काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। सत्ता साझेदार दल नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएसँगै प्रदेश सरकार बहुमत गुमाएर अल्पमतमा पुगेको हो।
समर्थन फिर्तासँगै सरकारमा सहभागी एमालेका सबै मन्त्रीहरूले सामूहिक रूपमा पदबाट राजीनामा दिएका छन्। बुधबार उनीहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर आफ्नो राजीनामा बुझाएका हुन्।
राजीनामा दिने मन्त्रीहरूमा उद्योग, पर्यटन, श्रम तथा रोजगार मन्त्री बिन्दु श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा, कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरण मन्त्री मधुसुदन पौडेल, विनाविभागीय मन्त्री किरण थापा, विनाविभागीय मन्त्री भरतबहादुर केसी तथा विनाविभागीय मन्त्री जयराम थापा रहेका छन्।
एमालेले सरकारबाट बाहिरिने निर्णय गरेसँगै बागमती प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ। एमालेको समर्थन गुमेपछि मुख्यमन्त्री बानियाँ नेतृत्वको सरकारसँग प्रदेश सभामा बहुमत कायम नरहेको राजनीतिक विश्लेषण गरिएको छ।
प्रदेश सरकार अल्पमतमा परेपछि अब मुख्यमन्त्री बानियाँले संविधानअनुसार प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको छ। निर्धारित समयभित्र विश्वासको मत प्राप्त गर्न नसकेमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने संवैधानिक व्यवस्था रहेको छ।
एमालेले समर्थन फिर्ता लिनुको कारण भने औपचारिक रूपमा सार्वजनिक गरेको छैन। पछिल्लो समय केन्द्रको राजनीतिक समीकरणमा आएको परिवर्तनको प्रभाव प्रदेश सरकारहरूमा पनि देखिन थालेको छ। त्यसैअनुसार विभिन्न प्रदेशमा सत्ता साझेदारी फेरबदल हुने क्रम जारी रहेको राजनीतिक वृत्तमा चर्चा छ।
बागमती प्रदेशमा एमालेका मन्त्रीहरूको सामूहिक राजीनामासँगै प्रदेश सरकारको आगामी राजनीतिक यात्रा थप अनिश्चित बनेको छ। अब मुख्यमन्त्री बानियाँले विश्वासको मत लिने प्रयास गर्ने वा नयाँ राजनीतिक सहकार्यको पहल गर्ने भन्ने विषयले प्रदेशको राजनीति थप तातिने देखिएको छ।