Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आर्थिक आत्मनिर्भरता वृद्धिसँगै सम्बन्ध विच्छेदका मुद्दा पनि बढे


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन २४ २०८३
  • 1.1K
    SHARES

काठमाडौं । जिल्लामा आर्थिक आत्मनिर्भरता, सामाजिक चेतना र व्यक्तिगत स्वतन्त्रताप्रतिको बुझाइ विस्तार हुँदै जाँदा सम्बन्धविच्छेदका मुद्दा पनि बढ्दै गएको पाइएको छ। विशेषगरी महिलामा शिक्षा, रोजगारी तथा आर्थिक आत्मनिर्भरता बढेसँगै आफ्नो अधिकारका लागि कानुनी बाटो रोज्ने प्रवृत्ति बढेको तनहुँ जिल्ला अदालतले जनाएको छ।

तनहुँ जिल्ला अदालतका स्रेस्तेदार नन्दप्रसाद आचार्यका अनुसार पछिल्लो समय महिलाहरू आफ्नो अधिकारप्रति थप सचेत बन्दै गएका छन्। आर्थिक रूपमा आत्मनिर्भर भएका महिलाले वैवाहिक सम्बन्धमा समस्या उत्पन्न हुँदा त्यसलाई सहेर बस्नुभन्दा कानुनी उपचार खोज्ने क्रम बढेको उनको भनाइ छ।

उनले सामाजिक चेतनाको विस्तार, आर्थिक आत्मनिर्भरता र व्यक्तिगत स्वतन्त्रताप्रतिको बढ्दो बुझाइलाई सम्बन्धविच्छेदका मुद्दा बढ्नुका प्रमुख कारणका रूपमा औँल्याएका छन्। वैवाहिक सम्बन्धमा उत्पन्न हुने असमझदारी, पारिवारिक विवाद तथा व्यक्तिगत अधिकारका विषयमा बढ्दो कानुनी सचेतनाले पनि अदालतमा सम्बन्धविच्छेदका मुद्दा बढिरहेको देखिन्छ।

गत आर्थिक वर्षमा तनहुँ जिल्ला अदालतमा विभिन्न प्रकृतिका गरी २ हजार ४५६ मुद्दा दर्ता भएका थिए। तीमध्ये सम्बन्धविच्छेदका मात्रै ९५२ मुद्दा रहेका छन्। दर्ता भएका सम्बन्धविच्छेदका मुद्दामध्ये अदालतले ८१० मुद्दा निरुपण गरेको जनाएको छ। यसले जिल्लामा अदालतमा पुग्ने वैवाहिक विवादमध्ये सम्बन्धविच्छेदसम्बन्धी मुद्दाको हिस्सा उल्लेख्य रहेको देखाउँछ।

सम्बन्धविच्छेदसँगै सम्पत्ति तथा पारिवारिक अधिकारसँग सम्बन्धित मुद्दासमेत अदालतमा आउने गरेका छन्। आर्थिक वर्ष २०८२/८३ मा तनहुँ जिल्ला अदालतमा अंशका २८७ मुद्दा दर्ता भएका थिए। तीमध्ये १७९ मुद्दा किनारा लगाइएको अदालतले जनाएको छ।

अदालतमा दर्ता हुने मुद्दाको प्रकृति हेर्दा वैवाहिक सम्बन्धसँग जोडिएका विवादमा सम्बन्धविच्छेदसँगै अंश, सम्पत्ति तथा अन्य पारिवारिक अधिकारका विषयसमेत जोडिएर आउने गरेका छन्। यसले पारिवारिक विवाद केवल वैवाहिक सम्बन्ध कायम राख्ने वा तोड्ने विषयमा मात्र सीमित नभई सम्पत्ति र आर्थिक अधिकारसँग समेत जोडिएको देखाउँछ।

समाजमा महिलाको शिक्षा र रोजगारीमा पहुँच बढ्दै जाँदा उनीहरू आफ्नो निर्णय आफैँ लिन सक्ने अवस्थामा पुगिरहेका छन्। आर्थिक रूपमा अरूमाथि निर्भर हुनुपर्ने अवस्था कम हुँदै गएपछि हिंसा, दुर्व्यवहार, निरन्तर विवाद वा असन्तुष्ट वैवाहिक सम्बन्धबाट बाहिरिन कानुनी प्रक्रिया अपनाउने महिलाको संख्या बढेको देखिन्छ।

यद्यपि सम्बन्धविच्छेदका मुद्दा बढ्नुका पछाडि एउटै कारण मात्र नभई विभिन्न सामाजिक, पारिवारिक र आर्थिक पक्ष जिम्मेवार हुने जानकारहरूको भनाइ छ। वैवाहिक सम्बन्धमा बढ्दो असमझदारी, पारिवारिक हस्तक्षेप, वैदेशिक रोजगारीका कारण लामो समयसम्म पति–पत्नी अलग रहनुपर्ने अवस्था, आर्थिक विवाद तथा बदलिँदो सामाजिक मूल्य–मान्यताले पनि सम्बन्धमा असर पार्न सक्ने देखिन्छ।

अदालतमा आउने मुद्दाले समाजमा पारिवारिक सम्बन्धको स्वरूप परिवर्तन हुँदै गएको संकेतसमेत गरेको छ। पहिले पारिवारिक तथा सामाजिक दबाबका कारण वैवाहिक समस्या सहेर बस्ने प्रवृत्ति रहेकोमा पछिल्लो समय कानुनी अधिकारबारे जानकारी बढेकाले सम्बन्धमा गम्भीर समस्या आएमा अदालतको ढोका ढकढक्याउने क्रम बढेको देखिन्छ।

तनहुँ जिल्ला अदालतमा दर्ता भएका मुद्दाको तथ्यांकले जिल्लामा सम्बन्धविच्छेदसँग सम्बन्धित विवादलाई गम्भीर सामाजिक विषयका रूपमा हेर्नुपर्ने अवस्था देखाएको छ। कानुनी उपचारसँगै पारिवारिक विवाद न्यूनीकरण, वैवाहिक परामर्श तथा सामाजिक चेतनाको विस्तारमा समेत ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४