काठमाडौं । धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न क्षेत्रमा जारी कर्फ्यु आदेश यथावत् रहेको जनाएको छ। प्रशासनले सुरक्षा अवस्था सामान्य नभएसम्म कर्फ्यु कायम रहने स्पष्ट गर्दै नागरिकलाई प्रशासनले तोकेको समय र नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ।
प्रशासनका अनुसार सर्वसाधारणलाई दैनिक उपभोगका अत्यावश्यक सामग्री खरिद गर्न सहज होस् भन्ने उद्देश्यले हरेक बिहान ५ः०० बजेदेखि १०ः०० बजेसम्म घरबाट बाहिर निस्कन अनुमति दिइएको छ। उक्त अवधिमा खाद्यान्न, तरकारी, दूध, औषधिलगायत आवश्यक सामग्री खरिद गर्न सकिनेछ।
यस अवधिबाहेक भने कर्फ्यु पूर्ण रूपमा लागू रहनेछ। कर्फ्यु उल्लङ्घन गर्ने व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ।
कर्फ्युका समयमा पनि जनजीवनसँग प्रत्यक्ष जोडिएका अत्यावश्यक सेवाहरू भने अवरुद्ध नहुने प्रशासनले जनाएको छ। अस्पताल, फार्मेसी, एम्बुलेन्स, दमकल, शववाहन, ग्यास आपूर्ति, पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री, पानी र दूध बोकेका सवारीसाधन तथा हवाई सेवासँग सम्बन्धित गतिविधिहरू नियमित रूपमा सञ्चालन हुनेछन्।
त्यस्तै स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सञ्चारकर्मी, नेपाल रेडक्रसका कर्मचारी, तीर्थयात्री, बिरामी तथा विमानस्थल आउजाउ गर्ने यात्रुले सम्बन्धित निकायबाट जारी गरिएको परिचयपत्र वा हवाई टिकटको आधारमा आवतजावत गर्न पाउने व्यवस्था गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले नागरिकलाई अफवाहको पछि नलाग्न, सामाजिक सद्भाव कायम राख्न तथा शान्ति–सुरक्षा व्यवस्थामा सहयोग पुर्याउन अपिल गरेको छ। सुरक्षा निकायले संवेदनशील क्षेत्रमा निगरानी बढाएको र शान्ति तथा सुव्यवस्था कायम राख्न आवश्यक सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ।
प्रशासनले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन तथा कुनै पनि शंकास्पद गतिविधि देखिएमा तत्काल सुरक्षा निकायलाई जानकारी गराउन सर्वसाधारणसँग अनुरोध गरेको छ।