काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले सडकमा सिठी फुकेर मात्रै ट्राफिक व्यवस्थापन तथा सडक दुर्घटना न्यूनीकरण सम्भव नहुने बताउनुभएको छ ।
काठमाडौंमा आइतबार आयोजित ‘ट्राफिक व्यवस्थापनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासहरू’ विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्दै एसएसपी काफ्लेले सडक सुरक्षा र ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रविधिको प्रयोग, पूर्वाधार विकास र ट्राफिक शिक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।
उहाँले परम्परागत रूपमा ट्राफिक प्रहरीले सडकमा उभिएर सिठी फुक्ने र हातको इशाराबाट सवारी व्यवस्थापन गर्ने प्रणालीमा मात्र निर्भर भएर दुर्घटना न्यूनीकरण गर्न नसकिने बताउनुभयो । बदलिँदो यातायात प्रणाली र बढ्दो सवारी चापअनुसार प्रविधिमैत्री ‘फेसलेस ट्राफिक’ प्रणालीतर्फ अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।
प्रविधिसँगै पूर्वाधार र शिक्षा आवश्यक
एसएसपी काफ्लेले सडक अनुशासन उल्लंघनका कारण निर्दोष नागरिकले ज्यान गुमाउने अवस्था रोक्न प्रविधिको प्रयोगसँगै सडक पूर्वाधार विकास र ट्राफिक शिक्षालाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।
उहाँका अनुसार मादक पदार्थ तथा लागुऔषध सेवन गरी सवारी चलाउने र तीव्र गतिमा सवारी चलाउने प्रवृत्ति सडक दुर्घटनाका प्रमुख कारणमध्ये रहेका छन् । यस्ता जोखिमपूर्ण गतिविधि नियन्त्रण गर्न प्रभावकारी निगरानी र कानुन कार्यान्वयन आवश्यक रहेको उहाँले बताउनुभयो ।
सडक नियम पालना नगर्ने केही चालकका कारण नियम पालना गरिरहेका अन्य सडक प्रयोगकर्तासमेत जोखिममा पर्ने गरेको उहाँले उल्लेख गर्नुभयो । त्यसैले सडक सुरक्षालाई व्यक्तिगत जिम्मेवारीका रूपमा समेत विकास गर्न आवश्यक रहेको उहाँको भनाइ थियो ।
सडक सुरक्षाका ‘थ्री ई’ प्रभावकारी बनाउनुपर्ने
एसएसपी काफ्लेले ट्राफिक व्यवस्थापनमा सडक सुरक्षा क्षेत्रका ‘थ्री ई’ अर्थात् इन्जिनियरिङ, एजुकेसन र इन्फोर्समेन्ट तीनवटै पक्षलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
सडकको डिजाइन, सडक संरचना तथा पूर्वाधार सुधारसँगै ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन र नागरिकलाई आवश्यक शिक्षा दिन सके मात्रै दुर्घटना न्यूनीकरणमा उल्लेख्य उपलब्धि हासिल गर्न सकिने उहाँले बताउनुभयो ।
उहाँले ट्राफिक शिक्षा विद्यालय तहदेखि नै पाठ्यक्रममा समेट्नुपर्ने धारणा राख्नुभयो । नेपालमा हालसम्म ट्राफिक नियम तथा सडक सुरक्षासम्बन्धी शिक्षा विद्यालय तथा विश्वविद्यालयको नियमित पाठ्यक्रममा पर्याप्त रूपमा समावेश नभएको भन्दै उहाँले यस विषयमा सुधार आवश्यक रहेको बताउनुभयो ।
विद्यालयदेखि विश्वविद्यालयसम्म ट्राफिक शिक्षा
एसएसपी काफ्लेले ट्राफिक प्रहरीले पछिल्लो समय विद्यालय, कलेज तथा विश्वविद्यालयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।
