काठमाडौं । नेपाल आयल निगमले बजारमा फैलिएको हल्लाजस्तो नेपालमा एलपी ग्यासको वास्तविक अभाव नरहेको स्पष्ट पारेको छ। निगमका निमित्त कार्यकारी निर्देशक ई. दीपक बरालले ग्यासको आपूर्ति पर्याप्त रहेको तर वितरण प्रणालीमा देखिएका समस्याका कारण अभाव भएको जस्तो अवस्था देखिएको बताउनुभएको छ।
प्रतिनिधि सभाअन्तर्गत उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै बरालले नेपालमा प्रतिमहिना करिब ४७ हजार मेट्रिक टन एलपी ग्यासको माग हुने गरेको जानकारी दिनुभयो। उहाँका अनुसार हाल भारतबाट प्रतिमहिना करिब ५५ हजार मेट्रिक टन ग्यास आयात भइरहेको छ, जुन देशको सामान्य आवश्यकताभन्दा करिब ५ प्रतिशत बढी हो।
उहाँले पर्याप्त परिमाणमा ग्यास आयात भइरहेकाले वास्तविक अभाव नरहेको उल्लेख गर्दै बजारमा देखिएको समस्या वितरण व्यवस्थापनसँग सम्बन्धित रहेको बताउनुभयो।
बरालका अनुसार विगतमा बजारमा आधा भरिएका ग्यास सिलिण्डर समेत वितरण हुने गरेको थियो। अहिले भने पूर्ण रूपमा १४.२ केजी ग्यास भरिएका सिलिण्डर वितरण हुन थालेपछि उपभोक्ताको खरिद व्यवहारमा परिवर्तन आएको उहाँको भनाइ छ।
उहाँले पहिले ७.१ केजी ग्यास भएका सिलिण्डर प्रयोग गर्ने उपभोक्ताले खाली सिलिण्डर घरमै थन्क्याउने र अहिले पूर्ण ग्यास भएका सिलिण्डर उपलब्ध भएपछि आवश्यकताभन्दा बढी ग्यास भर्ने वा अतिरिक्त सिलिण्डर संकलन गर्ने प्रवृत्तिका कारण बजारमा कृत्रिम चाप सिर्जना भएको दाबी गर्नुभयो।
निगमले उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास खरिद नगर्न र अफवाहको पछि नलाग्न आग्रह गरेको छ। पर्याप्त मात्रामा ग्यास आयात भइरहेकाले आपूर्ति प्रणालीलाई थप व्यवस्थित बनाउने दिशामा काम भइरहेको पनि निगमले जनाएको छ।