जिरी, । माननीय भौतिक पूर्वाधारमन्त्री श्री सुनिल लम्साल भोलि साउन ९ गते दिउँसो ३:०० बजे दोलखाको जिरी आउने कार्यक्रम तय भएको छ।
मन्त्री लम्सालको भ्रमणका क्रममा जिरी क्षेत्रका सडक, पुल तथा अन्य भौतिक पूर्वाधारसँग सम्बन्धित समस्या, गुनासा र स्थानीय जनताका अपेक्षाबारे प्रत्यक्ष रूपमा छलफल गरिने जनाइएको छ। स्थानीय नागरिक, जनप्रतिनिधि, सरोकारवाला निकाय तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले आफ्ना समस्या र सुझाव मन्त्रीसमक्ष प्रत्यक्ष रूपमा राख्न सक्ने अवसर रहनेछ।
जिरी क्षेत्रको विकाससँग जोडिएका महत्वपूर्ण पूर्वाधार योजनालाई प्रभावकारी रूपमा अघि बढाउने तथा स्थानीय आवश्यकता बुझ्ने उद्देश्यले मन्त्रीको भ्रमण हुन लागेको बताइएको छ।
यस अवसरलाई उपयोग गर्दै सम्बन्धित सबै पक्षलाई सक्रिय सहभागिता जनाई आफ्नो क्षेत्रका समस्या, आवश्यकता र सुझाव राख्न आग्रह गरिएको छ। मन्त्रीको भ्रमणले जिरीको सडक तथा भौतिक पूर्वाधार विकासका विषयमा आवश्यक निर्णय र पहल अघि बढ्ने अपेक्षा स्थानीयवासीले गरेका छन्।