Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कुटमेश्वरी पुल वर्षौँदेखि अलपत्र, दैनिक सास्ती खेप्दै स्थानीय र यात्रु


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन २४ २०८३
  • 798
    SHARES

महोत्तरी । हुलाकी सडकअन्तर्गत जनकपुर–भिठ्ठामोड जोड्ने सडकमा पर्ने महोत्तरी गाउँपालिका–१ पर्सास्थित निर्माणाधीन कुटमेश्वरी पुल लामो समयदेखि अलपत्र हुँदा स्थानीय बासिन्दा तथा यात्रु सास्तीपूर्ण र जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्।

जनकपुर–भिठ्ठामोड सडकखण्डको अधिकांश भाग निर्माण भइसके पनि बिगही खोलामाथि निर्माणाधीन पुल भने लामो समयदेखि अधुरै रहेको हो। पुल निर्माणमा भएको ढिलाइका कारण स्थानीयवासी, विद्यार्थी, किसान, व्यवसायी तथा दैनिक यात्रुले आवतजावतमा समस्या भोग्दै आएका छन्।

भारतसँगको व्यापारिक आवागमन, धार्मिक पर्यटन तथा स्थानीय नागरिकको सहज आवतजावतलाई ध्यानमा राखेर निर्माण गरिएको हुलाकी सडकको अधिकांश खण्ड सञ्चालनमा आइसकेको छ। तर, सडकसँग जोडिएको महत्वपूर्ण पुल निर्माण सम्पन्न हुन नसक्दा सडकको पूर्ण लाभ नागरिकले लिन सकेका छैनन्।

स्थानीयका अनुसार पुल निर्माण अधुरै रहेपछि आवागमनका लागि बालुवा र माटो प्रयोग गरेर बनाइएको वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने अवस्था छ। उक्त वैकल्पिक बाटो साँघुरो हुनुका साथै लामो समयदेखि प्रयोगमा आउँदा जीर्ण बन्दै गएको छ।

स्थानीय सुरेश साहका अनुसार वैकल्पिक बाटोमा सवारीसाधनको अत्यधिक चाप हुँदा दैनिकजसो घण्टौँसम्म जाम हुने गरेको छ। वर्षायाममा अवस्था झनै कठिन हुने गरेको उनको भनाइ छ।

“पुल नबन्दा सबैले यही साँघुरो बाटो प्रयोग गर्नुपरेको छ। सवारीसाधनको चाप बढ्दा घण्टौँसम्म जाम हुन्छ। वर्षा भएपछि डाइभर्सनसमेत बगाउने भएकाले आवतजावत झनै जोखिमपूर्ण हुन्छ,” साहले बताए।

पुल निर्माणको काम समयमै सम्पन्न हुन नसक्दा स्थानीयको दैनिकीमा प्रत्यक्ष असर परेको छ। किसानले कृषि उपज बजारसम्म लैजान समस्या भोगिरहेका छन् भने विद्यार्थी तथा विद्यालयका सवारीसाधनलाई समेत जोखिमपूर्ण बाटो प्रयोग गर्नुपर्ने अवस्था छ।

त्यसैगरी बिरामी बोकेका एम्बुलेन्स तथा अत्यावश्यक सेवाका सवारीसाधनसमेत प्रभावित हुने गरेको स्थानीयको भनाइ छ। कतिपय अवस्थामा वैकल्पिक बाटोबाट सहज रूपमा आवतजावत गर्न नसक्दा यात्रुले लामो दूरीको बाटो घुमेर गन्तव्यमा पुग्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन्।

स्थानीय सञ्जीकुमार मिश्रका अनुसार पुल निर्माण छिटो सम्पन्न गर्न पटकपटक सम्बन्धित निकाय तथा निर्माण कम्पनीको ध्यानाकर्षण गराए पनि निर्माण कार्यले अपेक्षित गति लिन सकेको छैन।

