काठमाडौं । कुनै समय नेपालको पूर्वी तराईमा उत्पादन भएको जुट स्वदेशी उद्योगको मुख्य कच्चा पदार्थ मात्र नभई भारत र बङ्गलादेशसम्म निर्यात हुने गर्थ्यो। तर पछिल्ला वर्षहरूमा स्वदेशी उत्पादन निरन्तर घट्दै जाँदा अहिले नेपाली जुट उद्योगहरू सञ्चालन गर्न विदेशबाटै कच्चा जुट आयात गर्नुपर्ने अवस्था सिर्जना भएको छ।
मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ मा काँकडभिट्टा नाकाबाट मात्रै चार अर्ब ९१ करोड ६६ लाख ६२ हजार रुपैयाँ बराबरको कच्चा जुट आयात भएको छ। यो अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा उल्लेखनीय वृद्धि हो। उक्त वर्ष चार अर्ब ३४ करोड १२ लाख ६१ हजार रुपैयाँ बराबरको जुट आयात भएको थियो।
यसरी एक वर्षमै कच्चा जुटको आयात करिब ५७ करोड ५४ लाख रुपैयाँ अर्थात् १३.२५ प्रतिशत ले बढेको देखिएको छ। आयातमा आएको यो वृद्धि स्वदेशी उत्पादनको कमजोर अवस्थालाई स्पष्ट रूपमा देखाउने संकेतका रूपमा हेरिएको छ।
मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शिवराम न्यौपानेका अनुसार काँकडभिट्टा नाकाबाट मूल्यका आधारमा आयात हुने वस्तुमध्ये पेट्रोल र डिजेलपछि कच्चा जुट तेस्रो स्थानमा रहेको छ। पछिल्ला वर्षहरूमा पूर्वी नाकाबाट कच्चा जुटको आयात निरन्तर बढिरहेको तथ्याङ्कले देखाएको उनले बताए।
सरकारी अभिलेखअनुसार २०४३/४४ सालदेखि झापा, मोरङ र सुनसरी जिल्लामा व्यावसायिक रूपमा जुटखेती विस्तार हुन थालेको थियो। त्यसबेला उत्पादन भएको जुट स्वदेशी उद्योगको आवश्यकतासँगै भारत र बङ्गलादेशमा समेत निर्यात हुने गर्थ्यो। तर अहिले अवस्था पूर्ण रूपमा फेरिएको छ। स्वदेशी उत्पादन उद्योगहरूको माग धान्न नसक्ने अवस्थामा पुगेपछि त्यही भारत र बङ्गलादेशबाट ठूलो परिमाणमा कच्चा जुट आयात गर्नुपर्ने बाध्यता आएको हो।
कृषि क्षेत्रका अधिकारीहरूका अनुसार जुटखेती घट्नुको मुख्य कारण उत्पादन लागत अत्यधिक बढ्नु, उचित बजार मूल्य नपाइनु तथा किसानले अपेक्षित आम्दानी गर्न नसक्नु हो। खेतीमा लगानी बढ्दै गए पनि आम्दानी सन्तोषजनक नहुँदा धेरै किसानले जुटखेती छाडेर धान, मकै तथा अन्य नगदे बालीतर्फ आकर्षित हुन थालेका छन्।
कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार झापामा अहिले जुटखेती खुम्चिएर करिब पाँच हजार हेक्टर क्षेत्रफलमा मात्र सीमित भएको छ। उनका अनुसार केही वर्षयता उत्पादनमा निरन्तर गिरावट आएको छ।
“लागत बढी र आम्दानी कम भएकाले किसानले जुटखेती छाड्दै गएका छन्। यही कारण पछिल्ला वर्षहरूमा जुट उत्पादनमा उल्लेखनीय गिरावट आएको छ,” विष्टले बताए।
विशेषज्ञहरूका अनुसार यदि किसानलाई उत्पादन लागतअनुसार उचित मूल्य, आधुनिक खेती प्रविधि, गुणस्तरीय बीउ, सिँचाइ सुविधा तथा बजारको सुनिश्चितता उपलब्ध गराउन सकिएमा जुट उत्पादन पुनः वृद्धि गर्न सकिने सम्भावना छ। अन्यथा आयातमा निर्भरता अझ बढ्दै जाने र मुलुकबाट ठूलो परिमाणमा विदेशी मुद्रा बाहिरिने अवस्था कायम रहने उनीहरूको चेतावनी छ।