काठमाडाैं । झापाको झापा गाउँपालिका–३ स्थित कल्लामारी क्षेत्रबाट प्रहरीले करिब ५० ग्राम खैरो हिरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। सीमा क्षेत्रबाट नेपालतर्फ लागुऔषध भित्र्याउने प्रयास भइरहेको सूचनाका आधारमा गरिएको विशेष निगरानीका क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत किशनगन्ज जिल्ला, धनतोला मोहमारी निवासी २२ वर्षीय एमडी फारुक रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीका अनुसार गए राति लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा र प्रहरी चौकी टाघनडुब्बाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३७ एबी ५८५९ नम्बरको मोटरसाइकललाई शंकाका आधारमा रोकी जाँच गरेको थियो।
जाँचका क्रममा मोटरसाइकलमा अत्यन्तै गोप्य रूपमा लुकाइछिपाइ ल्याउँदै गरिएको अवस्थामा करिब ५० ग्राम खैरो हिरोइन बरामद भएको प्रहरीले जनाएको छ। बरामद भएको लागुऔषधलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएर आवश्यक मुचुल्का तयार गरी थप कानुनी प्रक्रिया अघि बढाएको छ।
घटनापछि प्रहरीले एमडी फारुकलाई नियन्त्रणमा लिई बरामद भएको खैरो हिरोइन र प्रयोग गरिएको मोटरसाइकलसमेत कब्जामा लिएको छ। पक्राउ परेका फारुकमाथि लागूऔषध सम्बन्धी कसुरअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवालका अनुसार पक्राउ परेका व्यक्तिसँग सम्बन्धित नेटवर्क, लागुऔषधको स्रोत, गन्तव्य तथा यसमा संलग्न अन्य व्यक्तिहरूको पहिचानका लागि थप अनुसन्धान भइरहेको छ। आवश्यक अनुसन्धानपछि लागूऔषध नियन्त्रण ऐनअनुसार कानुनी कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।
नेपाल–भारत खुला सीमाको दुरुपयोग गर्दै लागुऔषध ओसारपसारका घटनाहरू बढ्न थालेपछि सीमा क्षेत्रमा सुरक्षा निगरानी थप कडा पारिएको प्रहरीले जनाएको छ। सीमावर्ती नाकाहरू तथा संवेदनशील क्षेत्रमा नियमित चेकजाँच, गस्ती र विशेष अपरेशन सञ्चालन गर्दै लागुऔषध कारोबार नियन्त्रणका लागि अभियानलाई तीव्र बनाइएको प्रहरीको भनाइ छ।
प्रहरीले लागूऔषध ओसारपसार तथा कारोबारविरुद्धको अभियानलाई अझ प्रभावकारी बनाउँदै यस्ता गैरकानुनी गतिविधिमा संलग्न जोसुकैलाई कानुनी दायरामा ल्याइने स्पष्ट गरेको छ।