काठमाडौं । रोटरी डायग्नोस्टिक सेन्टर, वीरगञ्जद्वारा सञ्चालित रोटरी महावीर जयपुर फुट पुनर्स्थापना केन्द्रले आर्थिक अवस्था कमजोर भएका तीन जना अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क कृत्रिम हात तथा खुट्टा जडान गरी हस्तान्तरण गरेको छ। केन्द्रले मङ्गलबार आयोजित विशेष कार्यक्रममा कृत्रिम अङ्ग जडान गरेपछि उनीहरूलाई औपचारिक रूपमा हस्तान्तरण गरेको हो।
यस अवसरमा अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाका राधा पौडेल, थमन सिंह ताम्राकार र झबिन्द्र बहादुरलाई निःशुल्क कृत्रिम हात तथा खुट्टा उपलब्ध गराइएको हो। राधा पौडेलले दुर्घटनामा आफ्नो एउटा हात गुमाएका थिए भने थमन सिंह ताम्राकार र झबिन्द्र बहादुरले पनि दुर्घटनाकै कारण खुट्टा गुमाएका थिए।
कृत्रिम अङ्ग जडानपछि उनीहरूलाई दैनिक जीवनका सामान्य कामकाज गर्न सहज हुने, आत्मनिर्भर बन्न मद्दत पुग्ने तथा समाजमा सम्मानपूर्वक जीवनयापन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको केन्द्रले जनाएको छ।
केन्द्रले विशेषगरी आर्थिक रूपमा विपन्न, दुर्घटना, रोग वा अन्य कारणले हात–खुट्टा गुमाएका व्यक्तिहरूलाई लक्षित गरी निःशुल्क सेवा प्रदान गर्दै आएको छ। उपचारको पहुँचबाट टाढा रहेका नागरिकलाई कृत्रिम अङ्ग उपलब्ध गराएर उनीहरूको जीवनलाई सहज र सक्रिय बनाउने उद्देश्यका साथ यो परियोजना सञ्चालन भइरहेको हो।
रोटरी महावीर जयपुर फुट पुनर्स्थापना केन्द्रका अनुसार हालसम्म एक हजार १०० भन्दा बढी व्यक्तिले यस परियोजनामार्फत निःशुल्क कृत्रिम हात तथा खुट्टाको सेवा प्राप्त गरिसकेका छन्। परियोजनाले अपाङ्गता भएका व्यक्तिहरूको पुनर्स्थापना, आत्मविश्वास वृद्धि तथा सामाजिक पुनःएकीकरणमा उल्लेखनीय योगदान पुर्याउँदै आएको केन्द्रको दाबी छ।
कार्यक्रममा बोल्दै रोटरी क्लब अफ वीरगञ्जका नवनिर्वाचित अध्यक्ष राकेश मिश्रले केन्द्रले विगत पाँच वर्षदेखि निरन्तर रूपमा आर्थिक रूपमा विपन्न तथा दुर्घटना, रोग वा अन्य कारणले अङ्ग गुमाएका व्यक्तिहरूलाई निःशुल्क कृत्रिम अङ्ग उपलब्ध गराउँदै आएको बताए।
उनले कृत्रिम अङ्ग वितरण कार्यक्रमले शारीरिक रूपमा अशक्त भएका व्यक्तिहरूलाई पुनः आत्मनिर्भर बन्न, आफ्नै खुट्टामा उभिन र सम्मानपूर्वक जीवनयापन गर्न ठूलो सहयोग पुगेको उल्लेख गरे। आगामी दिनमा पनि सेवा विस्तार गर्दै अझ बढी आवश्यकतामा रहेका नागरिकसम्म निःशुल्क कृत्रिम अङ्गको पहुँच पुर्याउने लक्ष्यका साथ केन्द्रले आफ्नो अभियानलाई निरन्तरता दिने उनले बताए।