यक रूपमा सिलिन्डर सञ्चित नगर्नसमेत आग्रह गरेको छ। घरायसी प्रयोजनका लागि आवश्यकताभन्दा बढी ग्यास भण्डारण नगरी आपूर्ति व्यवस्थालाई सहज बनाउन सहयोग गर्न प्रशासनले उपभोक्तालाई अनुरोध गरेको छ।
बजारमा ग्यासको वास्तविक आपूर्ति अवस्था, डिलरको मौज्दात र वितरण प्रणालीबारे स्थानीय प्रशासनले अनुगमनलाई निरन्तरता दिने जनाएको छ। प्रशासनको नियमित अनुगमन तथा कम्पनीबाट पर्याप्त आपूर्ति हुन सकेमा धनकुटा बजारमा देखिएको ग्यास अभाव क्रमशः सहज हुने अपेक्षा गरिएको छ।