काठमाडौं । बैतडी ट्राफिक प्रहरीले गत आर्थिक वर्षमा ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ५०८ जना सवारी चालकलाई कारबाही गर्दै रु १२ लाख ९८ हजार राजस्व सङ्कलन गरेको जनाएको छ। ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन र सडक अनुशासन कायम गर्ने उद्देश्यले गरिएको नियमित निगरानी तथा कारबाहीबाट उक्त राजस्व सङ्कलन भएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीका प्रवक्ता सुरज सिंहका अनुसार गत आर्थिक वर्षमा विभिन्न प्रकारका सवारीसाधनका चालकले ट्राफिक नियम उल्लङ्घन गरेपछि उनीहरूलाई कानुनबमोजिम कारबाही गरिएको हो।
कार्यालयका अनुसार कारबाहीमा पर्ने सवारीसाधनमध्ये १७० ट्रक तथा ट्याङ्कर, १९ बस तथा मिनिबस, ७५४ जिप, कार तथा भ्यान, ९१ ट्याक्टर, ३५१ मोटरसाइकल र १२३ टेम्पो रहेका छन्। सबैभन्दा बढी जिप, कार र भ्यान चालक कारबाहीमा परेका छन् भने त्यसपछि मोटरसाइकल चालकको संख्या रहेको छ।
प्रवक्ता सिंहले ट्राफिक नियमको पालना गराउने उद्देश्यले नियमित चेकजाँच, जनचेतनामूलक कार्यक्रम तथा सडक अनुगमनलाई निरन्तरता दिइएको बताए। उनले सवारी चालकलाई गति नियन्त्रण, मादक पदार्थ सेवन गरेर सवारी नचलाउन, सिटबेल्ट तथा हेल्मेट अनिवार्य प्रयोग गर्न र ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरे।
यसैबीच, गत आर्थिक वर्षमा बैतडी जिल्लामा ६२ वटा सवारी दुर्घटना भएको तथ्याङ्क पनि सार्वजनिक गरिएको छ। ती दुर्घटनामा ३४ जनाको मृत्यु भएको छ भने १७६ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार तीव्र गति, लापरबाहीपूर्वक सवारी चलाउने, सडकको अवस्था, ओभरटेक तथा ट्राफिक नियमको बेवास्ता दुर्घटनाका प्रमुख कारणका रूपमा देखिएका छन्। दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले निगरानीलाई अझ प्रभावकारी बनाउने, जनचेतना कार्यक्रम सञ्चालन गर्ने तथा नियम उल्लङ्घन गर्ने सवारी चालकविरुद्ध कडा कारबाहीलाई निरन्तरता दिने जनाएको छ।