काठमाडौं । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या उल्लेखनीय रूपमा वृद्धि भएको छ। राष्ट्रिय बाघ सर्वेक्षण २०८२ को नतिजाअनुसार निकुञ्जमा बाघको सङ्ख्या ४४ बाट बढेर ५० पुगेको छ। संरक्षण प्रयास, पर्याप्त आहारा र अनुकूल बासस्थानका कारण बाघको सङ्ख्यामा निरन्तर वृद्धि भएको सरोकारवाला निकायले बताएका छन्।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बुधबार बिहान सार्वजनिक गरेको सर्वेक्षण प्रतिवेदनअनुसार बाघ गणना २०८२ साल पुसदेखि २०८३ साल वैशाख १० गतेसम्म गरिएको थियो। आधुनिक प्रविधि, क्यामेरा ट्र्याप तथा वैज्ञानिक विधिको प्रयोग गरी शुक्लाफाँटा र आसपासका क्षेत्रलाई विभिन्न कम्प्लेक्समा विभाजन गरेर बाघको गणना गरिएको विभागले जनाएको छ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत विनय झाका अनुसार पछिल्ला आठ वर्षमा निकुञ्जमा बाघको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ। सन् २०१८ मा गरिएको गणनामा यहाँ केवल १६ वटा बाघ रहेकोमा अहिले उक्त सङ्ख्या बढेर ५० पुगेको छ। यसले संरक्षण अभियान प्रभावकारी बन्दै गएको पुष्टि गरेको उनको भनाइ छ।
निकुञ्ज प्रशासनका अनुसार बाघको वृद्धि हुनुमा पर्याप्त आहारा प्रजाति, सुरक्षित बासस्थान, चोरी–सिकार नियन्त्रण, वन व्यवस्थापन तथा स्थानीय समुदायको सहकार्य मुख्य कारण हुन्। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मुलुकमै कम क्षेत्रफलमा धेरै बाघको वासस्थान भएको क्षेत्रका रूपमा परिचित छ।
कुल ३०५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गा, चित्तल, बँदेललगायतका आहारा प्रजाति प्रशस्त मात्रामा पाइन्छन्। निकुञ्जका अनुसार यहाँ प्रति वर्ग किलोमिटर १४६.२ आहारा प्रजातिका जनावर रहेका छन्, जसले बाघको दीर्घकालीन संरक्षण र प्रजननका लागि अनुकूल वातावरण सिर्जना गरेको छ।
संरक्षणविद्हरूका अनुसार बाघको सङ्ख्या बढ्नु जैविक विविधता संरक्षणको महत्वपूर्ण उपलब्धि हो। यसले नेपालको वन्यजन्तु संरक्षण नीति प्रभावकारी रहेको सन्देश दिनुका साथै पर्यावरणीय सन्तुलन कायम राख्न पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
निकुञ्ज प्रशासनले आगामी दिनमा बाघसँग मानव द्वन्द्व न्यूनीकरण, बासस्थान संरक्षण, चोरी–सिकार नियन्त्रण तथा स्थानीय समुदायसँगको सहकार्यलाई अझ सुदृढ बनाउँदै बाघ संरक्षण अभियानलाई निरन्तरता दिने जनाएको छ।