काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देशमा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न सम्पूर्ण नेपालीमा अपिल गरेका छन्। पछिल्ला दिनमा विभिन्न क्षेत्रमा देखिएको तनावपूर्ण अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनले शान्ति, अमनचयन र आपसी मेलमिलापलाई सुदृढ बनाउन सबै पक्षले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन्।
बिहीबार जारी गरिएको अपिलमा राष्ट्रपति पौडेलले नेपाल सदियौँदेखि सामाजिक, धार्मिक, जातीय तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्वको भावनामा अघि बढ्दै आएको उल्लेख गरेका छन्। यही ऐतिहासिक परम्परा र राष्ट्रिय एकतालाई जोगाउनु अहिलेको प्रमुख आवश्यकता भएको उनको भनाइ छ।
राष्ट्रपति पौडेलले अपिलमा भनेका छन्, “सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप, भ्रातृत्व र राष्ट्रिय एकतालाई कायम राख्दै शान्ति, अमनचयन र सुव्यवस्था कायम गरी राष्ट्रिय एकतालाई मजबुत बनाउन म सबै राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई आग्रह गर्दछु।”
उनले हाल उत्पन्न विषम परिस्थितिलाई यथाशीघ्र सामान्य अवस्थामा फर्काउन सरकार गम्भीर रूपमा लाग्ने विश्वास व्यक्त गरेका छन्। नागरिकले सुरक्षित, शान्तिपूर्ण र भयमुक्त वातावरणमा जीवनयापन गर्न पाउने अवस्था सुनिश्चित गर्नु राज्यको प्रमुख दायित्व भएको उल्लेख गर्दै उनले शान्ति–सुरक्षा कायम गर्न आवश्यक सबै प्रयास गरिने अपेक्षा व्यक्त गरेका छन्।
राष्ट्रपतिले पछिल्ला घटनाको निष्पक्ष, विश्वसनीय र तथ्यपरक छानबिन गरी दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्न सरकारलाई आग्रह गरेका छन्। साथै, भविष्यमा यस्ता दुःखद र हिंसात्मक घटना दोहोरिन नदिन आवश्यक सतर्कता अपनाउन र सम्बन्धित सबै निकायले जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिएका छन्।
उनले कुनै पनि प्रकारका अफवाह, घृणा, हिंसा वा विभाजनकारी गतिविधिबाट टाढा रहन सबैलाई आग्रह गर्दै संवाद, सहिष्णुता, कानुनी शासन र लोकतान्त्रिक मूल्य–मान्यताको माध्यमबाट समस्या समाधान गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।
राष्ट्रपति पौडेलले राजनीतिक दल, नागरिक समाज, धार्मिक तथा सामाजिक अगुवा, सुरक्षा निकाय र आम नागरिक सबैले संयमता अपनाई सामाजिक सद्भाव, राष्ट्रिय एकता र स्थायी शान्तिको पक्षमा एकजुट भएर अघि बढ्नुपर्नेमा विशेष जोड दिएका छन्।
