काठमाडौँ । जिल्ला प्रहरी कार्यालय कास्कीले स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण गर्ने मोटरसाइकलविरुद्ध कारबाहीलाई तीव्र बनाएको छ। ‘अप्रेसन ३६५’ अन्तर्गत समाजमा ध्वनि प्रदूषण फैलाउने, सर्वसाधारणलाई त्रासित बनाउने तथा प्रहरीको जाँचका क्रममा अवरोध सिर्जना गर्ने मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर कानुनी कारबाही गर्न थालिएको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार गएराति पोखराका विभिन्न स्थानमा गरिएको विशेष अनुगमनका क्रममा १४ वटा स्वरूप परिवर्तन गरिएका मोटरसाइकल नियन्त्रणमा लिई कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको छ।
प्रहरीले यसअघि पनि यस्ता गतिविधिविरुद्ध निरन्तर अभियान सञ्चालन गर्दै आएको छ। कार्यालयका अनुसार साउन ७ गते ३३ वटा र साउन ६ गते १८ वटा मोटरसाइकललाई पनि ध्वनि प्रदूषण तथा स्वरूप परिवर्तन गरेको आरोपमा नियन्त्रणमा लिएर कारबाही गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त पहलमा सञ्चालन भइरहेको ‘अप्रेसन ३६५’ अन्तर्गत हालसम्म ७९८ वटा सवारीसाधन र ३६ जना चालकलाई विभिन्न कसुरमा कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए।
प्रहरीका अनुसार मोटरसाइकलका मूल पार्टपुर्जा परिवर्तन गर्ने, स्वीकृतिविना साइलेन्सर फेरेर चर्को तथा पड्किने आवाज निकाल्ने, रातको समयमा ध्वनि प्रदूषण गर्ने तथा समाजको शान्ति–सुरक्षामा असर पुग्ने गतिविधि बढ्दै गएपछि गत वर्षदेखि यो अभियान सञ्चालन गरिएको हो।
विशेषगरी साइलेन्सर परिवर्तन गरी अत्यधिक आवाज निकाल्ने, सिट, रङ, ह्याण्डल, लुकिङ ग्लास, नम्बर प्लेट, सक, इञ्जिन, चेसिसलगायतका भागमा अनधिकृत रूपमा परिवर्तन गर्ने प्रवृत्ति बढेपछि प्रहरीले निगरानी कडा बनाएको जनाएको छ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार सम्बन्धित निकायको स्वीकृतिविना सवारीसाधनको स्वरूप परिवर्तन गर्ने वा ध्वनि प्रदूषण हुने किसिमका पार्टपुर्जा जडान गर्ने व्यक्तिलाई रु १५ हजारसम्म जरिवाना गर्न सकिने कानुनी व्यवस्था रहेको प्रहरीले स्मरण गराएको छ।
प्रहरीले सर्वसाधारणलाई मोटरसाइकलमा अनावश्यक होहल्ला गर्ने, चर्को आवाज निकाल्ने तथा स्वरूप परिवर्तन गरिएका सवारीसाधन देखिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ। सूचना दिने व्यक्तिको पहिचान र गोपनीयता पूर्ण रूपमा सुरक्षित राखिने पनि जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
प्रहरीका अनुसार ध्वनि प्रदूषण नियन्त्रण, सडक अनुशासन कायम राख्ने र नागरिकलाई सुरक्षित तथा शान्त वातावरण उपलब्ध गराउने उद्देश्यले ‘अप्रेसन ३६५’ आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिनेछ।