काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले लोकतन्त्रको मर्म र संविधानको भावना नबुझ्ने व्यक्तिहरू अहिले शासनसत्तामा रहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ। उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने अभिव्यक्ति र गतिविधिप्रति सचेत रहन सबैलाई आग्रह गर्नुभएको छ।
बुधबार काठमाडौंमा आयोजित ‘चक्रप्रसाद बास्तोला : बौद्धिकता र विद्रोह’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले लोकतान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धिमाथि प्रश्न उठाउने प्रवृत्ति बढ्दै गएको टिप्पणी गर्नुभयो।
उहाँले विशेषगरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीयता आवश्यक नरहेको आशयका अभिव्यक्ति दिने गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो। संघीयता खारेज गर्नुपर्ने वा यसको औचित्यमाथि प्रश्न उठाउने धारणा संविधानको मर्मविपरीत भएको उहाँको भनाइ थियो।
पूर्वराष्ट्रपति यादवले संघीयता कुनै राजनीतिक दलको एजेन्डा मात्र नभई लामो लोकतान्त्रिक आन्दोलन, जनआन्दोलन, मधेश आन्दोलन तथा विभिन्न समुदायको सहभागिताबाट स्थापित संवैधानिक व्यवस्था भएको उल्लेख गर्नुभयो। यस्तो व्यवस्थामाथि निरन्तर प्रश्न उठाउने प्रयासले देशलाई पुनः पछाडि धकेल्ने र राजनीतिक अस्थिरता निम्त्याउने खतरा रहेको उहाँले चेतावनी दिनुभयो।
उहाँले अन्तर्राष्ट्रिय संस्थामा काम गरेका, अर्थतन्त्र तथा सार्वजनिक नीतिमा विज्ञता हासिल गरेका व्यक्तिहरूबाट नै संघीयता विरोधी धारणा आउनु अझ दुःखद भएको बताउनुभयो। देशको आर्थिक–सामाजिक रूपान्तरण (प्याराडाइम सिफ्ट) गर्ने अपेक्षा गरिएका व्यक्तिहरूबाट संविधानले स्थापित गरेको संघीय व्यवस्थामाथि प्रश्न उठाइनु दुर्भाग्यपूर्ण रहेको उहाँको भनाइ थियो।
लोकतन्त्रको मर्म, संविधानको भावना र जनताको बलिदानबाट प्राप्त उपलब्धिको सम्मान गर्न सबै राजनीतिक शक्ति जिम्मेवार हुनुपर्नेमा जोड दिँदै उहाँले वर्तमान व्यवस्थालाई कमजोर बनाउने कुनै पनि अभिव्यक्ति वा गतिविधि अन्ततः मुलुककै हितविपरीत हुने बताउनुभयो।
पूर्वराष्ट्रपति यादवले लोकतान्त्रिक मूल्य–मान्यता, संविधानको कार्यान्वयन र संघीय व्यवस्थाको सुदृढीकरणमार्फत मात्रै मुलुकमा दिगो शान्ति, समावेशी विकास र राजनीतिक स्थायित्व सुनिश्चित गर्न सकिने धारणा समेत व्यक्त गर्नुभयो।