काठमाडौं । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाई’को पाकिस्तानस्थित ब्रड पिक हिमालमा हिमपहिरोमा परी निधन भएपछि उनको जन्मस्थल म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सोमबार शोक बिदा दिने निर्णय गरेको छ।
गाउँपालिकाले आइतबार सार्वजनिक सूचना जारी गर्दै अत्यावश्यक सेवाबाहेक गाउँपालिकाअन्तर्गतका सबै कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था तथा सामुदायिक विद्यालयमा सोमबार शोक बिदा रहने जनाएको छ।
गाउँपालिकाले विश्व पर्वतारोहण क्षेत्रमा नेपालको नाम उच्च राख्न महत्वपूर्ण योगदान दिएका पर्वतारोही पुर्जाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ।
उनको सम्मानमा शोक बिदा दिने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अनुसार पुर्जाको निधनले म्याग्दी मात्र नभई समग्र नेपाल र विश्व पर्वतारोहण क्षेत्रमा अपूरणीय क्षति पुगेको छ।
पाकिस्तानको ब्रड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी पुर्जाको निधन भएको हो। उनको निधनको खबरसँगै नेपालका पर्वतारोहण क्षेत्रका व्यक्तित्व, शुभेच्छुक तथा स्थानीयवासीमा शोक छाएको छ।
गाउँपालिकाले दिवंगत पुर्जाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।