“सडकको धेरैजसो भाग बनिसकेको छ। पुल पनि छिट्टै बन्छ भन्ने आशा थियो। तर लामो समय बितिसक्दा पनि काम पूरा भएको छैन। यसले स्थानीयमा निराशा बढाएको छ,” मिश्रले बताए।

२० करोडको सम्झौता, काम भने करिब ५० प्रतिशत

कुटमेश्वरी पुल निर्माणका लागि वि.सं. २०७९ फागुनमा रामजानकी निर्माण सेवा, जनकपुरधामसँग करिब रु. २० करोडमा सम्झौता भएको थियो। सम्झौताअनुसार तोकिएको समयमा काम सम्पन्न हुन नसकेपछि पटकपटक म्याद थप हुँदै आएको छ।

हुलाकी राजमार्ग निर्देशनालय आयोजना कार्यालय जनकपुरधामका अनुसार पछिल्लो पटक २०८३ साउन ११ गतेसम्म निर्माण सम्पन्न गर्ने गरी म्याद थप गरिएको थियो। तर, उक्त समयसीमा सकिँदासमेत पुलको निर्माण कार्य पूर्ण हुन सकेको छैन।

आयोजना कार्यालयका अनुसार हालसम्म पुल निर्माणको करिब ५० प्रतिशत मात्रै काम सम्पन्न भएको छ।

आयोजना कार्यालय जनकपुरधामका प्रमुख कृष्णकुमार महतोले बजेट अभावका कारण निर्माण कार्यमा ढिलाइ भएको बताए। निर्माण व्यवसायीले काम गरिरहेको र बाँकी कामलाई तीव्रता दिन केही महिनाका लागि पुनः म्याद थप गर्ने तयारी भइरहेको उनको भनाइ छ।

उनका अनुसार निर्माण कार्यलाई गति दिई पुललाई सकेसम्म छिटो सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।

वर्षायाममा झनै जोखिम

पुल निर्माण नहुँदा वर्षायाममा स्थानीयको समस्या झनै गम्भीर बन्ने गरेको छ। बिगही खोलामा पानीको बहाव बढेपछि वैकल्पिक बाटोबाट आवतजावत गर्न कठिन हुने गरेको स्थानीय बताउँछन्।

खोलामा पानीको सतह बढ्दा सवारीसाधन सञ्चालनमा समस्या हुनुका साथै पैदल यात्रु र दुईपाङ्ग्रे सवारीसाधन दुर्घटनामा पर्ने जोखिमसमेत बढ्ने गरेको छ। वर्षाको समयमा डाइभर्सन बग्ने वा हिलाम्मे हुने गरेका कारण यात्रुले थप समस्या झेल्नुपरेको स्थानीयको भनाइ छ।

पुल निर्माण सम्पन्न भएपछि जनकपुर–भिठ्ठामोड सडकमार्गबाट हुने आवतजावत थप सहज हुने अपेक्षा गरिएको छ। यसबाट स्थानीय नागरिकसँगै भारतसँगको व्यापारिक गतिविधि, धार्मिक तथा पर्यटन आवागमन र कृषि उत्पादनको ढुवानीमा समेत सहजता आउने स्थानीयको विश्वास छ।

तर, महत्वपूर्ण सडकखण्डमा पर्ने पुल नै लामो समयसम्म अधुरो रहँदा हुलाकी सडक निर्माणको उद्देश्यसमेत प्रभावित भएको छ। स्थानीयले बजेट अभाव, निर्माण व्यवसायीको ढिलासुस्ती तथा आयोजना व्यवस्थापनका समस्यालाई तत्काल समाधान गरी पुल निर्माणलाई तीव्रता दिन सम्बन्धित निकायसँग माग गरेका छन्।

स्थानीयवासीको माग छ– वर्षायाममा थप जोखिम निम्तिनुअघि पुल निर्माणको काम तीव्र गतिमा अघि बढोस् र लामो समयदेखि भोग्दै आएको सास्तीबाट नागरिकले चाँडै मुक्ति पाऊन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४