उहाँका अनुसार सामाजिक सञ्जालमार्फत प्रत्येक साता करिब २० देखि ३० लाख मानिससम्म ट्राफिक सचेतनामूलक सामग्री पुर्याउने प्रयास भइरहेको छ । त्यसैगरी प्रत्यक्ष रूपमा मासिक तीनदेखि चार लाख मानिसलाई ट्राफिक सचेतना कार्यक्रमसँग जोड्ने प्रयास भइरहेको उहाँले बताउनुभयो ।
ट्राफिक नियम उल्लंघन गरेपछि सञ्चालन गरिने सचेतना कक्षाले समेत सकारात्मक परिणाम दिएको उहाँको दाबी थियो । त्यस्ता कक्षामा सहभागी अधिकांश व्यक्तिले ट्राफिक नियमसम्बन्धी शिक्षा चालक अनुमतिपत्र लिने समयमै प्राप्त गरेको भए अझ प्रभावकारी हुने धारणा उहाँले राख्नुभयो ।
चालक अनुमतिपत्र प्राप्त गर्नुअघि नै सडक अनुशासन, ट्राफिक संकेत, सुरक्षित सवारी सञ्चालन तथा दुर्घटना न्यूनीकरणसम्बन्धी पर्याप्त ज्ञान दिनुपर्ने उहाँको भनाइ थियो ।
जरिवाना असुल्नु ट्राफिक प्रहरीको पहिलो प्राथमिकता होइन
एसएसपी काफ्लेले ट्राफिक प्रहरीको पहिलो प्राथमिकता जरिवाना असुल गर्नु नभई सडक दुर्घटना न्यूनीकरण गर्नु रहेको स्पष्ट पार्नुभयो ।
उहाँले ट्राफिक नियम उल्लंघन गर्नेलाई कारबाही गर्दा नागरिकसँग रुखो वा अपमानजनक व्यवहार नगर्न ट्राफिक प्रहरीलाई निर्देशन दिनुभयो । कानुन कार्यान्वयन गराउने क्रममा नम्र भाषा प्रयोग गर्नुपर्ने, नागरिकलाई सम्मानपूर्वक व्यवहार गर्नुपर्ने र कारबाही प्रक्रिया पारदर्शी बनाउनुपर्ने उहाँको भनाइ थियो ।
ट्राफिक प्रहरीमाथि आउने आलोचनाको प्रमुख कारण कतिपय अवस्थामा उनीहरूले गर्ने कामभन्दा पनि काम गर्ने शैली र नागरिकसँगको व्यवहार हुने गरेको उहाँले बताउनुभयो ।
कानुन उल्लंघन गर्नेलाई कारबाही गर्नु प्रहरीको जिम्मेवारी भए पनि त्यस क्रममा नागरिकको सम्मान र मर्यादा कायम राख्नुपर्ने उहाँको भनाइ थियो ।
दैनिक औसत आठ जनाको सडक दुर्घटनामा मृत्यु
एसएसपी काफ्लेले नेपालमा सडक दुर्घटनाको अवस्थामा केही सुधार आए पनि वर्तमान अवस्था अझै सन्तोषजनक नरहेको बताउनुभयो ।
उहाँका अनुसार नेपालमा दैनिक औसत आठ जनाको सडक दुर्घटनामा मृत्यु हुने र करिब ७५ जना गम्भीर घाइते हुने अवस्था रहेको छ । सडक दुर्घटनाबाट हुने मानवीय क्षति न्यूनीकरण गर्न अझ प्रभावकारी योजना र कार्यान्वयन आवश्यक रहेको उहाँले बताउनुभयो ।
गत वर्षको तुलनामा सडक दुर्घटनामा करिब २० प्रतिशत कमी आएको भए पनि त्यसलाई पर्याप्त उपलब्धि मान्न नसकिने उहाँको भनाइ थियो ।
दुर्घटनाको संख्या केही घट्दैमा सन्तुष्ट हुने अवस्था नरहेको उल्लेख गर्दै उहाँले आगामी वर्ष दुर्घटना अझै घटाउने लक्ष्यका साथ ट्राफिक प्रहरीले काम गर्नुपर्ने बताउनुभयो ।
सडक दुर्घटना न्यूनीकरणका लागि प्रविधिको प्रयोग, सुरक्षित तथा वैज्ञानिक सडक पूर्वाधार, प्रभावकारी कानुन कार्यान्वयन र नागरिकमा ट्राफिक सचेतना अभिवृद्धिलाई एकसाथ अघि बढाउनुपर्ने एसएसपी काफ्लेको जोड थियो ।