काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किने मिति परिवर्तन भएको छ। नेताहरूको आग्रहपछि देउवा अब साउन २८ गते नेपाल फर्किने तय भएको स्रोतले जनाएको छ।
यसअघि देउवा साउन २६ गते राति ९ः४५ बजे काठमाडौं अवतरण गर्ने जानकारी दिइएको थियो। तर रातिको समयमा विमानस्थलमा स्वागत तथा भेटघाटका लागि असहज हुने भएपछि स्वदेश फर्किने समय परिवर्तन गरिएको बताइएको छ।
कांग्रेस नेता डा. प्रकाशशरण महतका अनुसार देउवा साउन २८ गते मध्यान्ह १२ः३० बजे थाई एयरको उडानमार्फत काठमाडौं आइपुग्ने छन्।
कांग्रेस संस्थापन इतर समूहका प्रचार–प्रसार संयोजक मीन विश्वकर्माले रातिको समयमा काठमाडौं अवतरण गर्दा नेता तथा कार्यकर्तालाई स्वागतका लागि उपस्थित हुन कठिन हुने भएकाले समय परिवर्तन गरिएको बताएका छन्।
देउवाको नेपाल फर्किने खबरसँगै कांग्रेसभित्र उहाँको स्वागतको तयारीसमेत सुरु भएको बताइएको छ। लामो समय विदेशमा उपचार तथा स्वास्थ्यलाभ गरिरहेका देउवा स्वदेश फर्किएपछि पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने तयारीमा रहेको बताइएको छ।
जेनजी आन्दोलनका क्रममा घाइते भएका थिए देउवा
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा देउवा घाइते भएका थिए। आन्दोलनका क्रममा भएको घटनापछि उपचारका लागि उहाँ विदेश जानुभएको थियो।
देउवा फागुन १३ गते राति सिंगापुर एयरलाइन्सको उडानमार्फत सिंगापुर जानुभएको थियो। सिंगापुरमा उपचार तथा स्वास्थ्य परीक्षण गराएपछि थप उपचारका लागि उहाँ २०८२ साल चैत ७ गते सिंगापुरबाट हङकङ पुग्नुभएको थियो।
त्यसयता देउवा हङकङमा रहँदै उपचार तथा स्वास्थ्यलाभ गराउँदै आउनुभएको थियो। अब उहाँ साउन २८ गते स्वदेश फर्किएपछि पार्टीको पछिल्लो राजनीतिक अवस्था तथा समसामयिक विषयमा नेताहरूसँग छलफल गर्ने अपेक्षा गरिएको छ।
कांग्रेसभित्र पछिल्लो समय पार्टीको संगठन, नेतृत्व र आगामी राजनीतिक रणनीतिबारे विभिन्न तहमा छलफल भइरहेको अवस्थामा देउवाको स्वदेश फिर्तीलाई राजनीतिक रूपमा समेत चासोका साथ हेरिएको छ।
देउवा लामो समय विदेशमा रहँदा कांग्रेसका विभिन्न नेता तथा कार्यकर्ताले उहाँको स्वास्थ्य अवस्थाबारे चासो व्यक्त गर्दै आएका थिए। स्वदेश फर्किएपछि उहाँको सक्रियता कस्तो रहन्छ भन्ने विषयले पनि पार्टीभित्र चासो बढाएको छ।
हाललाई देउवाको स्वदेश फिर्तीको समय साउन २८ गते मध्यान्ह १२ः३० बजे का लागि तय भएको कांग्रेस नेताहरूले बताएका छन्। थाई एयरको उडानबाट काठमाडौं अवतरण गरेपछि उहाँको स्वागत तथा भेटघाटको कार्यक्रमबारे थप विवरण सार्वजनिक हुने बताइएको छ।