काठमाडौं । सिराहाको गोलबजार क्षेत्रमा साउन १४ गते भएको घटनामा ज्यान गुमाएका गणेश यादवका परिवार र नेपाल सरकारबीच ७ बुँदे सहमति भएको छ। सहमतिसँगै केही दिनदेखि तनावग्रस्त बनेको सिरहाको अवस्था सामान्य बन्दै गएको छ।
शुक्रबार औरही गाउँपालिका–२, मोतिपुरमा गृह मन्त्रालयको टोली र मृतकका परिवारबीच भएको वार्तापछि सहमतिपत्रमा हस्ताक्षर भएको हो। वार्तामा दुवै पक्षले घटनाको निष्पक्ष छानबिन, पीडित परिवारलाई राहत तथा न्याय सुनिश्चित गर्ने विषयमा सहमति जनाएका छन्।
सहमतिअनुसार सरकारले मृतक गणेश यादवलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने प्रतिबद्धता जनाएको छ। साथै, नेपाल सरकारका तर्फबाट मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराइनेछ।
त्यसैगरी, साउन १४ गते गोलबजार क्षेत्रमा भएको घटनाको निष्पक्ष, स्वतन्त्र र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने उल्लेख गरिएको छ।
सहमतिमा मृतक परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेश गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिसहरू कानुनबमोजिम कार्यान्वयन गर्ने तथा पीडित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने सरकारको प्रतिबद्धता पनि समेटिएको छ।
त्यस्तै, गणेश यादवको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा गाउँपालिकाको उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गर्ने र पार्कभित्र उनको शालिक स्थापना गर्ने विषयमा पनि सहमति भएको छ।
यसका अतिरिक्त, मृतकको सम्मानपूर्वक अन्त्येष्टि गर्ने, मृतकका श्रीमती र बहिनीलाई उपयुक्त रोजगारी उपलब्ध गराउन पहल गर्ने तथा बुवाको उपचारका लागि आवश्यक पहल गर्ने विषय पनि सहमतिपत्रमा समावेश गरिएको छ।
सरकार र पीडित परिवारबीच सहमति भएपछि केही दिनदेखि तनावग्रस्त बनेको सिराहाको अवस्था शान्त बन्दै गएको स्थानीय प्रशासनले जनाएको छ। सुरक्षा निकायले अवस्था सामान्य रहेको, बजार तथा यातायात सेवा क्रमशः सञ्चालनमा आउन थालेको र नागरिकलाई अफवाहमा नलागी सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको छ।
यस सहमतिले पीडित परिवारलाई राहत र न्यायको आशा दिलाउनुका साथै घटनाको सत्य तथ्य सार्वजनिक गरी दोषीलाई कानुनी दायरामा ल्याउने अपेक्षा समेत बढाएको छ।