काठमाडौं । पर्साको जगरनाथपुर गाउँपालिकाले हरियाली प्रवर्द्धन र वातावरण संरक्षणलाई प्राथमिकता दिँदै सार्वजनिक तथा ऐलानी पर्ती जग्गामा वृक्षरोपण अभियानलाई तीव्रता दिएको छ। ‘समृद्धिका लागि वन’ परियोजनाअन्तर्गत गाउँपालिकाले बुधबार वडा नं. ६ औराहास्थित आठ बिगाहा सार्वजनिक ऐलानी पर्ती जग्गामा विभिन्न प्रजातिका आठ हजार बिरुवा रोपेको हो।
गाउँपालिकाका वन शाखा प्रमुख पप्पु यादवका अनुसार उक्त क्षेत्रमा आँप, लिची, कटहर, जामुन, मेवा, मोहगनी, अम्बा, टिक तथा सिसौलगायतका फलफूल र बहुउपयोगी प्रजातिका बिरुवा रोपिएका छन्। रोपिएका बिरुवाको संरक्षण सुनिश्चित गर्न सम्पूर्ण क्षेत्रलाई तारबारसमेत गरिएको उनले जानकारी दिए।
जगरनाथपुर गाउँपालिकाले विगत केही वर्षदेखि ‘समृद्धिका लागि वन’ परियोजनामार्फत ऐलानी तथा सार्वजनिक जग्गालाई हराभरा बनाउने अभियान सञ्चालन गर्दै आएको छ। वन तथा वातावरण संरक्षणमा उत्कृष्ट योगदान पुर्याएबापत गाउँपालिकाले सङ्घीय सरकारबाट सम्मानसमेत प्राप्त गरिसकेको छ।
यसअघि गाउँपालिकाले वडा नं. ४ को सोहपुर–सोहरीस्थित छ बिगाहा क्षेत्र, वडा नं. १ को पिडारी गुठीस्थित सात बिगाहा तथा वडा नं. २ को दसौतास्थित १२ र १५ बिगाहा ऐलानी जग्गामा पनि वृक्षरोपण गरिसकेको थियो। ती क्षेत्रमा रोपिएका बिरुवाको संरक्षण तथा व्यवस्थापनको कामसमेत निरन्तर भइरहेको गाउँपालिकाले जनाएको छ।
गाउँपालिका अध्यक्ष श्रीकान्तप्रसाद यादवले वडा नं. २ को लक्ष्मीपुरस्थित २० बिगाहा ऐलानी जग्गामा आगामी एक साताभित्र थप वृक्षरोपण गरिने तयारी भइरहेको जानकारी दिए। उनका अनुसार सार्वजनिक तथा ऐलानी जग्गामा वृक्षरोपण गर्दा त्यस्ता जग्गाको संरक्षण हुनुका साथै हरियाली विस्तार, जैविक विविधताको संरक्षण, वातावरणीय सन्तुलन कायम गर्न र दीर्घकालीन रूपमा स्थानीय समृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
पर्साका एसपी सुदीपराज पाठकको सरुवा
यसैबीच, प्रहरी प्रधान कार्यालयले पर्साका प्रहरी प्रमुख (एसपी) सुदीपराज पाठकको सरुवा गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार पाठकलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा सरुवा गरिएको हो।
उनको स्थानमा पवनकुमार भट्टराईलाई जिल्ला प्रहरी कार्यालय पर्साको नयाँ प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ।
एसपी पाठकको सरुवा नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणपछि उत्पन्न परिस्थितिका बीच भएको हो। गत शनिबार वीरगञ्ज महानगरपालिका–२५ निवासी ४५ वर्षीय राजकुमार पटेलको उपचारका क्रममा निधन भएपछि उनका परिवारका सदस्य तथा आफन्तले उपचारमा लापरबाही भएको आरोप लगाउँदै आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर डा. प्रमोद राममाथि आक्रमण गरेका थिए।
आक्रमणबाट डा. राम गम्भीर घाइते भएका थिए। उनको हाल काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ। घटनापछि स्वास्थ्यकर्मीहरूले दोषीमाथि कडा कारबाहीको माग गर्दै आन्दोलन सुरु गरेका थिए भने एसपी पाठकको राजीनामासमेत मागेका थिए।
सोही घटनाको विरोधस्वरूप मङ्गलबार नारायणी अस्पतालका ७१ जना चिकित्सकले सामूहिक राजीनामा दिएका थिए। चिकित्सकमाथि भएको आक्रमणको देशभरका स्वास्थ्यकर्मी तथा चिकित्सक संगठनहरूले समेत विरोध जनाउँदै स्वास्थ्य संस्थामा कार्यरत जनशक्तिको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।
प्रहरीले घटनामा संलग्न व्यक्तिहरूमाथि अनुसन्धान जारी रहेको जनाएको छ भने सरकारले स्वास्थ्य संस्थाको सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।