काठमाडौं । नेपाली कांग्रेसकी राष्ट्रिय सभा सदस्य गीता देवकोटाले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रूपमा तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गर्नुभएको छ। उहाँले स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी नबन्दा सर्वसाधारण नागरिक उपचारबाट वञ्चित हुनुपरेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको हो।
राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै सांसद देवकोटाले तत्कालीन स्वास्थ्यमन्त्री गगनकुमार थापाको पहलमा सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम अहिले प्रभावहीन बन्दै गएको टिप्पणी गर्नुभयो। उहाँले कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउनुको सट्टा यसको पहलकर्ताको प्रशंसा हुने डरले नै कमजोर बनाउन खोजिएको हो कि भन्ने आशंका समेत व्यक्त गर्नुभयो।
उहाँले स्वास्थ्य बीमा कार्ड बोकेर अस्पताल पुगेका बिरामीले सेवा नपाउने, औषधि नपाउने तथा अस्पतालहरूले समेत सरकारले भुक्तानी नगरेकाले बिरामीसँग रकम माग्ने अवस्था सिर्जना भएको बताउनुभयो।
सांसद देवकोटाले सरकारलाई नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको स्वास्थ्य सेवामा संवेदनशील बन्न आग्रह गर्दै स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवहारमै प्रभावकारी बनाउन माग गर्नुभयो।
उहाँले भन्नुभयो, “स्वास्थ्य बीमाको नाम सुन्दा लाग्छ नागरिक सुरक्षित छन्। तर अस्पताल पुगेपछि थाहा हुन्छ— कार्ड छ, सेवा छैन। बीमा छ, औषधि छैन। आश्वासन छ, तर उपचार छैन। गगन थापाको पहलमा सुरु भएको स्वास्थ्य बीमा कार्यक्रमलाई अहिले स्वास्थ्य बीमाकै बीमा गर्नुपर्ने अवस्थामा पुर्याइएको छ। कतै यसको जन्मदाताको प्रशंसा हुने डरले कार्यक्रम नै खारेज गर्न खोजिएको त होइन?”
उहाँले बिरामीले ‘बीमा गरेर के पाइयो?’ भन्ने प्रश्न गर्ने र अस्पतालहरूले ‘भुक्तानी कहिले आउँछ?’ भनेर सरकारलाई सोध्नुपर्ने अवस्था आएको उल्लेख गर्दै सरकारी प्रतिवेदनमा भने सबै कुरा सामान्य देखाइने गरेको टिप्पणी गर्नुभयो।
सरकारलाई लक्षित गर्दै सांसद देवकोटाले भावुक शैलीमा भन्नुभयो, “भाषण होइन, उपचार देऊ। प्रचार होइन, औषधि देऊ। प्रतिवेदन होइन, परिणाम देऊ। लाचारी होइन, लोककल्याणकारी बनेर देखाऊ सरकार।”
उहाँले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न राष्ट्रिय सभाका अध्यक्षमार्फत सरकारलाई रुलिङ गर्नसमेत माग गर्नुभयो। स्वास्थ्य बीमा नागरिकको आधारभूत स्वास्थ्य अधिकारसँग प्रत्यक्ष जोडिएको विषय भएकाले यसको कार्यान्वयनमा ढिलाइ गर्न नहुने उहाँको भनाइ थियो।
सांसद देवकोटाले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनः प्रभावकारी बनाएर अस्पताललाई समयमै भुक्तानी गर्ने, बीमित नागरिकलाई सहज रूपमा उपचार र औषधि उपलब्ध गराउने तथा स्वास्थ्य सेवामा जनविश्वास कायम गर्ने दिशामा सरकारले तत्काल ठोस कदम चाल्नुपर्ने आवश्यकता औँल्याउनुभयो।